जीतसागर जी.एम.
शिक्षालाई व्यवहारिक बनाउन र स्थानीय विषयवस्तुको बोध गराउन स्थानीय पाठ्यक्रमको अवधारणा अघि सारिएको छ । केन्द्रबाट निर्माण हुने पाठ्यक्रमले स्थानीय जनजीवन, कला, संस्कृति, भूगोललगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो । नेपालजस्तो विविध भौगोलिक, सांस्कृतिक, भाषिकलगायतका परिवेशका कारण समाजको आवश्यकता र चाहना फरक–फरक छन् ।
स्थानीय आवश्यकताका विषयवस्तु नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सीप र प्रविधिलाई समेटी विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । यसले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्दछ । स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनमा प्रभावकारिता के छ ? सरोकारवालाको विचारलाई सारसंक्षेपमा प्रदेश टुडे राष्ट्रिय दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा समेटेका छौँ । – सम्पादक
विद्यालयमा पढाइ शुरू भइसकेको छ
तुलसीपुर उपमहानगरपालिकाका विद्यालयमा गत शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू भइसकेको छ । गतवर्ष शैक्षिक सत्र सुरू हुने बेलामा पुस्तक छपाइको काम सकिएको थिएन्, यद्यपि पुस्तकको इकापी हामीले नगरका विद्यालयमा पठाएका थियौँ । यसवर्ष कक्षा ४ देखि ८ सम्मको पाठ्यपुस्तक तयार पारेर विमोचन गरिसकेका छौँ । ‘हाम्रो तुलसीपुर’ नामक पुस्तक विद्यालयमा गइसकेको छ । इकापीबाट पढाउन असहज भएकाले पाठ्यपुस्तक नै तयार गरेर विद्यालयलाई दिएका छौँ ।
कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारिएको छ । विसं २०७८ पुस महिनादेखि पाठ्यक्रम निर्माणको काम सुरू भएको थियो । स्थानीय विषयवस्तुमा आधारित पुस्तकमा कक्षा १ देखि ५ सम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा, पेशा, व्यवसाय र प्रविधि, मानवीय मूल्य र स्वास्थ्य शिक्षा, वातावरण र कर्तव्य, दुर्घटना र विपद् व्यवस्थापन शीर्षकमा तयार पारिएको छ भने कक्षा ६, ७ र ८ का यी विषयवस्तुसहित व्यवहारिक लेखनलाई समेत समेटिएको छ । स्थानीयस्तरमा दैनिक जीवनमा प्रयोगमा आउने व्यवहारिक लेखन जस्तै भरपाई, तमसुक लेखनजस्ता कुरा पनि समेटिएको छ । यसले गर्दा विद्यार्थीले भोलिका दिनमा चाहिने सीप आर्जन गर्छन् ।
पाठ्यक्रमभित्र तुलसीपुरको भौगोलिक अवस्था, सामाजिक, आर्थिक, धार्मिक, पर्यावरणीय विषयवस्तुलाई समेटिएको छ । नगरका १९ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा कार्यान्वयन गर्ने गरी स्थानीय पाठ्यपुस्तक तयार गरिएको हो । पुस्तक नेपाली भाषामा मात्रै छापिएको छ । आवश्यक परेको खण्डमा पुस्तकलाई अन्य भाषामा पनि छपाइ गर्न सकिन्छ ।
अहिले नेपाली भाषामा मात्रै पुस्तक छपाइ गरिएको छ । स्थानीयस्तरमा भएका विभिन्न पर्यटकीय स्थलको चिनारी, स्थानीय सरकार सञ्चालन प्रक्रिया, वडाको विवरण, स्थानीयस्तरमा मनाइने चाडपर्व, कलासंस्कृतिको विषयमा विद्यार्थीलाई बोध गराई उनीहरूलाई स्थानीय ठाउँको ज्ञान प्रदान गर्ने उद्देश्यका साथ स्थानीय पाठ्यक्रम तयार पारिएको छ ।
यसलाई आवश्यक परेको खण्डमा हरेक वर्ष थप विशिष्ट रूप दिनका लागि परिमार्जन पनि गर्न सकिन्छ । अहिले बनाएको कुरा फेरि सच्याउन मिल्दैन् भन्ने हुँदैन् । राष्ट्रियस्तरमा छापिएका पुस्तक पनि परिमार्जन गरिएको सन्दर्भमा स्थानीय पाठ्यक्रमलाई परिमार्जन गर्न नसकिने भन्ने कुरा आएन् ।
