Saturday, April 27, 2024
Homebreaking-newsआँखा पाक्ने रोगको प्रकोप र बच्ने उपाय

आँखा पाक्ने रोगको प्रकोप र बच्ने उपाय

- Advertisement -spot_img
जीतसागर जी.एम.

आँखा पाक्ने रोग पछिल्लो समय प्रकोपको रूपमा देखिन थालेको छ । रोगको प्रकोप महामारीका रूपमा फैलिन थालेपछि कतिपय विद्यालयसमेत बन्द भएका छन् । बालकदेखि बृद्धसमेत रोगबाट ग्रसित भएका छन् । रोगको प्रकोप फैलिन थालेपछि अस्पतालमा बिरामीको चापसमेत बढेको छ । नेत्ररोग विषेशज्ञका अनुसार भने रोग समस्या भएपनि यसबाट आत्तिनु नपर्ने बताउँछन् । विगतका वर्षमा पनि देखिने गरेको रोग पछिल्लो समय अलि बढी देखिए पनि निको हुने रोग भएकाले आत्तिनु नपर्ने चिकित्सकको सुझाव छ । आँखा पाक्ने रोगको प्रकोप र बच्ने उपायका बारेमा प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालाको विचारलाई समेटेका छौँ । – सम्पादक

डराई हाल्नुपर्ने अवस्था होइन

दाङमा पनि पछिल्लो समय यो समस्या देखिएको छ । यो समस्या गम्भीर प्रकारको समस्या त होइन्, तर अस्पतालमा दिनप्रतिदिन बिरामीको चाप बढ्न थालेको छ । यसको उपचार असम्भव भन्ने पनि छैन् । उपचारका लागि औषधिको अभाव भन्ने पनि छैन् । समस्या देखिएको छ, तर उपचार सम्भव छ ।
जिल्लामा पछिल्लो समय बढी संक्रमणको रूपमा देखिन थालेपछि केही समस्या भएको छ । यो रोग सरूवा रोग नै हो । सरूवा रोग भएका कारणले पनि छिटोछिटो समस्या देखिएको छ । विषेश गरेर अहिले यो समस्या बढी बालबालिकामा देखिएको छ । बालबालिकामा समस्या देखिएका कारण उनीहरूको पढाइसमेत प्रभावित भएको छ ।
आँखाको सरसफाई अलि कम हुने गरेको छ । बालबालिकामा झन यो किसिमको समस्या बढी हुन्छ, त्यसकारणले पनि बढी देखिएको छ । उनीहरूमा सरसफाईदेखि आवश्यक सावधानी निकै कम हुने भएकाले पनि अहिले बालबालिकामा आँखा पाक्ने भाइरल रोग बढी देखिने गरेको छ । जिल्लाका १० वटै पालिकामा अहिले यो समस्या देखिएको छ । कुनैमा कम, कुनैमा बढी त अवश्य छ, तर समस्या सबै पालिकामा देखिएको छ ।
अहिले विषेशगरी दाङ उपत्यकाको तुलनामा देउखुरी उपत्यकामा बढी देखिएको छ । देउखुरीमा किन पनि बढी देखिएको हो भने त्यो ठाउँमा गर्मी पनि बढी भयो । अनि खेतीपातीको समय पनि भयो । यसकारण पनि सरसरफाईमा केही कमी हुँदा रोगको प्रकोप बढी फैलिएको होला । हातगोडादेखि आँखाको सरसफाई कमी भएको हुँदा पनि प्रकोप छिटो फैलिएको हो ।
यो रोग सरूवा भएको कारणले परिवारको एउटा सदस्यलाई भएपछि छिटो संक्रमण फैलिन्छ । रोगको प्रकोप बढेपनि उपचारमा समस्या छैन् । एकदेखि दुई हप्ताभित्रमा यो रोग निको हुन्छ । कतिपय उपचार नगरेर पनि निको भएका छन् । यसकारण पनि रोग लागेपछि आत्तिनु हाल्नुपर्ने अवस्था होइन् । समस्या आउँदाखेरी आत्तिनु मानिसको स्वभाव नै हो तर कोरोना महामारीजस्तो जटिल होइन् । यसको औषधि उपचार निकै सहज छ ।
रोगको समस्या देखिएमा सकेसम्म आँखा अस्पतालमा जानुपर्छ । आँखा अस्पताल नजिकमा छैन भने अरू अस्पतालमा पनि जानुपर्छ । पछिल्लो समय प्रकोपको रूपमा देखिएकाले पनि अस्पतालमा भिड हुने गरेको छ । अस्पतालमा भिडभाड देखिएपनि उपचारमा कुनै समस्या छैन् । अस्पताल पुगेपछि डाक्टरको सल्लाहबमोजिम औषधि पाइन्छ । सोहिअनुसार उपचार गरेमा उपचार सम्भव छ । त्यसकारण पनि समस्या देखिएमा आत्तिहाल्नुपर्ने अवस्था छैन् । एकै पटक धेरैजनालाई देखिदा केही प्रकोप देखिएको हो, तर उपचार सम्भव भएकाले पनि डराउनुपर्दैन । अहिले पनि धेरैजना संक्रमित हुनुहुन्छ । तर सबैको उपचार सम्भव भएको छ । अहिलेसम्म यस रोगबाट जटिल समस्या देखिएको छैन् ।

