दाङ, १४ पुस । बबई गाउँपालिका वडा नम्बर ७ मलईका लिलबहादुर बुढाथोकी कुनै आफन्तीलाई फोन गर्नको लागि घण्टौ हिँडेर अग्लो डाँडामा जान्छन् । अनि कुरा गरेर घर फर्किन्छन् । यो उनको दिनचर्या नै बनेको छ । प्रत्येक निर्वाचनमा नेताहरू भोटको लागि गाउँमा आएर विभिन्न आश्वासन दिएपछि अब यस्ता समस्याबाट मुक्त हुन पाइन्छ, भन्ने मनमा लाग्ने भएता पनि अहिलेसम्म समस्या जस्ताको त्यस्तै रहेको उनले बताए ।
‘नेताहरूले आफूहरूलाई भोटको लागि मात्र प्रयोग गर्ने गरेका छन्’ उनले भने– ‘यहाँको समस्याको कुरा गरेर साध्य नै छैन् । हामी सबै कुराबाट पछाडि परेका छौँ । अहिलेको सञ्चारको जमानामा पनि हामी फोन गर्न एक/डेढ घण्टा हिँडेर अग्ला पहाड जानुपर्छ ।’ मलई सञ्चारबाट मात्रै नभएर बाटो, विद्युत्, स्वास्थ्य, शिक्षाबाट पनि पछि परेको उनले बताए । ‘नेताहरू भोट माग्न आउँछन् । जितेर गएपछि फर्केर आउँदैनन् । यस्तो समस्या भोग्न लागेको वर्षौ भयो ।’
‘नेताहरू भोट माग्न आउँछन् । जितेर गएपछि फर्केर आउँदैनन् । यस्तो समस्या भोग्न लागेको वर्षौ भयो ।’
यस्तै उनले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म भन्ने गरेको भएता पनि आफूहरूले त्यो अधिकार प्रयोग गर्न नपाएको गुनासो गरे । उनका अनुसार मलई गाउँ एकदमै विकट क्षेत्रमा पर्ने भएकाले वर्षमा ६ महिना मात्र जोखिमपूर्ण रूपमा गाडीहरू सञ्चालन हुन्छन् । बाँकी ६ महिना हिँडेर नै वडा कार्यालय वा गाउँपालिकामा काम भए आउनुपर्ने बाध्यता रहेको समेत बताए ।
‘सडक राम्रा छैनन् अहिले त गाडीहरू जसोतसो सञ्चालन हुन्छ’ उनले भने– ‘पानी परेपछि सबै बाटो बिग्रिन्छ । वडा वा गाउँपालिकामा कुनै काम परेमा दुई/चार घण्टा हिँडेर जानुपर्ने बाध्यता रहेको छ ।’ सूचना र प्रविधिको समयमा मलईका नागरिकहरूलाई अहिले पनि फोन गर्न घण्टौँ हिँडेर अग्ला डाँडा खोज्नु बाध्यता छ । उनीहरूलाई देश विदेशमा के भइरहेको छ, भन्ने कुरा थाहा छैन् ।
वरिपरि अग्ला पहाड बीचैमा समथल भूमि रहेको मलई बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा समेत पर्ने गर्दछ । एकातिर सबै कुराले पीडित भएका त्यहाँका नागरिकहरू मध्यवर्ती क्षेत्र पर्ने हुँदा पनि जंगली जनावरका कारण उत्तिकै पीडित बनेका छन् । स्थानीय देउमा पुनका अनुसार बाख्रापाठाहरू चराउन लैजाँदा बाघले खाइदेला भन्ने डर हुन्छ । खेतबारीमा लगाएको अन्नबाली जंगली जनावरले खाइदिन्छन् । सबै कुराबाट आफूहरू पछाडि परेको भन्दै उनले पनि फोन गर्नको लागि अग्ला पहाडमा नेटवर्क खोज्दै जानुपर्ने बाध्यता रहेको बताइन् ।
यस्तै उनले अहिले गाडी चल्दा बिरामी हुँदा गाडीमा लैजाने भएता पनि बर्खाको समयमा स्ट्रेचरमा बोकेर लैजानुपर्ने बाध्यता रहेको भन्दै कतिपयलाई समयमा उपचार गर्न लैजान नसक्दा अकालमै ज्यान जाने गरेको पनि बताइन् । ‘हामी सबै कुराबाट पछाडि परेका छौँ’ उनले भनिन्–‘हामीलाई चुनावको बेलामा मात्र नेताहरू सम्झिने गर्दछन् । अन्य बेला त हाम्रा दुःख यस्तै हुन् ।
कहिलेकाहिँ त हामी कहाँका नागरिक हौँ, जस्तो पनि लाग्छ ?’ चुनावको समयमा मात्र नेताहरू आएर धेरै आश्वासन दिने र जितेपछि फर्कि नहेर्दा यहाँका नागरिकहरूले यस्तै समस्या भोग्दै आएको अर्का स्थानीय बम बहादुर बुढाले बताए । आफू २०३० सालमा सल्यानबाट बसाइँसराई गरी यहाँ आएको भन्दै अहिलेसम्म धेरै कुराबाट बञ्चित भएको उनको भनाइ छ ।
‘त्यो बेला सल्यान एकदमै विकट क्षेत्र भएको हुँदा बसाइँ सरी यहाँ आइयो । अहिले सल्यानमा सबै सुविधा पुगेको छ । तर, यहाँ सबै कुराबाट हामी पछाडि परेका छौँ’ उनले भने– ‘यहाँ छाडेर जाउँ, भने कहाँ जाउँ, नजाउँ, भने हामी कहिलेसम्म यसरी बाच्ने, शुरूमा आफू आउँदा जस्तो थियो, अहिले पनि मलई उस्तै छ ।’
यस्तै उनले विद्यार्थीहरूलाई पढ्नको लागि पनि निकै समस्या भएको समेत बताए । गाउँमा रहेको देउती माविमा दंगीशरण गाउँपालिका वडा नम्बर १ र बबई–१ का विद्यार्थीहरू घण्टौँ हिँडेर विद्यालय आउने गरेको भन्दै आफू संस्थापक अध्यक्ष रहेको विद्यालयमा पनि राज्यले खासै चासो नदिएको बताए ।