Wednesday, May 1, 2024
Homebreaking-newsअस्थायी साधन प्रयोगदर घट्दो

अस्थायी साधन प्रयोगदर घट्दो

- Advertisement -spot_img
सरीता चौधरी
दाङ, २२ पुस । दाङमा परिवार नियोजनका स्थायी र अस्थायी साधनको प्रयोगदर न्यून रहेको छ । स्वास्थ्य कार्यालय दाङको तथ्याङ्क अनुसार परिवार नियोजनको साधन प्रयोग दर लक्ष्यअनुसारको प्रयोग नभएको पाइएको हो । पछिल्लो समयमा परिवार नियोजन साधनको प्रयोग दर बढ्नुपर्नेमा झनै घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा २३ दशमलव ४ प्रतिशत प्रयोग भएकोमा आर्थिक वर्ष २०७८/७९ मा घटेर २३ दशमलव १ प्रतिशतमा झरेको छ । यस्तै गत आर्थिक वर्ष २०७९/८० मा आएर परिवार नियोजनको साधन प्रयोगदर घटेर २२ दशमलव १ प्रतिशतमा पुगेको छ ।
स्वास्थ्य कार्यालय दाङका पब्लिक हेल्थ नर्स रिता न्यौपानेले चेतनाको अभाव, अज्ञानता तथा गरिवीका कारणले महिलाहरू धेरै परिवार नियोजनको साधन प्रयोग नगरेको पाइएको बताइन् । ‘परिवार नियोजनका साधन प्रयोग नगरेकै कारण धेरैले असुरक्षित रुपमा गर्भपतन गर्ने गरेका छन् ।’ उनले भनिन–‘ धेरैलाई परिवार नियोजनको बारेमा थाहा नै छैन ।’ कमैलार्ई परिवार नियोजन गर्नुपर्छ भन्ने थाहा भएपनि लाजको कारणले गर्दा कण्डम, पिल्स, तीन महिने सुई लिन मान्दैनन् ।
दाङमा सबैभन्दा धेरै इम्प्लान्ट प्रयोग गर्ने देखिएका छन् । पाँच वर्षे इम्प्लान्ट धेरैको रोजाइमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत स्टाफ नर्स सपना सुनारले बताईन । अहिले अस्पतालमा इम्पलान्ट नै सकिएको उनले बताईन । ‘करिब एक महिनादेखि  अस्पतालमा इम्प्लान्टको अभाव छ ।’ उनले भनिन–‘सेवा लिन आउनेहरु इम्प्लान्ट नभएर फर्किनु परेको छ ।’ सेवा लिन आएकालाई अरु अस्थायी साधन प्रयोग गर्न सुझाव दिदै आएको उनले बताईन् । उनका अनुसार धेरैको रोजाईमा इम्प्लान्ट रहेको छ । ‘हामीले स्वास्थ्य कार्यालयमा पनि जानकारी गराई सकेका छौं ।’ उनले भनिन–‘इम्प्लान्ट राप्ती प्रादेशिकमा मात्रै नभएर दाङमै अभाव रहेछ ।’
त्यसको लागि प्रदेशमा पनि जानकारी गराएको उनले बताईन् । केही महिनापछि आउने प्रतिक्रिया आएको उनले बताईन । राप्ती प्रादेशिक अस्पतालका अनुसार चालु वर्षको चार महिनामा अस्थायी साधन प्रयोग गर्नेको संख्या ७० रहेको छ । जसमा सबैभन्दा धेरै इम्प्लान्ट रहेको छ । इम्प्लान्ट प्रयोग गर्ने ३७, डिपो २५, पिल्स ७ र आईयुसीडी प्रयोग गर्ने एक जना रहेको अस्पतालका सूचना अधिकारी भूषण सुवेदिले जानकारी दिए । कार्यालय दाङका प्रशासन प्रमुख बामदेव शर्माले दाङमा इमप्लान्टको अभाव रहेको बताए । प्रदेश स्वास्थ्य मन्त्रालयले नै थोरै मात्रामा पठाएको हुँदा जिल्लामा माग अनुसारको सेवा दिन नसकेको उनले जानकारी दिए । दुई महिनासम्म स्वास्थ्य कार्यालयमा इमप्लान्ट मौजात शुन्य रहेको उनको भनाई  छ ।