उपचार सम्भव छ

आँखा पाक्ने रोग पहिलो पटक आएको होइन् । यो रोग यसभन्दा अघि पनि आएको थियो । तर पछिल्लो समय आँखा पाक्ने रोग अलि बढी प्रकोपको रूपमा देखिएको हो । यसका बिरामी आइराख्नुभएको छ । यो रोग सामान्य रोग हो । यो रोग उपचार नगरेर पनि करिब दुई हप्तामा आफै पनि निको हुन्छ । फेरि यति भन्दैमा उपचार नै नगर्ने भएको होइन् । रोगबाट निको हुनका लागि उपचार पनि गर्नुपर्छ । उपचार नभए पनि निको त हुन सक्छ ।
तर आँखा जस्तो संवेदनशील अंगको उपचारमा हेलचेक्र्याई फेरि गर्नुहुँदैन् । यो आँखा पाक्ने रोग देख्दा जटिल देखिए पनि त्यति धेरै चितिन्त हुनुपर्दैन । कहिलेकाहिँ जटिलता पनि आउन सक्छ । यस्तो अवस्थामा अस्पताल पुगेर नेत्र विषेशज्ञको परामर्श लिन सकिन्छ ।
यो समस्याका बिरामी पहिलैदेखि अस्पतालमा आइरहनुभएको छ । अहिले नयाँ रूपमा देखिएको होइन् । यो विषेशगरी गर्मी, चिसो र वर्षाको समयमा अलि बढी देखापर्ने गरेको छ । अहिलेको समयमा अलि बढी संक्रमण देखिएको छ । यसले गर्दा अहिले बिरामी बढी देखिन थालेका छन् । अहिले कोरोनाजस्तै गरेर छिटोछिटो धेरैमा संक्रमण देखिएको छ । तर कोरोनाजस्तो जटिल प्रकारको रोग होइन् । कोरोनाको समयमा औषधिको अभाव भएर पनि बिरामीले मृत्युवरण गर्नुपरेको अवस्था थियो, तर यसमा त्यस्तो छैन् ।
औषधिको अभाव पनि छैन् । उस्तै परेमा रोग आफै पनि निको हुन्छ । यसकारण पनि अहिले आँखा पाक्ने रोगको समस्या जटिल होइन् । यसको संक्रमण धेरै भएपनि उपचार निकै सहज छ । बिरामी अत्तिनु पर्दैन । सकेसम्म व्यक्तिगत रूपमा सरसफाईलाई बढी जोड दिनुुपर्छ । यदि बढी समस्या देखिएमा अस्पतालसम्म पुगेर आँखा जाँच गराउनुभयो भने उपचार असम्भव भन्ने छैन् ।