तुलसीपुर उपमहानगरपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भइसकेको छ । अहिले कक्षा ४ देखि ८ सम्मको पुस्तक तयार बनाएका छौँ । कक्षा १ देखि ३ सम्म पाठ्यक्रम तयार भएपनि पुस्तक तयार भएको छैन् । यसका लागि हामी तयारीमा लागेका छौँ । स्थानीय सीप, व्यवसाय, पेसा, स्रोतसाधनको महत्व र आवश्यकता पहिचान गरी विकास गर्न पाठ्यक्रममा स्थानीय विषयवस्तुलाई स्थान दिएर स्थानीय पाठ्यक्रम तयार गरिएको छ । स्थानीय तहका लागि उपयोगी पेशा, व्यवसाय, सीप र प्राविधिक विषयहरू जस्तो माटोको काम, धातु, काठ, करेसाबारी, फलफूल, तरकारी खेती आदि स्थानीय विषय छनौट गरी पुस्तक तयार गरिएको हो ।
थारू भाषा पाठ्यक्रमको प्रभावकारिता खोज्दै
घोराही उपमहानगरपालिकामा स्थानीय पाठ्यक्रम लागू भइसकेको छ । नगरले विषेश गरेर थारू भाषामा स्थानीय पाठ्यक्रम बनाएको छ । तर नगरका सबै विद्यालयमा यो पाठ्यपुस्तक लागू छैन् । थारू समुदायको बाहुल्यता रहेको ठाउँका विद्यालयमा मात्रै थारू भाषामा तयार पारिएको पाठ्यपुस्तक तयार पारिएको छ । थारू समुदायबाहेक अन्य समुदायमा पाठ्यपुस्तक लागू गर्न सम्भव पनि छैन् । घोराहीमा कक्षा १ देखि ३ सम्ममा थारू भाषाको पाठ्यपुस्तक लागू भएको छ ।
थारू समुदायमा रहेका भाषा, कला, संस्कृतिलगायतका विषयमा थारू भाषाको पाठ्यपुस्तक तयार गरिएको छ । त्यो सबै विद्यालयमा लागू भएको छैन् । थारू समुदायको बाहुल्यता भएको विद्यालयमा थारू भाषाको पाठ्यक्रम लागू भएको छ । यसको प्रभावकारिता कति छ भन्ने हामीले अझै मूल्यांकन गरिसकेका छैनौँ । अहिले विद्यालय बन्द छन् । साउन २१ गतेदेखि विद्यालय खुलेपछि हामीले थारू भाषामा तयार पारिएको पाठ्यपुस्तको प्रभावकारिताको खोजी गछौँ । थारू समुदायको बाहुल्यता नभएको विद्यालयमा अरू नेपाली भाषाको पाठ्यपुस्तक लागू भएको छ ।
घोराहीमा भूगोल, भाषाभाषी र परिवेश अनुसार सबै ठाउँमा एकै किसिमको विषयवस्तु लागू नहुन सक्छ । त्यसकारण नगरका १९ वटै वडामा रहेका विद्यालयमा लागू गर्ने गरी एउटै पाठ्यपुस्तक हामीले निर्माण गरेका छैनौँ । जस्तै सैघामा थारू भाषाको पाठ्यपुस्तक लागू हुुने कुरा भएन् । थारू समुदायको बसोबास नै नभएका ठाउँका विद्यालयमा थारू भाषाको स्थानीय पाठ्यक्रमय लागू हुने कुरा भएन् । नेपाली भाषाको पाठ्यक्रम थारू समुदायको बाहुल्यता भएको ठाउँमा लागू हुने कुरा भएन् ।
घोराहीले तयार गरेको थारू भाषाको स्थानीय पाठ्यक्रममा विषेशगरी थारू भाषाको उत्पति र विकास, थारू समुदायको रहनसहन र संस्कृति, थारू समुदायको अवस्था र चिनारी लगायतका विषय समेटेका छौँ । यसले थारू भाषा र थारू समुदायको संस्कृति संरक्षणमा ठूलो टेवा पुग्नेछ । पछिल्लो समय थारू समुदाय पनि नेपाली भाषा बोलिरहेको अवस्थामा थारू भाषा र संस्कृति हराउने अवस्थामा पुगेकाले पनि घोराही उपमहानगरपालिकाले थारू भाषाको स्थानीय पाठ्यक्रम तयार पारेको हो ।
