Thursday, May 2, 2024
Homebreaking-newsधरासायी अर्थतन्त्र र बजार

धरासायी अर्थतन्त्र र बजार

- Advertisement -spot_img

कोरोना महामारीपछि खस्केको आर्थिक क्षेत्र अझै पनि माथि उठ्न सकेको छैन् । चाडपर्व नजिकिदैँ छ । बजार फाटफुटरूपमा चहलपहल छ । तर व्यापार, व्यवसाय अझै पनि लयमा फर्किन सकेको छैन् । आर्थिक संकट चुलिदैँ जाँदा कतिपय व्यवसायीले व्यवसाय नै बन्द गरेका छन् । नयाँ थपिने व्यवसायी पनि ज्यादै न्यून मात्रामा छन् । कतिपय व्यवसायी त विदेश पलायनसमेत भइसकेका छन् । विदेशको लहरले पनि नेपालमा आर्थिक क्षेत्र चलायमान हुन सकेको छैन् । कोरोना महामारीपछि मत्थर भएको लामो समयसम्म पनि आर्थिक क्षेत्र चलायमान हुन नसकेकोले आर्थिक क्षेत्र चलायमान हुने समय लाग्ने देखिएको छ । आर्थिक संकट, बजारको अवस्थालगायतका विषयमा केन्द्रित रहेर सरोकारवालाई प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा समेटेका छौँ । – सम्पादक


जीतसागर जी.एम.


उद्योग थपिनेभन्दा बन्द हुने धेरै


आर्थिक संकटको मार उद्योग व्यवसायमा परेको छ । आर्थिक चलायमान नहुँदा उद्योग, व्यवसाय धमाधम बन्द हुन थालेका छन् । घरेलु तथा साना उद्योगको कार्यालय दाङमा पनि उद्योग व्यवसाय बन्द गर्न आउनेको संख्या बढिरहेको छ । म आएको धेरै भएको छैन् । यद्यपि उद्योग, व्यवसाय चलेन भनेर बन्द गर्न आउने व्यवसायी आउने गर्नुभएको छ । यसले व्यापार, व्यवसाय संकटमा छ भन्ने स्पष्ट हुन्छ ।

व्यवसाय चलेन भन्ने उहाँहरूको प्रतिक्रिया छ । विषेश गरेर किराना पसल बढी बन्द भइरहेका छन् । चाडपर्व नजिकिदै गर्दा पनि बजारमा आर्थिक क्षेत्र कम चलायमान हुँदा उद्योग, व्यवसाय संकटमा परेको देखिएको छ । कार्यालयमा बन्द गराउन आउनेको संख्या बढ्दो छ । तर नयाँ दर्ताको लागि आउनेको संख्या ज्यादै न्यून छ ।

कतिपय व्यवसायी विदेश पलायन भएको अवस्था छ । विदेश पलायन हुँदा देशको आर्थिक स्रोत पनि गएको छ भने उहाँहरूले सञ्चालन गरेका व्यवसाय पनि बन्द भएका छन् । उद्योगमा व्यवसाय बन्द हुँदा कति धेरैको रोजगारी गुमेको अवस्था छ । आर्थिक संकटकै असरले उद्योग, व्यवसाय बन्द हुन पुगेका छन् ।

साह्रै बिग्रेको अवस्था नभएपनि लगभग दैनिकजसो उद्योग, व्यवसाय बन्दका लागि घरेलु तथा साना उद्योगको कार्यालयसम्म आउने व्यवसायीको संख्यामा कमि आउन सकेको छैन् । बितेको आर्थिक वर्षमा भन्दा चालुवर्षमा अझ त्यस्तो अवस्था बढी देखिएको छ ।

