Friday, April 26, 2024
Homeटुडे राउन्ड टेबलजनतासँगै छौं, बाचा पूरा गर्छौ

जनतासँगै छौं, बाचा पूरा गर्छौ

- Advertisement -spot_img

स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएको छ । नयाँ जनप्रतिनिधि छनौटको लागि यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्रहरुले उम्मेदवारीसमेत मनोनयन गरिसकेका छन् । मत परिणाम आफ्नो पक्षमा पार्नका लागि उम्मेदवार बनेकाहरु विभिन्न एजेन्डालाई अघि सारेका छन् । जनप्रतिनिधिको आकांक्षा गरेर उम्मेदवार बनेकाहरुलाई प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेवलमा ल्याएका छौं । – सम्पादक

अधुरा काम निरन्तरता


पाँच वर्षे कार्यकाल सकिनै लाग्दा मैले धेरै अपूरा काम पूरा गर्नुपर्ने जिम्मेवारी थियो । यद्यपि मेरो दोहोरिने चाहना थिएन । तर मलाई आम मतदाता र सम्पूर्ण वडाबासीको चाहनाले धेरैपटक तपाई नै दोहोरिनु पर्छ भन्ने सुझाव आइसकेपछि यस अवस्थामा मैले पार्टीमा फेरि दोहोरिने चाहनाको आशय व्यक्त गरेको थिए । अनि पार्टीले पनि मलाई विश्वास गरेर टिकट दिएपछि अहिले वडा नम्बर २ को अध्यक्ष पदमा उमेदवारी दिएको हुँ ।

वडामा अहिलेसम्म जनप्रतिनिधि भएर नागरिकको सेवा गर्दै गर्दा बाँकी रहेका योजना पूरा गर्न र थप नयाँ कामको थालनी गर्नका लागि मेरो उम्मेदवारी हो । गत स्थानीय तहको निर्वाचनजस्तै अब अहिलेको निर्वाचनमा पनि मलाई मतदाताले विश्वास गर्नुहुन्छ भन्ने विश्वासमा छु । किनकी अहिले म दोहोरिन चाहेको पनि मतदाताकै माया र विश्वासले हो । पाँच वर्ष कार्यकालमा थुप्रै चुनौती थिए, तर ति चुनौतीलाई अवसरको रूपमा लिएर काम गरेर अघि बढे र त अहिले फेरि दोहोरिनका लागि फरि आएको छु ।

मलाई मतदाताले वडाको जिम्मेवारी दिनुभयो भने मैले वडामा अधुरा रहेका योजनालाई पूरा गर्दै नयाँ योजना कार्यान्वयन गर्नेछु । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधारको विकास अझै पूरा गर्न बाँकी छ । यसअघि पाँच वर्षको दौडानमा मैले अत्यन्त इमानदारीपूर्वक भन्नुपर्दा सहजरूपमा काम गर्ने अवसर प्राप्त गरेँ । यसमा म एक्लैले गरेर सबै काम सम्पन्न भएको होइन्, सबैको साथ र सहयोगले नै म सफल भएको हुँ ।

अहिले पनि मलाई सबै नागरिकको साथ सहयोग निकै आवश्यक छ । वडाका नागरिकलाई समृद्ध बनाउनका लागि आगामी दिनमा थप योजना ल्याएको छु । मलाई वडाको जिम्मेवारी सम्हाल्ने फेरि पनि अवसर प्राप्त हुनेमा विश्वस्त छु । नागरिकको मत मेरो पक्षमा आउन सक्यो भने फेरि पनि मैले नागरिकले परिवर्तनको अनुभूत हुने गरी काम गर्नेछु ।
विषेशगरी प्रत्येक टोलमा पुगी बालबालिकालाई नैतिक संस्कारयुक्त मोटिभेसनसहितको प्रशिक्षण कार्यक्रम नियमित सञ्चालन गर्नेछु ।

सबै टोलमा डस्टबिन र वडाको आफ्नै रिक्सा बनाएर फोहोर संकलन गर्नेछु । वडामा नागरिक सहायता कक्ष तथा मिनि पुस्तकालय गरिने छ भने वडामा सिफारिस गर्न जाँदा फोटोकपी गर्ने झन्झटबाट मुक्त गर्नका लागि सबै वडाबासीको डिजिटल प्रोफाइल बनाई कार्य गरिने छ । वडालाई पेपरलेस बनाउन मेरो योजना छ । सबै टोलका सबै बस्तीमा पोलबत्तीको व्यवस्थादेखि व्यावसायिक किसानलाई बीउमा अनुदान दिनेदेखि कृषि उत्पादनको बजारीकरणमा मेरो विषेश जोड रहनेछ ।