अन्य समुदायका बालबालिकाले पनि अध्ययन गर्ने स्थानीय पाठ्यक्रम अहिले नगरले तयार पारेको छ । थारू समुदायको भाषा, कला जोगाउने गरी तयार पारिएको पाठ्यक्रम कार्यान्वयनको सन्दर्भमा पढाउने शिक्षकको पनि व्यवस्थापन गरिएको छ । नगरमा अहिले ९६ सामुदायिक र ७८ संस्थागत विद्यालय रहेका छन् । ति मध्ये केही विद्यालयमा थारू भाषाको पाठ्यक्रम लागू भएको छ । थारू समुदायको बाहुल्यता भएको ठाउँका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ । यो सन्दर्भमा अहिले कति विद्यालयमा थारू भाषाको पाठ्यपुस्तक लागू भएको छ अहिले यसै भन्न सकिएन् । अब कार्यान्वयन आइसकेकाले सिकाइ उपलब्धि कति हुने भन्ने खोजी गर्न बाँकी छ ।
विद्यालयमा स्थानीय पाठ्यक्रम लागू
कपुरकोट गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरिसकेको छ । यसवर्ष नै हामीहरूले पाठ्यक्रम निर्माण गरेर लागू गरेका हौँ । स्थानीय पाठ्यक्रम भनेको नै राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय भाषा, कला, संस्कृति, व्यवसाय, भूगोल, इतिहासलाई समेटेको किताब हो । त्यसै अवस्थामा कपुरकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो कपुरकोट’ तयार पारेको छ । स्थानीय विज्ञहरूले पाठ्यपुस्तक तयार पारेका हुन् ।
गतवर्षमा नै बजेट विनियोजन गरेर स्थानीय पाठ्यक्रम बनाउने प्रक्रिया अघि बढाएका थियौँ । स्थानीय नागरिकले अपनत्व हुने गरी पाठ्यक्रम निर्माणका लागि गाउँपालिका अध्यक्ष दुर्गा पुनको संयोजकत्वमा समिति बनेको थियो । कपुरकोट गाउँपालिकाले अहिले नेपाली भाषामै स्थानीय पाठ्यक्रम तयार गरेको छ । गाउँपालिकाभित्र रहेका ४ संस्थागत र २४ सामुदायिक विद्यालयमा लागू पाठ्यक्रम लागू भइसकेको छ । गाउँपालिकाका छवटै वडामा विभिन्न जातजातिको बसोबास छ । एउटा कुनै जातिको बाहुल्यता नभएको कारणले पनि नेपाली भाषाकै स्थानीय पाठ्यक्रम तयार गरेका छौँ ।
नेपाली भाषाको पाठ्यक्रम सबै विद्यालयमा लागू भएको छ । स्थानीय पाठ्यक्रम चालु शैक्षिक सत्रबाट विद्यालयमा लागू भइसकेको छ । पाठ्यपुस्तकमा स्थानीय तहका लागि उपयोगी पेसा, व्यवसाय, सीप र प्राविधिक विषयहरू जस्तैः माटोको काम, धातु, काठ, करेसाबारी, फलफूल, तरकारी खेती आदि समेटिएका छन् । स्थानीय आवश्यकताका विषेशगरी स्थानीय नागरिकको अपनत्व हुने गरी स्थानीय ज्ञान, सीप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार गरिएको हो ।
हामीले बनाएको स्थानीय पाठ्यपुस्तक केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु समेटिएका छन् । जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम् ज्ञान र सीपको मार्गदर्शन पहिल्याउन सहयोग पुग्नेछ । स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न स्थानीय पाठ्यक्रम महत्वपूर्ण भूमिका खेल्ने छ । यसलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रूपमा पनि लिन सकिन्छ ।
कपुरकोट गाउँपालिकाभित्रको रितिरिवाज, धर्म संस्कृति, पर्यटकीय स्थल, भौगोलिक संरचनालगायतका विषय स्थानीय पाठ्यक्रममा समेटिएका छन् । मानव सभ्यता र विकासका लागि स्थानीय तहबाट नै जागरूकता आउनु पर्छ । त्यस कारणले पनि स्थानीय पाठ्यक्रम गरिएको हो । स्थानीय पाठ्यक्रमको माध्यमबाट आधारभूत तहमा अध्ययनरत बालबालिकाहरूले औपचारिक रूपमा आफ्नो गाउँबस्ती, समाजको वस्तुनिष्ठ ज्ञान प्राप्त गर्नेछन् । पाठ्यक्रम कपुरकोट गाउँपालिकामा प्रचलित भाषा संस्कृति ऐतिहासिक र धार्मिक महत्वका स्थलहरू, प्राकृतिक सम्पदा तथा यसको संरक्षण एवं सम्वर्धन हुनेछ । स्थानीय पाठ्क्रमको प्रमुख उद्देश्य राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विशेषतालाई समेट्नु र उजागर गर्नु हो ।