साउनदेखि यता उद्योग व्यवसाय अझ बढी संकटमा परेका छन् । यो असर भनेको पहिलाको नै हो । अहिले देखिन थालेको छ । अझ धेरै व्यवसाय दर्तामात्रै हुने गरेको देखिन्छ । उद्योग, व्यवसाय दर्ता भएपनि बन्द गराउने पनि नआएको स्थिति देखिन्छ । सबैमा हुँदैन, तर पनि केही उद्योगी, व्यवसायीले उद्योग, व्यवसाय नचलेमा छोड्ने तर कार्यालयमा दर्ता भएको बन्द गराउन आउने स्थिति देखिदैन । त्यसकारणले पनि कतिपय उद्योग बन्द भएको पत्ता हुँदैन् ।

पछिल्लो समय कुखुरापालन व्यवसाय तथा अन्य कृषि उद्योगहरू बन्द भएको देखिएको छ । बन्द भएको संख्या मैले अहिले ठ्याक्कै भन्न सकिन, तर जे जस्तो भएपनि आर्थिक संकटकै कारण उद्योग, व्यवसाय संकटमा छन् । उद्योगहरू बन्द हुँदा त्यसमा कार्यरत मजदुरको पेशासमेत संकटमा परेको स्थिति छ । व्यवसाय बन्द गराउन आउने व्यवसायीको प्रतिक्रिया सबैको प्राय एउटै हुन्छ । व्यवसाय नचलेरै बन्द गर्नुपरेको भन्ने उहाँहरूको प्रतिक्रिया छ । यसकारण पनि बजारमा आर्थिक चलायमान अझै पनि छैन भन्ने संकेत स्पष्टरूपमा देखिएको छ । लगानी सुरक्षित नहुँदा उद्योग व्यवसाय धरापको स्थितिमा पुगेको व्यवसायीको प्रतिक्रिया छ ।


राज्यले लगानी सुरक्षित गर्ने वातावरण बनाउनुपर्छ


व्यापार, व्यवसायी धरापमा छ । अझ विषेश गरेर पर्यटन क्षेत्र प्रभावित छ । कोरोना महामारीपछि परेको आर्थिक संकट अझै सहज भइसकेको छैन् । पछिल्लो समयमा होटल व्यवसाय र पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखिएको छ । तर पूर्णरूपमा चलायमान भएको अवस्था छैन् । अन्य व्यवसाय अत्यन्त कठिन अवस्थामा छन् । नागरिकको आम्दानीका स्रोतहरू गुम्दै गएका छन् ।

महँगी दिनप्रतिदिन उकालो लागेको छ । यसले गर्दा बजार चलायमान हुन सकेको छैन् । उद्योग, व्यवसायहरू निकै सुस्तगतिमा चलेका छन् । तर बैंकिङ क्षेत्र नाफामा छ । अरू क्षेत्र धरासायी हुँदा बैंकहरूको चर्को ब्याज र विभिन्न किसिमका शुल्कले पनि व्यवसायीलाई धेरै हैरानी बनाएको छ ।

कोरोना महामारीपछि सुधारै नभएको होइन्, तर अपेक्षाकृतरूपमा सुधार हुन नसकेको स्पष्ट छ । पुरानै अवस्थामा फर्किन सकेका छैनौँ । तर पुरानो अवस्थाभन्दा अझै सुधार हुनुपर्छ । पुरानो अवस्थामा फर्केपनि त्यसले पुग्दैन् । आर्थिक विकासको प्रमुख आधार भनेको पर्यटन क्षेत्र हो । लुम्बिनी प्रदेश पर्यटनका हिसावले निकै सम्भावना बोकेको प्रदेश हो ।

बुद्ध जन्मेको स्थलदेखि प्यूठानको स्वर्गद्वारी, दाङको धारापानीलगायत प्रदेशमा थुप्रै सम्भावना बोकेका पर्यटकीयस्थलहरू छन् । तर पर्यटकको संख्या बढ्न सकेको छैन । आन्तरिक पर्यटकको संख्या बढेपनि बाह्य पर्यटकको संख्या उल्लेख्यरूपमा बढ्न नसक्दा पनि आर्थिक क्षेत्र सुधार हुन अझै समय लाग्ने देखिन्छ ।