अहिले बाँकी रहेका कुलोहरू पक्की गरी हिउँदमा समेत सिचाइँका लागि आवश्यक ठाउँमा बोरिङको व्यवस्था गरिने छ । स्तरीय सडक, घर–घरमा खानेपानीको सहज व्यवस्थापन, उज्यालोका लागि विद्युत, खेलका लागि आवश्यक खेल मैदानको व्यवस्थापन गर्नेछु । यसैगरी आर्थिक अभावका कारण विद्यालय जान नसक्ने गरिब तथा दलित बालबालिकालाई नियमित सहयोग गरिनेछ र वडाका सबै मठ–मन्दिर, गुम्बा, चर्च, मस्जिदलगायतका धार्मिक स्थलहरूलाई व्यवस्थित बनाइने छ ।

वडामा ठूला विकासका कार्यहरू सम्भव वडाको बजेट अपर्याप्त हुन्छ । त्यस कारणले नगर, प्रदेश र संघीय बजेटका लागि निरन्तर भेटघाट डेलिगेसन र दवाव र अनुरोध गरी बजेट ल्याई बृहत्तर विकासमा जोड दिइनेछ । सबै मुख्य बाटाहरू नालासहित कालोपत्र, सबै सहायक बाटाहरू ग्रावेलिङ र रोलिङ तथा विद्युत खानेपानीको दिगो विकास गर्ने योजना बनाएको छु । वडामा सकेसम्म पेपरको प्रयोग नगर्ने गरी डिजिटल सेवा प्रदान गर्ने मुख्य योजना छ । मैले वडामा आउने बजेटले मात्र विकास हुँदैन्, त्यसका लागि प्रदेश र केन्द्र सरकारसँग आवश्यक समन्वय गरेर वडालाई सुविधासम्पन्न बनाउनका लागि म विषेश पहल गर्नेछु ।

सुन्दर र समृद्ध वडा निर्माण


पाँच वर्षको अवधिमा पूरा हुन नसकेका कामको पूरा गर्न र थप नयाँ योजनालाई कार्यान्वयन गर्नका लागि मेरो तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ५ मा फेरि पनि दोहोरिने आकांक्षा राखेको हुँ । वडा नम्बर ५ मा अहिलेसम्म भए गरेका कामको मूल्यांकन गरी आम वडाबासीको चाहनास्वरूप मैले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएको छु । मत मेरो पक्षमा आउँछ भन्नेमा म विश्वस्त छु । नागरिकको बलियो माया पाएको छु, यो अटुट विश्वासलाई कहिल्यै टुट्न नदिने गरि अघि बढिरहेको छ ।

चुनावी गतिविधि केही दिनयता मात्रै बढेको छ, चुनावी प्रचारप्रसार तिब्र बन्दै गर्दा आम मतदाताले दिनुभएको विश्वासले झनै हौसला थपेको छ । तुलसीपुर उपमहानगर–पालिकाका १९ वटा वडामध्ये वडा नम्बर ५ सहरी क्षेत्र हो । वडा नम्बर ५ मा आर्थिक विकासका आधार थुप्रै छन् भने बढ्दो सहरीकरण चुनौतीको विषय पनि हो तर म जनप्रतिनिधिको रूपमा आइसकेपछि हामीले चुनौतीभन्दा पनि अवसरलाई छोपेर अघि बढेका छौँ ।

वडाका सबै बस्तीमा बस्ने नागरिकलाई सम्पन्नशाली बनाउनका लागि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिजुलीलगायतलाई तिब्ररूपमा विकास गर्नुपर्ने आवश्यकता त छदैँछ, यो किसिमको विकास अरू जनप्रतिनिधि आएपनि गर्नुहुन्छ होला तर नगरलाई सफा, सुन्दर बनाउनेदेखि नागरिकलाई आत्मनिर्भर बनाउने मुख्य कुरा देखेको छु । भौतिक विकाससँगै मानवीय विकासमा पनि म प्रतिवद्ध छु । म धेरै भाषण गरेर नागरिकलाई भ्रमित पार्ने र मत परिणाम आफ्नो पक्षमा पार्ने मान्छे होइन् । कुराभन्दा कामलाई बढी विश्वास गरेर हरेक नागरिकका समस्यालाई समाधान गर्ने मेरो प्राथमिकताको विषय हो ।