दशैँपछि लागू गर्ने तयारी
हामीले गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेका छौँ । गतवर्ष फागुनदेखि नै स्थानीय पाठ्यपुस्तक बनाउन सुरू गरेका थियौँ । सबै तयार भइसकेको छ । अब कार्यपालिकाले पास गर्न बाँकी छ । कार्यपालिकाबाट पास भएपछि पाठ्यपुस्तक छपाइमा जाने छौँ । छपाइ गर्दा दशैँसम्म पुस्तक तयार हुन्छ । त्यसपछि यसै शैक्षिक सत्रमा लागू गर्ने तयारी छ । अब विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्नका लागि आवश्यक पाठ्यपुस्तक तयार गर्ने काम अबदेखि हुनेछ । सकेसम्म यहि शैक्षिक शत्र दशैँपछि लागू गर्ने गरी अहिले यसवर्ष पाठ्यपुस्तक छाप्ने काम गर्ने तयारीमा छौँ ।
चालुवर्ष सुरू भएको धेरै दिन पनि भएको छ । अब बजेट चलाउन मिल्ने अवस्था आयो भने स्थानीय पाठ्यपुस्तक बनाउने कामको प्रक्रिया पनि शुरूवात हुनेछ । दंगीशरण गाउँपालिकामा लागू हुने स्थानीय पाठ्यक्रम नेपाली भाषाको मात्रै हुनेछ । कक्षा १ देखि ८ सम्म पाठ्यपुस्तक पढाइ हुनेछ । दंगीशरण गाउँपालिकामा थारूसँगै अन्य भाषाका नागरिकको बसोबास छ । तर हामीले समग्ररूपमा नेपाली भाषाको पाठ्यपुस्तक तयार बनाउने तयारी छ ।
नेपाली भाषाको स्थानीय पाठ्यपुस्तकमा दंगीशरण गाउँपालिकाभित्र बसोबास गर्ने जातजाति, भाषाभाषी, रहनसहन, भाषा, कला, संस्कृति, गाउँपालिकाभित्रको प्रमुख पर्यटकीयस्थलको चिनारी, ऐतिहासिक महत्व बोकेका कुराहरूको जानकारीलगायतका कुरा समेटेका छौँ । गाउँपालिकाभित्र रहेका १५ सामुदायिक र ८ संस्थागत सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने कुरा म यहाँलाई जानकारी गराउँदछु ।
पाठ्यपुस्तक निर्माणका लागि हामी सरोकारवालाको सुझाव लिएका थियौँ । स्थानीय विज्ञका लागि सार्वजनिक सूचना जारी गरेका थियौँ । पाठ्यपुस्तकमा कस्ता कुरा समेट्दा प्रभावकारी हुन्छ भन्नेमा आम सरोकारवालाले दिएको सुझाव पाठ्यक्रमका रूपमा रहेको छ । हामीले सरोकारवालाबाट आएका सल्लाह, सुझाव विज्ञहरूसँग छलफल गरेर पाठ्यक्रम तयार गरेका हुौँ । स्थानीय पाठ्यक्रम भनेको नै राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका कुरालाई समेट्ने हो । त्यसका लागि दंगीशरण गाउँपालिकाभित्रका ऐतिहासिक महत्व बोकका विभिन्न ठाउँको चिनारी, पर्यटकीयस्थलको परिचय, गाउँपालिकाको चिनारी झल्कने कुरा नै प्राथमिकताका विषय हुन् ।
स्थानीय परिवेशअनुसार कृषि, पंक्षी तथा पशुपालन, पर्यटन, जडिबुटी, व्यापार, आयआर्जनका क्षेत्रहरू, भूगोल, इतिहास, पुरातत्व, धर्म, जातजाति, भाषाभाषी, सामाजिक संघसंस्था, शासन व्यवस्था, प्रकृति र वातावरण संरक्षण, सूचना तथा सञ्चार प्रविधि, खेलकुद, कला, संगीत, स्थानीय प्रविधि विषयलाई समेटेर पुस्तक तयार पारिने छ ।
यस्तै स्थानीय परिवेश अनुसार सञ्चालन भएका चाडपर्व, धर्म संस्कृति, जातजाति, रितिरिवाज आदि कुरालाई समेटेका छौँ । सम्भवतः दशैँपछि वा मंसिरदेखि स्थानीय पाठ्यक्रम लागू हुनेछ । यसका लागि अब पाठ्यपुस्तक छपाइको काम तिब्र गतिमा अगाडि बढाउने छौँ । हामी पुस्तक निर्माणका लागि लगभग यहि साउन या भदौबाट प्रक्रिया सुरू गर्नेछौँ ।