स्थानीय पालिकाहरुबाट इमप्लान्टको माग आएपनि स्वास्थ्य कार्यालयमा स्टक नहुँदा उपलब्ध गराउन नसकेको प्रशासन प्रमुख शर्मा बताए । ‘पालिकाहरुबाट इमप्लान्टको माग भएपनि उपलब्ध गराउन सकिएको छैन् ।’ उनले भने–‘स्वास्थ्य कार्यालय दाङमा दुई महिनादेखि इमप्लान्टको अभाव छ ।’ प्रदेश स्वास्थ्य मन्त्रालयबाट माग गरेपछि पाँच दिन अघिमात्र २०० इमप्लान्ट पठाएको छ । प्राप्त  २०० वटा इमप्लान्ट दशवटै पालिकामा बाँडफाँड गरेर पठाउने योजनामा रहेको उनले बताए । शर्माले प्रदेश स्वास्थ्य मन्त्रालयमा पनि इमप्लान्टको अभाव रहेको जानकारी आएको उनले बताए । प्रदेशले संघीय सरकारबाट माग गरेको छ । केही समयपछि आउने जानकारी आएको उनको भनाई छ ।
धेरै जसो पुरुषहरु बाहिरी देश भएकोले परिवार नियोजनको साधनको प्रयोग घटेको  परिवार नियोजन संघ दाङका स्टाफ नर्स सरीता तामाङले बताईन । ‘परिवार नियोजनको विधि प्रयोग गर्ने संख्या कम भएको छ ।’ उनले भनिन्–‘परिवार नियोजको अस्थायी साधन प्रयोग गर्ने तथ्याङकमा संख्या धेरै भएता पनि निरन्तरता भने न्युन रहेको छ ।‘
कम हुनुको कारण आकस्मि गर्भ निरोधक औषधि प्रयोग गर्ने बढेको उनले बताईन । अर्को कारण भनेको श्रीमान श्रीमतिलाई संगै राखेर परिवार नियोजनको बारेमा जानकारी नै गराइदैन । यस्तै धेरै जसो कुरा श्रीमानकै निर्णय कुर्ने गरिन्छ । ‘आफ्नो निर्णय नभएर धेरै जसोले श्रीमान कै निर्णय लिने भएकोले पनि कम भएको हो ।’ उनले भनिन–‘परिवार नियोजनको बारेमा धेरै जसो श्रीमानलाई थाहा नै हुँदैन । तर पनि महिलाहरु श्रीमान कै निर्णयमा अडिक हुनुपर्ने समस्या देखिएको छ ।’
धेरैजसो दशै तिहारको समयमा गर्भपतन गर्नेको संख्या बढी देखिएको छ । दशै तिहारमा घरदेखि टाढा गएका श्रीमान घरमा  आउने भएकोले गर्भपतन गर्नेको संख्या बढेको तामाङले बताईन । अस्थायी परिवार नियोजनको साधन प्रयोग नगर्दा धेरैको अनिच्छिद गर्भ रहन्छ । ‘आफु स्वास्थय संस्थामा नगएर श्रीमानले ल्याइदिएको औषधि खाने गरेको व्यक्तिहरु धेरै आउने गरेका छन् ।’ उनले भनिन–‘स्वास्थ्य संस्थामा गएर सबै कुरा बुझेर खाएको स्वास्थ्य पनि सुरक्षित हुन्छ ।
तर त्यो नगरेर आफ्नो स्वास्थ्यमाथी खेलवाड गरेके पाइएको छ ।’ धेरै जसो कुरा श्रीमानकै भर पर्नाले महिलाको स्वास्थ्यमा समस्या देखिएको उनले बताईन् । यसले गर्दा असुरक्षित गर्भपतन गर्नेको संख्या बढेको छ । औषधि खाएर पनि गर्भ सफा नभएको व्यक्तिहरु धेरै आउने गरेको उनले बताईन । धेरै रक्तश्राव भएको, हेमोग्लोबिन ५, ३ भएको व्यक्तिहरु पनि धेरै आउने गरेको उनले बताई ।

परिवार नियोजनका फाइदा के छन् ?