पछिल्लो समय समाचारमा आउने कुराले नागरिकलाई त्रासमा पनि राखेका छौँ कि जस्तो लाग्छ । किनभने सूचना प्रवाह निकै भयावह बनेको जस्तो गरेर भएको छ । तर अवस्था त्यस्तो छैन् । सामाजिक सञ्जालदेखि विभिन्न सञ्चार माध्यममा आउने खबरले नागरिकलाई सुसूचित मात्रै होइन् कि डर त्रास पनि फैलिएको जस्तो लागेको छ । त्यसकारण पनि अस्पतालमा बिरामीको चाप बढेको । यसअघि यस्ता समस्या आउँदा धेरै बिरामी घरमै प्राथमिक उपचारको उपाय खोजिन्थ्यो । तर पछिल्लो समय बिरामी आत्तिएर अस्पतालसम्म पुगेको अवस्था देखिन्छ । बिरामी अस्पताल पुग्नुको पछाडी उहाँहरू आत्तिएर पनि हो । यसकारण पनि अस्पतालमा बिरामीको चाप देखिएको हो । सचेतना हुनु राम्रो कुरा हो ।
पछिल्लो समय विद्यालय पनि यो समस्या बढी देखिएको छ । कतिपय विद्यालय बन्द भएका पनि छन् । आँखा स्वास्थ्यबाट बच्नका लागि विद्यालय बन्द गर्ने एउटा उपाय होला, तर यसले मात्रै समस्या समाधान नहोला । विद्यालय बन्द गर्नेभन्दा पनि संक्रमित विद्यार्थी वा शिक्षकलाई एक÷दुई हप्ताको छुट्टी पनि दिन सकिन्छ । यसले गर्दा पनि समस्या केही ब्रेक गर्न सकिन्छ । संक्रमित बिरामी अस्पतालमा आउँदा अरू बिरामीलाई पनि समस्या हुने भएकाले यसको सावधानी अपनाएका छौँ । यसका लागि हामी अहिले भाइरल रोगका बिरामीको उपचार छुट्टै कक्षबाट गरिरहेका छौँ । कन्जटीभाइटीस पनि तीन÷चार प्रकारको हुन्छ ।
अहिले देखिएको कन्जटीभाइटीस भाइरल प्रकारको हो । लौकी हाल्ने घरेलु उपचार पनि गरेको देखिन्छ । यो गलत हो । आँखाजस्तो संवेदनशील अंगमा जे पायो, त्यो हाल्नु हुँदैन् । पैसाको लोभमा आँखाको ज्योति पनि गुम्न सक्छ । यस्तो अवस्थामा आँखाको उपचारमा लौकी प्रयोग नगरिदिनुस् । हामीले पनि सानोमा हुँदा यो राख्ने गरेका थियौँ, तर बुझ्दै जाँदा यो निकै हानिकारक छ । यसको जथाभावी रूपमा प्रयोग नगरौँ ।

