Sunday, December 15, 2024
Homeसमाजझिमरूकमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड

झिमरूकमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड

- Advertisement -spot_img

सरद विष्ट
प्यूठान, २८ पुस । झिमरूक गाउँपालिकाको आव ०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकास्तरीय सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूको सहभागितामा तीन दिने तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० सुरू भएको छ ।

प्रतियोगिता प्यूठानका प्रतिनिधि सभा सदस्य माननीय सूर्य बहादुर थापा क्षेत्रीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य थापाले खेलकुद र शिक्षाको समग्र विकासमा सबैले चासो दिनुपर्ने बताए । उनले राम्रो खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै सुरूवात गर्नुपर्ने बताए । विद्यालय तहमा खेलाडी उत्पादनका लागि राज्यका सबै तहका सरकारहरूको सहकार्य आवश्यक रहेको बताए । झिमरूक गाउँपालिका आफैमा बहुआयामिक क्षेत्र भएकोले यहाँका सम्भावनाहरूको पहिचान गर्दै विकासको निम्ति सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।

‘अहिले हाम्रो विकास गाउँतिर उकालो लाग्दै छ, तर गाउँका जनता बसाइँसराई गर्दै सहरतिर ओरालो लाग्दै हुनुहुन्छ’ उनले भने– ‘यसलाई गाउँमै बसाउने वातावरण कसरी गर्न सकिन्छ भन्नेतर्फ सबैले सोचौं ।’ हामीले स्थानीयलाई रोजगार र आयआर्जनसँग जोडेर लैजान सकेमात्र समस्या हल हुने उनले बताए ।

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य निमा गिरीले खेलाडीहरूलाई हौसला दिदै हाम्रा लक्ष्य नदीझै अटल र निडर हुनुपर्ने बताए । बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय उमेरदेखि नै खेलकुद, संगीतजस्ता क्रियाकलापमा विद्यार्थी भाइबहिनीहरूलाई उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले बालबालिकाको चौतर्फी विकासको लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने भएकोले विद्यालयस्तरबाट खेलकुद, संगीत, नृत्यजस्ता विद्यार्थीको रूचिको विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

त्यस्तै झिमरूक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षत्रीले स्वस्थ जनशक्तिको माध्यमबाट झिमरूकको समृद्धि हासिल गर्न सकिने भएकोले शारीरिक, मानसिक रूपमा स्वास्थ्य रहन खेलकुद अपरिहार्य भएको बताए । पालिकाको समृद्धिको लागि सबैको सहकार्य महत्वपूर्ण हुने भन्दै सबै एकताका साथ लाग्नुपर्ने उनको भनाइ छ ।

१०९ वटा शैक्षिक संस्थाहरूबाट ८ हजार बढी विद्यार्थीहरूले शिक्षा लिदै गरेको भन्दै ती विद्यार्थीलाई हामिले कस्तो बनाउने भन्ने हाम्रो शैक्षिक प्रणाली र शिक्षकको पठन शैलीमा भरपर्ने भएकोले यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरे । स्थानीय सरकारले प्रत्येक विद्यालयहरूमा खेलकुदलाई महत्व दिएर अगाडि बढ्नुपर्ने उपाध्यक्ष प्रमोद पोख्रेलले बताए ।

उनले भने– ‘खेलको माध्यमबाट गाउँ समाज जिल्ला प्रदेश राष्ट्र हुँदै अन्तर्राष्ट्रियस्तरसम्म देशलाई चिनाउने माध्यम खेलकुद भएकोले यसतर्फ सबै सरकारहरूले लगानीको दायरा बढाउनु पर्छ ।’ खेल क्षेत्रमा खेलाडीको आकर्षण बढाउन अवसर र सीप दुबै दिने खालको योजनाना अगाडि पढ्नुपर्ने बताए ।

प्रतियोगितामा गाउँपालिका भित्र रहेका १३ वटा माध्यमिक तहअन्तर्गतका सामुदायिक विद्यालयबाट खेलाडीको सहभागिता रहेको शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एथ्लेटिक्सका विभिन्न विधा, भलिबललगायतका खेलहरू खेलाईने छ । प्रतियोगिता–अन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, लगायतका खेलमा खेलाडी सहभागी रहेको उनले बताए ।

झिमरूक गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झिमरूक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षत्रीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य सूर्य बहादुर थापा क्षत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले गरेका थिए भने कार्यक्रम सञ्चालल शिक्षा शाखा प्रमुख मोहन बिसीले गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसी, गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी, पत्रकार महसंघ प्यूठान अध्यक्ष सञ्जय रिजाल, राष्ट्रिय जनमोर्चाका गाउँकमिटी सचिव खिम बहादुर विक, नेकपा एमालेका गाउँपालिका कमिटी अध्यक्ष इन्द्रमणि पोख्रेल, नेकपा माओवादी केन्द्रका झकबहादुर जिसी, जनता समाजवादीबाट श्रीराम पोख्रेल, शिक्षक महासंघका शेर बहादुर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यालय वडा अध्यक्ष जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि, खेलाडी, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here