गर्भलाई सुनियोजित गर्नु नै वास्तविक परिवार नियोजन हो । परिवार नियोजनका साधनका प्रयोगले सन्तानको संख्या कम हुने मात्र हुदैन । थोरै र जन्मान्तरले आमा र बच्चा स्वास्थ्य राम्रो हुन्छ । बच्चालाई राम्रो स्याहार गर्न सकिने, पोषणयुक्त खाना अनि स्वास्थ्य वातावरणले बिमारी कम हुने तथा स्वास्थ्यमा हुने खर्चमा कमि आउने  हुन्छ । त्यस्ता बच्चालाई राम्रो शिक्षादिक्षा दिन सकिने र त्यसैले राम्रो रोजगार पाउने जस्ता कुराहरुले आर्थिक, समाजिक, स्वास्थ्य, शिक्षा हरेक क्षेत्रको प्रगती र सन्तुलनमा परिवार नियोजनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा  मद्दत गरेको हुन्छ ।
राष्ट्रलाई पनि कम जनसंख्या भएको अवस्थामा स्वास्थ्य, शिक्षा, रोजगार जस्ता अत्ति आवश्यक सुबिधाको कुशल व्यवस्थापन गर्न सजिलो हुन्छ भन्ने कुरामा दुई मत छैन । त्यसैले राज्यले पनि यसलाई उच्च महत्व दिएको छ र सरकारी स्वास्थ्य संस्थाहरुमा परिवार नियोजनका सबै सेवाहरु निःशुल्क गरेको छ ।

कस्तो अवस्थामा आकस्मिक गर्भनिरोध विधि अपनाउने ?

१. महिलाले आफ्नो चाहना विना जबरजस्ती यौन सम्पर्क राख्न वाध्य भएमा, वा जबरजस्ती करणी भएमा
२. आइ.यु.सी.डी. वा कपर “टी” बाहिर निस्केमा गर्भ निरोधको साधन प्रयोग नगरी आकस्मिक यौन सम्पर्क हुन गएको तर महिला गर्भवती हुन नचाहेको अवस्थामा
३. महिलाले असुरक्षित यौन सम्पर्क भएपछि जति सक्यो चाँडो, १२० घण्टा भित्रै आकस्मिक गर्भनिरोधको विधि अपनाउनुपर्छ । असुरक्षित यौन सम्पर्क भएपछि जति चाँडो यसको प्रयोग गर्यो उती नै यसको प्रभावकारिता बढी हुन्छ ।
४. आकस्मिक गर्भनिरोध गर्न आवश्यक भएमा महिलाले तत्काल स्वास्थ्य कार्यकर्तासँग सल्लाह र परामर्श गरेर सेवा लिनुपर्छ ।
५. आकस्मिक गर्भनिरोध विधि सधैँ प्रयोग गर्ने विधि होइन, यो आकस्मिक उपाय मात्र हो ।
दाङमा आर्थिक वर्ष २०७७/७८ देखि चालु वर्षको मंसिरसम्म पिल्स पयोेग गर्ने २० हजार ७ सय ६६, डिपो प्रयोग गर्ने ३९ हजार २ सय ३९, ईम्पलान्ट प्रयोग गर्ने ६० हजार १, आइयुसिडि प्रयोग गर्ने २७ हजार २ सय १४ जना रहेको तथ्यांकले देखाएको छ । त्यसैगरी स्थायी रुपमा बन्धयाकरण सेवा लिनेमा पुरुषको तुलनामा महिलाहरु धेरैै रहेका छन् । २०७७/७८ देखि २०७९/८० सम्म दाङमा १ हजार ४ सय ४५ जना महिलाले स्थायी बन्ध्याकरण (मिनिल्याप) सेवा लिएका छन् भने २९० जना पुरुषले स्थायी रुपमा बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा लिएको न्योपानेले जानकारी दिईन् ।
कार्यालयका अनुसार दाङमा प्रजजन् उमेका महिलाहरुको संख्या आर्थिक वर्ष २०७७/७८ मा १ लाख ९८ हजार ३६१ रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा दुई लाख ४ हजार ५२ र गत आर्थिक वर्ष २०७९/८० मा दुई लाख ६ हजार २१७ जना रहेको  थियो । चालु वर्षको तथ्याङक स्वास्थ्य कार्यालयसम्म आइ नपुगेको न्यौपानेले बताईन । प्रजनन् उमेर समूहको महिला भनेर १५ वर्ष देखि ४९ वर्ष उमेर समूहका महिलाई लिईएको छ ।

