Friday, April 26, 2024
Homebreaking-newsकपुरकोटको एकवर्षे उपलब्धि, बालविवाह न्यूनीकरणदेखि उज्यालो पालिका अभियान

कपुरकोटको एकवर्षे उपलब्धि, बालविवाह न्यूनीकरणदेखि उज्यालो पालिका अभियान

- Advertisement -spot_img
जीतसागर जी.एम.
सल्यान, ९ जेठ । 
सल्यानको कपुरकोट गाउँपालिकाले एकवर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गरेको छ । गाउँपालिकामा दोस्रो कार्यकालका लागि गतवर्ष बैशाखमा निर्वाचित जनप्रतिनिधिले एकवर्षको अवधिमा गरेका मूख्य उपलब्धि सार्वजनिक गरिएको हो ।
गाउँपालिकाले मूख्य उपलब्धिमा अध्यारोमुक्त पालिकाका लागि विद्युतीकरणको योजनादेखि बालविवाह न्यूनीकरणलाई उपलब्धिको रूपमा लिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताए । गाउँपालिकाका छवटै वडामा विद्युत नपुगेका बस्तीमा करिब दुई वर्षभित्र विद्युत विस्तार गर्ने योजनाअनुरूप काम अघि बढेको उनले बताए ।
गाउँपालिकामा विद्युतीकरणका लागि चालुवर्षमा नेपाल विद्युत प्राधिकरणसँग सात करोड बराबरको विद्युतीकरण कार्यक्रम सम्झौता गरेको गाउँपालिका अध्यक्ष पुनले बताए । ‘विद्युत नपुगेका बस्तीमा विद्युतीकरण गर्नका लागि चालु वर्षमा करिब सात करोड बराबरको विद्युतीकरणको लागि सम्झौता गरेका छौँ’ उनले भने– ‘निर्वाचनका समयमा गरेका प्रतिवद्धताअनुरूप पाँच वर्षभित्र परिवर्तन ल्याउने गरी काम गरिरहेका छौँ ।’
सोमबार एकवर्षे उपलब्धि सार्वजनिक गर्दै अध्यक्ष पुनले कपुरकोट गाउँपालिकालाई पाँच वर्षभित्रमा समृद्ध बनाउनका लागि बालविवाह न्यूनीकरणको अभियानदेखि कपुरकोटको तरकारीलाई ब्राण्डिङ गर्ने योजनालाई अघि सारिएको बताए ।
‘हामीले एकवर्षमा बालविवाह न्यूनीकरणका लागि विवाह गर्दा वडाको सिफारिस अनिवार्य व्यवस्था गरेका छौँ’ उनले भने– ‘विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेपछि सानै उमेरमा हुने विवाह कम भएको छ ।’ विवाह गर्दा वडाको सिफारिस लिनुपर्ने व्यवस्था गर्ने कपुरकोट गाउँपालिका पहिलो पालिका बनेको अध्यक्ष पुनले बताए ।
यस्तै कपुरकोटको तरकारीलाई हरेक भान्सामा लैजानका लागि १२ बुँदे घोषणापत्र जारी गरिएको छ । गतवर्ष बैशाख ३० गते निर्वाचनपछि आएका जनप्रतिनिधिले जेठ ६ गते पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेको एकवर्षपछि मूख्य उपलब्धि सार्वजनिक गरिएको अध्यक्ष पुनले बताए ।
‘हामीहरूले पदभार ग्रहण गरेको जेठ ६ गते एकवर्ष पूरा भएको छ’ उनले भने– ‘मलाई लाग्छ, एकवर्षमा हामीले पाँच वर्षको गन्तव्य तय गर्न सफल भएका छौँ ।’ एकवर्षको अवधिमा शिक्षा, स्वास्थ्य, आर्थिक विकास, खानेपानी, सिचाइँ, सडकलगायतलाई प्राथमिकतामा राखेर काम गरेको अध्यक्ष पुनले बताए ।
एकवर्षे मूख्य उपलब्धिमा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाबाट सार्वजनिक बिदाका दिनमा पनि उपचार पाउने व्यवस्था गरेको, कपुरकोट–कोइला सडकको सुधार र टिप्पर व्यवस्थापनका लागि आठबुँदे समझदारीपत्र तयार गरी कार्यान्वयन गरेको, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै पुगेर नियमित स्वास्थ्य परिक्षण गर्ने गरेको र सामान्य औषधिको व्यवस्था गरेको, सुत्केरी हुने आमालाई सहजताका लागि सबै वडामा वर्थिङ सेन्टरको व्यवस्था गरेको, पालिकाभित्र निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको अध्यक्ष पुनले बताए ।