विषेशगरी वडामा भएका स्रोत साधनको अधिकतम प्रयोग गरी वडालाई आर्थिक विकासको मार्गमा लैजाने मेरो प्रतिवद्धता रहेको छ । श्रम गरेर खाने निम्नवर्गका नागरिकलाई जीवनस्तर उठाउनका लागि म गम्भीर भएर लाग्नेछु । ज्येष्ठ नागरिक भत्ता र एकल महिला भत्ता वितरणमा वडास्तरबाटै पहल गरी सहजता ल्याइने छ । गुणस्तरीय शिक्षाका लागि वडामा भएका सरकारी विद्यालयमा भौतिक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापनमा ध्यान दिनेछु । विशेषगरी निम्न आए भएका तर जेहेन्दार छात्रछात्रालाई निःशुल्क शिक्षाका लागि मेरो विषेश पहल रहनेछ । स्वास्थ्यको क्षेत्रमा पनि मेरो ध्यान पुग्ने छ ।

वडामा बसोबास गर्ने नागरिक दीर्घरोगीको समस्या देखिएमा वडाले निःशुल्क उपचारको लागि सहजता ल्याउनेछ । खानेपानीको सवालमा लालपुर्जा नभएका घरमा पनि खानेपानीको धारालाई प्राथमिकतासाथ जोड दिनेछु । वडाबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाउनका लागि डिजिटल सेवालाई प्राथमिकताका साथ जोड दिनेछु । नागरिक अर्थात् सेवाग्राहीलाई जतिसक्दो छिटो सेवा प्रदान भइरहेको छ । अझै यसलाई व्यवस्थित गर्नका लागि मेरो मुख्य काम हुनेछ ।

वडामा पाँच वर्षको कार्य अनुभवमा विषेशगरी समृद्ध वडाको रूपमा विकास गर्नका लागि वडामा भएका व्यापार, व्यवसायलाई सहज बनाउने, सबै किसिमको व्यवसायलाई करको दायरमा ल्याउने, करको सवालमा विषेशगरी करलाई रहरको रूपमा लैजानका लागि सरकारी कामकाजलाई सहज बनाउन वडा कार्यालयले सहजीकरण गर्नेछ । वडाको भौतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासबिना वडा समृद्ध हुन सक्दैन् । वडामा भौतिक विकासका लागि संघ तथा प्रदेश आवश्यक पहल गर्नेदेखि ठूला विकासे योजनाहरू ल्याउने काम भइरहेको छ ।

अब पनि त्यसलाई निरन्तरता दिनका लागि पनि म फेरि नेतृत्वमा आउन खोजिरहेको छु । पाँच वर्षमा नगरबाट हुनुपर्ने अपेक्षाकृत सहयोग भएन्, हामीलाई सौतेनी व्यवहार गरियो, नगर प्रमुखले आफू निकटका वडा अध्यक्ष भएको वडामा बढी बजेट व्यवस्थापन गर्ने तर नेपाली काँग्रेसको वडा अध्यक्ष भएको वडामा कम बजेट आउने परिपाटी आउने नगर प्रमुखले गर्नुहुँदैन् भन्ने पूर्ण विश्वासमा छु । मैले पनि विगतका कमीकमजोरीलाई सच्याउँदै थप नयाँ योजना कार्यान्वयन गर्ने सोचका साथ फेरि नेतृत्वमा आउन खोजेको छु ।

नागरिकले अनुभूत गर्ने गरी काम


तुलसीपुर–६ मा वडा अध्यक्षको नेतृत्व मेरोभन्दा पनि आम मतदाताको चाहना हो । गत चुनावमा थोरै मतान्तरले मात्रै म पराजित हुन पुगे । तर अहिले सबैको साथ र सहयोगको अपेक्षासहित वडा नम्बर ६ को नेतृत्वका लागि उम्मेदवारी दिएको छु । नागरिकका हरेक समस्यासँग नजिक छु । मैले वडा नम्बर ६ लाई समृद्ध र सुन्दर वडा बनाउनका लागि नेतृत्वमा आउन चाहेको छु । नागरिकको सबै किसिमका समस्या समाधानका लागि म निरन्तर लागिपर्ने हुँदा मतदाताको चाहनाअनुरूप पार्टीले पनि मलाई टिकट दिएको छ ।