परिवार नियोजन प्रयोगदरको संख्या

  •  पिल्स प्रयोग गर्ने, आर्थिक वर्ष २०७७/७८ मा ४८२३, आर्थिक वर्ष २०७८/७९ मा ५४५२, आर्थिक वर्ष २०७९/८० मा ५२९१, चालु आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म ५२०० रहेको छ ।
  •  डिपो प्रयोग गर्ने आर्थिक वर्ष २०७७/७८ मा ९७२१,आर्थिक वर्ष २०७८/७९ मा १०२३९,आर्थिक वर्ष २०७९/८० मा ९७७७,चालु आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म ९५०२ रहेको छ
  • इम्प्लान्ट प्रयोग गर्ने आर्थिक वर्ष २०७७/७८ मा १३८८८,आर्थिक वर्ष २०७८/७९ मा १५४७८,आर्थिक वर्ष २०७९/८० मा १४९८६,चालु आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म १५६४९
  • आईयुसिडि प्रयोग गर्ने आर्थिक वर्ष २०७७/७८ मा ९५८०,आर्थिक वर्ष २०७८/७९ मा ६३३१, आर्थिक वर्ष २०७९/८० मा ५६६८,चालु आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म ५६३५
परिवार नियोजन प्रयोग गर्नेको तथ्याङकहरु परिवार नियोजन सेवा, मेरीस्टोप, स्थानीय तह अन्तर्गतको प्राइभेट अस्पताल, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सहरी स्वास्थ्या संस्था केन्द्र सबै बाट आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङमा ४१ महिनाको अवधिमा विभिन्न स्वास्थ्य संस्थाबाट ३२ लाख बढी पिस कण्डम सेवा दिएको तथ्याङकले देखाएको छ । दाङका विभिन्न स्वास्थ्य संस्था मार्फत चालु वर्षको पाँच महिनामा मात्रै तिन लाख ९४ हजार २७ पिस कण्डम सेवा दिइएको तथ्याङकले देखिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा ९ लाख ९९ हजार ५ सय ८, अर्थिक वर्ष २०७८/७९ मा ९ लाख ९० हजार १ सय ३ र आर्थिक वर्ष २०७७/७८ मा ८ लाख २८ हजार १ सय २२ पिस कण्डम सेवा स्वास्थ्य संस्थाबाट दिइएको छ ।
दाङका १० वटा स्थानिय तहमा १ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरु रहेका छन् । दाङका एक सय वडामध्ये प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना भइसकेको छ । कुनै वडामा दुई भन्दा धेरै स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य निरिक्षक रिता न्यौपानेका अनुसार दाङका एक बढी स्वास्थ्य संस्थामार्फत परिवार नियोजनका साधन उपलब्ध हुदै आएको छ । तर परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको संख्या भने सोचे अनुसार पुग्न सकेको छैन । दाङका सबै स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा परिवार नियोजनका साधनहरु उपलब्ध भएपनि अझै ५० प्रतिशत भन्दा कमले परिवार नियोजका साधन प्रयोग गर्ने गरेको तथ्याङकले देखाएको छ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here