यस्तै कम्तिमा चार महिनामा एक स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत आँखा शिविर, अपाङ्ग शिविर, पाठेघरको स्क्रिनिङ शिविर सञ्चालन गरेको, वडामा टोल विकास गठन गरी सबै नागरिकलाई टोल मातहतमा ल्याएर साझेदारी विकासको मोडल अगाडि बढेको, एकीकृत योजनाको अवधारणलाई साकार पार्न टुक्रेयोजना ५० प्रतिशत कम गरेको, योजना सम्झौता र बैंकिङ खाता सञ्चालन वडाबाटै हुने गरेको, भुक्तानी प्रक्रियामा सबै पक्षलाई जिम्मेवार बनाउन योजना सम्पन्न भएपश्चात् भुक्तानी हुनुपूर्व सात दिनभित्र दावी विरोधका लागि सार्वजनिक सूचना जारी गर्ने गरिएको उनले बताए ।
राजस्व र योजना व्यवस्थापन अनलाईनबाट सुरू गरिएकोलाई मूख्य उपलब्धिको रूपमा लिइएको छ । यस्तै कर्मचारी पदपूर्ति गर्दा योग्यता र क्षमताको आधारमा प्रतिस्पर्धा गर्नसक्ने वातवरण सिर्जना गरी लोकसेवा र शिक्षक सेवा आयोगको परीक्षा प्रणाली लागू गरी स्वच्छ र निष्पक्षरूपमा कर्मचारी छनोट गर्ने गरेको, गाउँ प्रहरी ऐन जारी गरी प्रहरी सेवा गठन गरी सुरक्षा, विपद् व्यवस्थापन र राजस्व संकलनमा परिचालन गरिएको उपलब्धिका रूपमा सार्वजनिक गरिएको छ ।
त्यस्तै शैक्षिक सुधारका लागि पञ्चवर्षिय गाउँ शिक्षा योजना र शैक्षिक पाश्र्वचित्र योजना निर्माण गरिएको, कक्षा १ देखि ८ सम्म हाम्रो कपु्रकोट नामक स्थानीय पाठ्यक्रम लागू गरिएको, हरेक योजनामा मर्मत सम्भार कोषको लागि बजेट विनियोजन गरी निर्माण सम्पन्न भएका योजनाको टोल विकास संस्थालाई हस्तान्तरण गर्ने योजनाको सुरूवात भएको, लेखा प्रणालीलाई व्यवस्थित गर्न र बेरूजुलाई कमी गर्न विद्यालयस्तरसम्म आन्तरिक परिक्षण कार्यको शुभारम्भ भएको उपलब्धिका रूपमा सार्वजनिक गरिएको छ ।
पालिकाभित्र दक्ष जनशक्ति उत्पादन र प्रतिस्पर्धी जनशक्तिका लागि निशुल्क लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको, पशु चौपायामा देखिएको लम्फीस्कीन रोगको रोकथामका लागि अभियान सञ्चालन गरेको, कृषि उत्पादनको बजारीकरण र किसानको हौसलाका लागि पालिकास्तरिय १२ र वडाबाट ४२ जनालाई सम्मान गरिएको उपलब्धिका रूपमा सार्वजनिक गरिएको छ ।
  गाउँपालिकाको पाँच वर्षे आवधिक योजनाको निर्माण र मध्यावधि खर्च संरचना निर्माण अन्तिम चरणमा रहेको, सुरक्षित मातृत्वका लागि प्रत्येक महिना गर्भवती सचेतना कार्यक्रम र मोबाईल स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको, गाउँपालिकामा चालु आर्थिक वर्षमा १८ वटा नयाँ ऐन÷कानुन तयार गरी कार्यान्वयनमा आएको, पूर्वाधारका योजना चालुवर्षमा ८२ दशमलव २० प्रतिशत काम भएको उपलब्धिको रूपमा सार्वजनिक गरिएको छ ।
यस्तै ११८ वटा सम्झौता भएको, ९७ वटा सम्पन्न भएको र २१ वटा सम्पन्न हुने चरणमा रहेको अध्यक्ष पुनले जानकारी दिए । यस्तै सलाम पहिरो विपद्लाई तत्काल उद्धार गरी राहत वितरण गरेको, असहायका लागि गाउँपालिकाको सहारा कार्यक्रमअन्तर्गत १ लाख ४० हजार सहयोग गरेको उनले उपलब्धिको रूपमा रहेको बताए ।
गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रकाश भण्डारीले न्यायिक समिति परेका मुद्दालाई दुवै पक्षलाई जितको महसुस हुने गरी जतिसक्दो छिटो टुङ्ग्याउने गरेको बताए । ‘न्यायिक समितिको क्षेत्राअधिकारभित्र पर्ने बाहेकका मुद्दा पनि आउँछन्, तर हामीलाई त्यस्ता मुद्दा हेर्ने अधिकार नभएकाले सम्बन्धित निकायको बारेमा जानकारी गराई पठाउने गरेका छौँ ।’ उनले भने– ‘नागरिकको चाहना अनुसार न्यायिक समितिबाट कार्यसम्पादन हुने गरेको छ ।’
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले गाउँपालिकाको कार्यालयबाट योजना सम्झौता गरिरहेको भएता पनि जनप्रतिनिधिको चाहना र नागरिकको सुविधाका लागि गाउँपालिकाले पहिलोपटक वडास्तरमै गएर योजना सम्झौता गरिएको बताए । उनले वडास्तरबाटै योजना सम्झौता हुन थालेपछि नागरिकलाई गाउँपालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here