प्रकोप बढी देखिएपछि विद्यालय बन्द 

आँखा पाक्ने रोगको समस्या विद्यालयमा पनि देखिएको छ । विद्यालयका बालबालिकामा समस्या देखिएपछि विद्यालय बन्द पनि ग¥यौँ । विद्यालय बन्द गरेपछि प्रकोप पनि केही रोकिएको छ । विद्यालयमा बालबालिकालाई अत्याधिक समस्या देखिएपछि विद्यालय बन्द गर्नुपरेको हो । विद्यालयमा ठूलाभन्दा साना उमेरका बालबालिकामा आँखा पाक्ने रोगको समस्या देखिएको हो । साना बालबालिकालाई पढाउन शिक्षकसमेत समस्याबाट ग्रसित हुनुभएको छ ।
विद्यालयमा दैनिकजसो समस्या देखिएको थियो । अहिले केही भएपनि कम भएको छ । ठूलो समस्या नभएपनि प्रकोपका रूपमा देखिएपछि अहिले शैक्षिक संस्था बन्द गरेका हौँ । विद्यालय आजदेखि सञ्चालनमा आउने छ । विद्यालय सञ्चालनमा आएपनि फेरि प्रकोप देखिन थालेपछि केही सोच्न सकिन्छ । बालबालिकामा देखिएको समस्यालाई केही भएपनि समाधान गर्न विद्यालय बन्द गर्नुपर्ने स्थिति आएको हो । आँखा पाक्ने रोगबाट विद्यालयका शिक्षक पनि ग्रसित भएका छौँ । शिक्षकमा यो समस्या देखिएको छ । यसले गम्भीर संकट नपारे पनि विद्यालयमा पढाउने शिक्षक पनि रोगबाट ग्रसित भएपछि शिक्षण सिकाइमा पनि प्रभावित हुने भएकाले विद्यालय बन्द गरेर चेन ब्रेक गरेका छौँ ।
अहिले लगभग शिक्षक पनि निको भइसक्नुभएको छ । विद्यार्थी पनि निको हुनुभएको छ । केही दिनका लागि मात्रै विद्यालय बन्द गरिएको हो । साना बालबालिकामा बढी समस्या देखिएको हो । ठूला विद्यार्थी सचेत हुँदा ठूलामा समस्या अलि कम देखिएको थियो । तर सानामा सावधानी कम भएकाले छिटो संक्रमण फैलिएको देखियो । त्यस अवस्थामा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले पनि साना बालबालिकामा बढी प्रकोप देखिएको छ ।
यसकारण हामीले शुक्रबारदेखि सोमबारसम्म विद्यालय बन्द गरेका हौँ । विद्यालय बन्द भएपछि केही भएपनि संक्रमण कम भएको छ । अब यसपछि संक्रमितको संख्या के हुन्छ । अलि बढी नै संक्रमण देखिन थालेपछि , व्यापक नै भयो भने पछि केही सोच्नुपर्ला । यस बारेमा तुलसीपुर उपमहानगरपालिकाले पनि केही धारणा अवश्य बनाउला । आँखा पाक्ने रोगको प्रकोप नियन्त्रणका लागि स्थानीय सरकारले पनि केही न केही अवश्य सोच्नुपर्छ ।
यदि कन्ट्रोल गर्न नसकिने अवस्था भएपछि विद्यालय बन्द नहोला भन्न सकिन्न । तर अहिले नै फेरि बन्द गर्ने भन्ने चाँही होइन् । फेरि पनि संक्रमण देखिन थालेमा सकेसम्म विद्यालय बन्द नगरीकन जस्तै ति बालबालिकालाई घरमै राखेर, घरमै आइसोलेट गरेर भएपनि विद्यालय सञ्चालन गर्नुपर्ला ।
तर संक्रमण बढी हुन थालेमा नियन्त्रणका लागि विद्यालय फेरि बन्द गर्ने स्थिति पनि आउन सक्छ । बालबालिकाको आँखा स्वास्थ्यमा  अभिभावक पनि सचेत हुनुपर्छ । अहिले साना बालबालिकामा बढी प्रकोप देखिएको छ । यस्तो अवस्थामा अभिभावकले सावधानी अपनाउन सकिएन भनेपछि समस्या झनै जटिल बन्न सक्छ । समस्या जटिलरूपमा आउन नदिनका लागि अभिभावक पनि सचेत हुनुपर्छ ।
बालबालिकामा संक्रमण देखिसकेको छ भने सकेसम्म त्यस्तो अवस्थामा विद्यालय नपठाउनुस् । बालबालिका ठिक भएपछि विद्यालयमा नियमित हुन्छन् । पढाइ छुटेको बालबालिकालाई हामीले फेरि रिकभर गर्छौ । आँखा पाक्ने रोग जटिल नभए पनि गम्भीरता लिनुपर्छ । अति संवेदनशील अंग आँखा पाक्ने रोगबाट बच्नका लागि सबैले सावधानी अपनाऔँ ।