मतदाता र भूगोलको हिसावले उपमहानगर–पालिकाकै ठूलो वडाको रूपमा रहेको वडा नम्बर ६ लाई सफा, सुन्दर र समृद्ध बनाउने मेरो चाहना छ । करिब आधाभन्दा बढी भाग बजार क्षेत्रमा पर्छ । त्यस कारण पनि वडामा हरेक वर्ष जनसंख्या थपिदै गएको छ । यस्तो अवस्थामा बसोबासलाई व्यवस्थित बनाउनु पर्नेदेखि खेतीयोग्य जमिनलाई भरपुर उपयोग गरेर कृषिबाट पनि उत्पादन बढाउन सकिन्छ ।

सम्भावनै सम्भावना रहेको वडा अहिलेका जनप्रतिनिधिले व्यवस्थित बसोबासदेखि कृषि उत्पादन हुने जग्गा छुट्याउन सकिरहेका छैनन् । बढ्दो सहरीकरण कृषि उत्पादन हुने जग्गामा मासिदै गएको छ । यस्तो अवस्थामा जनप्रतिनिधि भइसकेपछि विभिन्न विज्ञहरूसँगको सहकार्यमा वडालाई समृद्ध बनाउनका लागि विभिन्न योजना कार्यान्वयनमा ल्याइनेछ । म माथि नागरिक अर्थात् मतदाताको धेरै आशा अनि अपेक्षा छ । मैले उहाँहरूको आशालाई कहिल्यै मर्न दिने छैन् । वडामा आवश्यक भौतिक विकास सडकका पूर्वाधार, खानेपानी, विद्युतको विकासमा समानरूपले सबै टोलमा ध्यान दिने त छदैँछ ।

वडामा शिक्षा, स्वास्थ्य, खेल मैदान, कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा मेरो ध्यान पुग्ने छ । मैले ठूला–ठूला सपना बाँड्दैन्, सानै कुराको विकास गरे वडाका नागरिकले परिवर्तनको अनुभूति गर्नुहुन्छ भन्ने मलाई लाग्छ । ठूला विकासको आवश्यकता पनि उत्तिकै छ, तर सामान्य आधारभूत विकासविना ठूला विकासको अर्थ छैन् । जनप्रतिनिधिले भ्यूटावर बनाउनेदेखि स्वागत गेट बनाउने तर सडकमा ठूला–ठूला खाल्डाका बीचमा यात्रा गर्नुपर्ने बाध्यतालाई नबुझेकोजस्तो देखिन्छ । यस्ता समस्यालाई समाधान गरी अरू ठूला योजनाको निर्माण गर्नुपर्छ भन्ने मैले बुझेको छु ।

मतदातासँग भेटमा गरेका कुरालाई मैले नोट गरेर राखेको छु । यदि मेरो पक्षमा मत नतिजा आयो भने मैले जतिसक्दो धेरै समस्या समाधान गर्छु भन्ने विश्वासमा छु र मेरो पक्षमा मत परिणाम आउँछ भन्नेमा विश्वस्त छु । केन्द्रको नीतिअनुसार अहिले विषेशगरी ठूला दल नेपाली काँग्रेससहित माओवादी केन्द्र र नेकपा एस गठबन्धन गरेर जाँदा झनै एकताको सन्देश दिएको छ । यसले गर्दा मतदातामा पनि उत्साह थपिएको छ । लोकराज डाँगीलाई वडाको नेतृत्वमा देख्न चाहने मतदाता खुसी हुनुभएको छ । यसकारण पनि वडामा ममात्रै होइन्, गठबन्धनको टिम नै जित हुनेछ भन्नेमा विश्वस्त छु ।

वडामा चाहेअनुसार विकास


वडामा भइरहेको विकास निर्माणका कामलाई पूर्णता दिन र थप योजनासहित समृद्ध वडाको रूपमा विकास गर्नका लागि मेरो उम्मेदवारी हो । म यसअघि वडामा सदस्यको रूपमा रहेर काम गर्दा नागरिकका सुख दुःखसँग नजिक हुन पाएको छु । पाँच वर्षको समयावधिमा अधिकांस काम पूरा गर्ने कोसिस गरेँ । अब नेतृत्वमा आएर वडाको विकास थप गरेर वडा नम्बर ७ लाई नमुना वडाको रूपमा चिनाउने छु । म कानुनले अख्तियार गरेको सेवा सुविधाबाहेक अरू कुनै प्रकारको लाभ लिने छैन् ।