अझ अर्को महत्वपूर्ण कुरा के हो भने क्षमतावान जनशक्ति विदेश पलायन भइरहदा आर्थिक क्षेत्र नराम्ररी प्रभावित पारेको छ । जनशक्ति परिचालन हुँदा आम्दानीका स्रोतहरू बढ्छन् । आम्दानीका स्रोत बढ्दा बजार चलायमान हुने हो, तर पछिल्लो अवस्था भएको जनशक्ति विदेश पलायन भइरहेको छ । स्वदेशमै केही गरिरहेका, दुई/चारजनालाई रोजगारी दिएका जनशक्ति पलायन हुँदा अहिले नेपालमा भनेजस्तो उद्योग, व्यवसाय सञ्चालन भएको छैन् ।

अर्को कुरा विकास निर्माणका काम धेरै कम भएका छन् । यसले पनि आर्थिक क्षेत्र संकट चुलिएको छ । बैंकहरूको चर्को ब्याजदरको मारमा व्यवसायी छन् । ठूलो आर्थिक संकट आउँदा पनि बैंकहरू नाफामा जाने, व्यवसायी संकटमा पर्ने भनेको नै बैंकहरूले व्यवसायीबाट लिने ब्याज महँगो छ भन्ने स्पष्ट हुन्छ । व्यवसायीको लगानी सुरक्षित हुन सकेको छैन् ।

व्यवसायीका समस्या राज्यलाई पटक–पटक राखेका छौँ । चिच्याई राखेका छौँ, कराइ राखेका छौँ । सरकारी लगानीमा व्यवसाय सञ्चालनमा छैन् । निजी क्षेत्रबाट भएको लगानी सुरक्षित गराउन राज्यले प्रभावकारी भूमिका खेलेको छैन् । व्यवसायीका समस्या बारम्बार राख्दा पनि राज्यले व्यवसायी समस्यालाई गम्भीररूपमा लिन नसकेको देखिएकोे छ । निजी क्षेत्रलाई राज्यले सँगसँगै लैजान नसकेपछि आर्थिक चलाएमान हुँदैन् ।

आर्थिक क्षेत्र संकटमा परेपछि सरकारले चाहेको समृद्धि र विकास प्राप्त गर्न सक्दैन । व्यवसायीको पुँजी सुरक्षित गर्न प्रत्येक सरकारलाई भनेका छौँ । राज्यले पनि बुझेको छ । तर समस्या समाधान गर्न सकेको छैन् । व्यवसायीले सरकारलाई कर तिर्छन । बैंकलाई ब्याज बुझाउन् । तर यि सबै सुरक्षित गर्नका लागि राज्यले पनि लगानी सुरक्षित गर्ने वातावरण निर्माण गर्नुपर्छ ।


बैंक ब्याजदरले व्यवसायी मारमा

आर्थिक मन्दीको प्रभाव धेरै परेको छ । कोरोना महामारीपछि बैंक ब्याजदर वृद्धि भयो । त्यसपछि व्यवसायी निकै मारमा परेका छन् । अहिले पनि संकटकै बीचमा व्यवसायी छन् । ७÷८ प्रतिशत ब्याजदरमा कर्जा चलाएका व्यवसायीले १७÷१८ प्रतिशत ब्याज बुझाउन बाध्य भए । तर व्यापार, व्यवसाय चलायमान हुन सकेन् । बजारमा देखिएको संकटले व्यवसायी पलायन हुन थालेका छन् ।

अहिले पनि धेरै व्यवसायी विदेश पलायन भइरहेको तपाई हामीले देखिरहेका छौँ । सटर खाली छ, भाडामा लिनेले सम्पर्क गर्नुहोला भन्ने लेखिएका ठाउँमा बुझ्दा धेरै व्यवसायीले बैंक ब्याज तिरेर व्यवसायमा बिक्री गरेर आम्दानी गर्न नसकिने भएका कारण व्यवसाय चलाउन नसकेको व्यवसायीको प्रतिक्रिया छ ।

