Friday, April 26, 2024
Homebreaking-newsधरमलालको सारथी सारंगी

धरमलालको सारथी सारंगी

- Advertisement -spot_img


जीतसागर जी.एम.
दाङ, २७ फागुन ।
शिरैमा ढाका टोपी, चाउरी परेको छाला, अनि सेतै फुलेका दाह्री र कपाल । उमेरले ७४ नाघिसकेका धरमलाल गन्धर्वको जीवनको भरपर्दाे सारथी हो सारंगी । छाक जुटाउन, जीवन चलाउन मात्रै हैन मनका बह सुनाउन पनि उनको सारथी सारंगी बनिरहेको छ । जीविकोपार्जनका लागि सारंगी रेट्ने उनको दैनिकी जस्तै बनेको छ ।

करिब—करिब १३ वर्षको उमेरदेखि सारंगी बजाउँदै घरदैलोमा टुप्लुक्क पुग्ने गरेका धरमलाल जीवनको उत्तरार्धमा पनि सारंगी बजाउन छोडेका छैनन् । गाउँदेखि सहरसम्म सारंगीका धुनमा भाखा मिसाउँदै धरमलालले दैनिकी गुजरा चलाएका छन् । ‘सानैदेखि सारंगीले पालेको छ, अब अहिले पनि बुढेसकालको सहारा बनेको छ, सारंगी’ उनले भने– ‘पहिलेको जस्तो सारंगीको धुन सुन्न छोडेपनि मैले सारंगी बजाउन छोडेको ‘चाँइ’ छैन् ।’

कुनै समय थियो, सारंगीको धुन सुन्ने बित्तिकै धेरैजनाको भिड हुन्थ्यो । तर पछिल्लो समय त्यो अवस्था छैन, बढ्दो प्रविधिको विकासले सारंगी बजाउने पेशा सहज नभएको उनको भनाइ छ । ‘मोबाईल र रेडियोबाट गीत सुन्न थालेपछि हामी गन्धर्व समुदायको पेशा पनि संकटमा परेको छ ।’

उनले भने– ‘दिनमा ५/७ सय कमाउँछु, यो पनि पछिल्लो समय निकै कम भएको छ ।’ शान्तिनगरका ७४ वर्षिय धरमलाललाई पछिल्लो समय जीवन चलाउन सारंगीको धुन मात्रैले पुग्दैन् । सारंगी बजाउँदा भएको आम्दानीले नपुगेपछि उनले दैनिक ज्याला मजदुरीसमेत गरिरहेका छन् । तर पनि धरमलालको सारंगी पर्यावाची हो ।

सारंगीकै धुनबाटै जीवनका धेरै गोरेटाहरू पार गरेका उनलाई अझै पनि सारंगी सुखदुःखको साथीमात्रै होइन्, जीवन चलाउने एउटा आधार बनेको छ । सारंगी बजाउन नयाँ पुस्ताले वास्ता नगरेपनि आफूले पुरानै पेशालाई निरन्तरता दिएको उनले बताए । ‘छोराछोरीले सारंगी बजाउँदैनन्, मैले मात्रै अहिले सारंगी बजाएर गुजारा चलाएको छु’ उनले भने– ‘बिगतका वर्षमा जस्तो कमाई नभए पनि सारंगी बजाउने कामलाई छोडेको छैन् ।’

सारंगी धुन मन पराउनेहरू भएपनि गन्धर्व समुदायप्रति हेरिने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको उनले गुनासो गरे । ‘सारंगीको धुन मन नपराउने सायदै नहोलान्, तर सारंगी बजाउँदै घरघरमा जाँदा धेरै अपमान खेप्नु परेको छ’ उनले भने– ‘सरकारले पनि सारंगी बजाउनेका लागि केही पनि प्रोत्साहनका कार्यक्रम ल्याएको छैन्, यसकारण पनि सारंगी बजाउन नयाँ पुस्ताले चासो दिने गरेका छैनन् ।’

नयाँ पुस्ताले सारंगी बजाउन चासो नदिँदा कुनै समयपछि सारंगी बजाउने भेट्न पनि नसकिने उनले बताए । ‘सारंगी बजाउन नयाँ पुस्ताको चासो छैन्, हामीले कतिन्जेलसम्म बजाउन सकौँला र’ उनले भने– ‘सरकारले सारंगी बजाउने तालिम दिन सकेपछि नयाँ पुस्तामा पनि चासो जान्थ्यो कि ।’

धरमलालले सारंगी बजाएर श्रीमान्, श्रीमती पालिएको उनले बताए । ‘अहिलेसम्म हामी दुईजना मैले सारंगी बजाएर पालिएका छौँ’ उनले भने– ‘अब त बुढेसकालले छोयो, घरघरमा बजाउँदै हिड्न पनि निकै समस्या हुने गरेको छ ।’ विषेश पर्वका अवसरमा बढीजसो सारंगी बजाउने गरेको उनले बताए । ‘मेला, पर्वका अवसरमा सारंगी बजाउने माग बढी हुन्छ’ उनले भने– ‘अन्य समयमा भनेजस्तो आम्दानी हुँदैन् ।

पछिल्लो समय दाङका गन्धर्व समुदायले बजाउँदै आएको सारंगी बचाउने पेशा संकटमा परेको छ । सारंगी नयाँ पुस्तामा हस्तान्तर नहुँदा पेशा नै संकटमा रहेको उनीहरूको भनाइ छ । समुदायले भने लोप हुने क्रममा रहेको सारंगीको संरक्षण र प्रवद्र्धनका लागि सरोकारवालाहरूले चासो लिनुपर्ने बताउँदै आएका छन् । उनीहरूले पुस्तान्तरण भएर युवाहरूले सारंगी बचाउने पेशा आत्मासात् गर्नसके यसको संरक्षण हुने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here