सुशासनयुक्त वडाको रूपमा विकास गर्नका लागि भ्रष्टाचार नियन्त्रणदेखि वडाको सेवालाई छिटोछरितो बनाउने छु । नागरिकको सुख दुःखमा हरबखत तयार रहने छु । म मतदाताहरूसँग भोट माग्न जाँदा, आफ्नो आचरण, प्रतिवद्धता, आर्थिक सुशासनको योजना, कार्यशैली र कार्ययोजनाको ठोस योजना लिएर गएको छु । घाँटी हेरी हाड निल्नुपर्छ भनेझैँ आफ्नो वडालाई प्राप्त हुने बजेट र आन्तरिक आम्दानीको स्रोतलाई मध्यनजर गर्दै वडाको योजना बनाउने छु । कुनै पनि किसिमका महत्वाकांक्षी योजना बनाएर जनतालाई ढाट्नुभन्दा आफूले सम्पन्न गर्न सक्ने खालका मात्र योजना बनाएर सतप्रतिसत कार्यान्वयन गर्नेछु ।

म नागरिकको घरदैलोमा अहिले चुनावको बेलामात्रै पुगेको छैन्, हरेक सुख दुःखको बेलामा घरदैलोमा पुगेको छु । यस कारण पनि मलाई आम नागरिकले दिनुभएको माया अथाह छ । मैले पनि केन्द्रले दिएको नीतिको अध्ययन गर्दै हाम्रो वडामा कुन–कुन कुराहरूको आवश्यकता छ त्यहि अनुसारको पञ्चवर्षिय कार्ययोजना तयार गरी प्राथमिकीकरण गर्दै कार्यान्वयन गर्नेतर्फ ध्यान पु¥याउनेछु । कामका योजना बनाउँदा, बजेट विनियोजन गर्दा वडाबासीको समानता र समतालाई ख्याल गर्दै समानुपातिक ढंगबाट वितरण गर्नका लागि जनताहरूबाटै सुझाव लिने कुरा म यहाँलाई विश्वस्त पार्न चाहन्छु ।

योजना बनाउँदा बाटोघाटो बनाउने मात्रै भन्दा पनि वडाभित्रको शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत, पानी, सामाजिक सुरक्षा, महिला तथा बालबालिका, पिछडिएका वर्ग वा क्षेत्र, दलित समुदाय, वन तथा वातावरण, खेलकुद सबै क्षेत्रहरू लक्षित कार्यक्रम बनाउने योजना छ । यस्तै वडामा वर्षभरीमा भएका आम्दानी खर्चहरूको विवरण सार्वजनिक गर्नेछु । जसले गर्दा वडा कार्यालय र जनप्रतिनिधिप्रतिको विश्वसनीयता बढ्दै जानेछ ।

दलहरूले गठबन्धन गरेर गएको अवस्थामा वडा नम्बर ७ मा काँग्रेससहित नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग सहकार्य भएको छ । भोलिका दिनमा सबैको विचारलाई सम्मान गरेर अघि बढ्नेछु । आवश्यकताका आधारमा विकासलाई प्राथमिकता दिनेछौँ । म अहिले चुनावमा काँग्रेसबाट चुनावी मैदानमा भएर अघि बढेपनि निर्वाचित भएपछि सबैको साझा हुनेछु भन्ने कुरालाई शिरोधार्य गरेर अघि बढ्ने छु । मलाई मत दिनुभएन्, तपाईले भन्ने जस्ता सोंचबाट माथि उठेर समग्र वडामा विकास गर्नेछु ।

तुलसीपुर उपमहानगरभित्रको आर्थिक विकासको सम्भावना बोकेको वडामा पर्छ नम्बर ७ । वडामा कृषि, पर्यटन आर्थिक विकास विकासका प्रमुख आधार हुन् । वडा कृषिका लागि आवश्यक सिचाइँदेखि मलबीउमा अनुदानदेखि पर्यटकीय स्थलको विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना बनाएको छु । पर्यटनको क्षेत्रमा गणेशपुर पार्क अर्थात् राप्ती शान्ति उद्यानलाई थप आकर्षक गरेर पर्यटक तान्ने योजना छ । यसैगरी वडामा भएका भूमिहीन तथा सुकुम्बासी नागरिकलाई जग्गाको लालपुर्जा दिलाउनका लागि वडाको तर्फबाट हुने काममा मैले सहज बनाउने छु र पालिका, प्रदेश र केन्द्र तहसम्मैको समन्वय र सहकार्यलाई अघि बढाउने छु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here