राज्यले व्यवसायीका समस्या बुझ्न सकेको छैन् । यद्यपि राज्य सञ्चालनमा व्यवसायीको भूमिका महत्वपूर्ण छ । निजी क्षेत्रले धेरैलाई रोजगारी दिएको छ । राज्यलाई आउने आम्दानी पनि निजी क्षेत्रबाटै आउने गरेको छ । तर राज्यले व्यवसायी समस्यामा हुँदा पीरमर्का बुझ्न नसकेको स्थिति छ । व्यवसायीले महँगो ब्याजदर बुझाइरहेका छन् । राज्यले कम्तिमा पनि बैंकको ब्याजदर हेरफेरमा चासो दिनुपर्छ ।

नत्र भने अहिलेकै स्थितिमा व्यवसायी स्थापितभन्दा विस्थापित हुने देखिएको छ । अहिले ठूला व्यवसाय थपिएका छैनन् । सानो लगानीका व्यवसाय थपिएका छन् । व्यवसाय थपिनेभन्दा विस्थापित हुने धेरै छन् । तथ्यांकमा भन्न सकिएन, तर जे होस् व्यवसायी नयाँ आउने भन्दा बन्द गर्ने बढी देखिएका छन् ।

तीज, दशैँ, तिहारजस्ता ठूला चाडपर्व नजिकिदै गर्दा बजारमा हुने चहलपहल अहिले पनि छैन् । बिगतका वर्षमा चाडपर्वमा निकै चहलपहल हुन्थ्यो । बजारलाई चलायमान बनाउथ्योँ, त्यसले व्यवसायीलाई निकै सहज बनाउथ्याँ तर अहिले त्यो अवस्था देखिएको छैन् । आर्थिक संकट आमनागरिकमा छ । आम्दानीका स्रोतहरू घट्दै गएका छन् । बजारमा उद्योग व्यवसाय धरासयी हुँदा धेरैको रोजीरोटी बन्द भएको छ । चाडपर्व आउँदा पनि बजारमा किनमेल गर्न आउने ग्राहकको संख्या उल्लेख्य छैन् । कोरोना महामारीपछिको अवस्थाभन्दा केही सुधार भएको छ । तर अझै पनि सहज बनिसकेको छैन् ।

विकास निर्माणका काम ठप्प छन् । यसकारणले गर्दा पनि बजार चलायमान हुन सकेको छैन् । विकास निर्माणका काम हुँदा आम नागरिकको पनि आयस्रोत वृद्धि हुने थियो । त्यसले बजारलाई चलायमान बनाउँथ्यो । पछिल्लो समय धेरै नागरिक विदेश पलायन हुँदा पनि आर्थिक संकट देखिएको छ । कुनै समय १०/२० लाख सहजै पाउन सकिन्थ्यो । अहिले बजारमा व्यवसायीले १०/२० हजार पाउन पनि निकै मुस्किल पर्ने गरेको छ । यो सबै कारण व्यवसायीसँग भएको पैसा विदेश गएको छ ।

ठूलो रकम खर्च गरेर विदेश जाने युवाको लाइन छ । यसले गर्दा बजारमा पैसाको अभाव देखिएको छ । म व्यवसायीलाई के आग्रह गर्न चाहन्छु भने अहिले नयाँ व्यवसाय सञ्चालन गर्नेभन्दा अहिले भइरहेको व्यवसायलाई जोगाउन लाग्नुहोस् । आर्थिक संकट निकै छ । संकटको बेलामा घरबेटीले पनि सकेसम्म घरभाडा कम गराउनुस्, सक्नुुहुन्न भने घरभाडा बढाउने काम नगरिदिन हुन अनुरोध गर्दछु । अझै पनि ६ महिना/वर्ष दिन लाग्छ होला । नत्र भने त घरबेटीले ताला लगाएर राख्ने र व्यवसायीले छोडेर जाने अवस्था देखिन्छ ।