सरसफाईमा ध्यान दिऔं

 म पनि आँखा पाक्ने रोगबाट ग्रसित भएको हुँ । तर अहिले निको भइसकेको छ । आवश्यक सावधानी अपनाएपछि सकेसम्म रोग नै लाग्दैन । रोग लागेपनि निको हुन्छ । सकेसम्म रोग लाग्न नदिन सावधानी अपनाउनुपर्छ । यदि रोग लागिहालेमा पनि आत्तिनु पर्दैन । अहिले अलि बढी महामारीका रूपमा फैलिएका कारणले केही बढी देखिएको हो । तर यसबाट निको हुन सकिन्छ । मलाई पनि रोगले छोएपछि मैले खानपानदेखि सरसफाईमा निकै ध्यान दिएको हुुँ ।
म अघिपछि पनि सरफाईलाई निकै ध्यान दिन्छु । म उमेरले ८० वर्षको भएँ । तर आँखामा ठूलो समस्या देखिएको छैन् । अहिले पछिल्लो समय आँखा पाक्ने रोगबाट पनि ग्रसित भए । तर जटिल समस्या देखिएन । अस्पतालमा त पुगँे । तर सामान्य प्रकारको औषधि ल्याएर लगाएपछि अहिले निको भइसकेको छ । म दैनिक क्रियाकलापलाई निकै सक्रिय बनाउने गरेको छु । उमेरले धेरै भएपनि सक्रिय हुँदा स्वास्थ्यमा देखिने समस्या पनि कम देखिने गरेका छन् ।
पछिल्लो समयमा देखिएको आँखा समस्या पनि सहजै निको भएको छ । मैले आफ्नो आनीबानीमा गरेको परिवर्तनले नै आँखा स्वास्थ्य समस्या सहज भएको हो । डाक्टरहरूले पनि रोगबाट आत्तिनु नपर्ने भन्नुभएको छ । तर खानपान र सरसफाईमा निकै ध्यान दिनुपर्छ । यसकै कारण मैले धेरै दुःख पाएन । यो जुनसुकै उमेर समूहका नागरिकलाई समस्या आउन सक्छ ।
ज्येष्ठ नागरिकलाई समस्या आएपछि झनै बढी समस्य हुन्छ । बूढेसकालमा आँखामा समस्या देखिएपछि निको हुन गाह्रो हुन सक्छ । तर मैले जितेको छु । आँखा पाक्ने रोगबाट म अछुतो त रहन सकेन तर रोग प्रतिरोधात्मक क्षमता ममा भएकाले पनि रोगबाट निको भएको छु । सकेसम्म समस्या आउन नदिने हो । समस्या आएपछि नअत्तालिएर समाधान गर्ने प्रयत्न गर्छु । र पो म स्वस्थ छु ।
अहिले देखिएका आँखा पाक्ने रोगबाट बच्न म सबैलाई आग्रह गर्छु । सरसफाई र खानपानमा मूख्य कुरामा ध्यान दिनुस् । जुनसुकै उमेर समूहका मानिसलाई पनि अहिलेको समस्या देखिन्छ । यसकारण सचेत भने हुनुपर्छ । सावधानी अपनाएपछि अहिलेको रोग सहजै निको हुन्छ । यसका लागि स्वयम् व्यक्तिले यस कुरामा ध्यान दिनुपर्छ । समस्यासँग डराएर होइन्, यसबाट समाधानको उपाय खोजेर अघि बढ्नुपर्छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here