सिजनमा पनि व्यापार छैन्

सिजनमा पनि व्यापार छैन्आर्थिक संकटको असर अझै सहज भएको छैन् । कोरोनापछि असहज बनेको बजार अझै पनि लयमा फर्कन सकेको छैन् । पछिल्लो समय विभिन्न कारण आर्थिक स्रोत गुम्दै जाँदा बजारमा किनेमलको चहलपहल निकै कम छ । अहिले कोठा भाडा बुझाउनै मुस्किल छ । बैैंकको ब्याजदर निरन्तर उकालो लागेको छ । तर व्यापार, व्यवसाय छैनन् । चाडपर्व नजिकिदै गएको छ । तर पनि बजारमा किनमेलको अवस्था सुधार भएको छैन् । हामी इलेक्ट्रोनिक्स व्यवसायी झन बढी मारमा छौँ । पछिल्लो समय अनलाईन प्रविधि भित्रिएपछि धेरै ग्राहक पसलसम्म आउन छोडेका छन् । अहिलेको सिजन भनेको बढी व्यापार हुने सिजन हो । तर व्यापार छैन् ।

कतिपयले अनलाईनबाटै किन्ने गरेका छन् । अधिकांशले विदेशबाट मोबाइल ल्याउने गरेका छन् । यसकारण पनि मोबाइलको व्यापार खस्कदो छ । मोबाइलको मूल्य दिनदिनै घट्दो क्रममा छ । तर पनि व्यापार बढ्न सकेको छैन् । आम नागरिकमा आयस्रोत घटिरहेको छ । माथिल्लो वर्गभन्दा पनि मध्यम वर्गको व्यक्ति हामी कहाँ आउने हो । तर मध्यम वर्गको आयस्रोत नै छैन् । आम्दानी गर्नेहरूले विदेशबाटै सामान ल्याउने गरेका छन् । यसकारण पनि मोबाइलको व्यवसाय घट्दो छ ।

मोबाइल व्यवसाय गर्ने कतिपय व्यवसायी त विदेश पलायन भइसके । लाखौँ लगानी लगाएर विदेश पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ । विदेशको लहरले पनि अहिले आर्थिक महामारी छ जस्तो लागेको छ । सबै पैसा विदेश जानेले लगिसके । तर विदेशबाट पैसा फिर्ता आएको छैन् । अनि आर्थिक संकट सिर्जना भएको छ । नेपालमा केही गर्न जनशक्ति विदेश पलायन हुँदा पनि समस्या ल्याएको छ ।

कतिपयले रोजगारीसमेत गुमाएका छन् । यस्तो अवस्थाबाट हामीहरू गुज्रिरहेका छौँ । मैले त अहिलेसम्म दुईजना स्टापलाई जसोतसो आर्थिक व्यवस्थापन गरेको छ । तर व्यापार, व्यवसायीको यहि अवस्था रहिरहेमा समस्या आउने हो कि भन्ने चिन्ता पनि छ । चाडपर्व नजिकिदै गर्दा बजार चलायमानको हरियो संकेत केही देखिएको छैन्  । त्यसकारणले पनि आर्थिक संकट झन् चुलिदै जाने संकेत देखिएको छ ।

घरभाडाको सवालमा मेरो बढेको छैन् । किनभने मैले ६ वर्षको सम्झौता गरिसकेको छु । तर साथीहरू बसेको घरको भाडा बढेको भन्ने सुन्नमा आउँछ । व्यापार गर्न सहज छैन् । यस्तै अवस्था अझै कहिलेसम्म रहने हो भन्ने मूख्य प्रश्न छ । तर उत्तर कसैसँग छैन् । अहिलेको पछिल्लो लथालिंग राजनैतिक अवस्था, अस्तव्यस्त विकास निर्माण, असुरक्षालगायतका कारणले अधिकांश युवाहरू विदेश पलायन भइसकेका छन् । बालबालिका र ज्येष्ठ नागरिकमात्रै नेपालमा हुँदा यसले निकट भविष्यमा झनै संकट ल्याउने अवस्था छ । विदेश गएर फर्किनेहरू भए भने केही होला । विदेशमै बसेर नेपाल नफर्किएपछि झनै समस्या आउन सक्छ । दक्ष जनशक्ति देशमा नहुँदा यसले देशको अर्थतन्त्रमा पनि संकट ल्याउने अवस्था छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here