Monday, April 22, 2024
Homeफिचरइलामको प्राकृतिक सौन्दर्य र पर्यटन

इलामको प्राकृतिक सौन्दर्य र पर्यटन

- Advertisement -spot_img

के.बी. मसाल

केही वर्षयता आएर नेपालमा संघसंस्था, स्कुल, कलेजहरूका विद्यार्थी घुमफिरको लागि दार्जिलिङ जाने र फर्किएर आउँदा इलाम जानेक्रम बढ्दो छ । जुन कारणले नेपालीहरू इलाम धेरैजना पुगेका छन् । घुमफिरको लागि इलाम जानेमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक र बाँकी १० प्रतिशत बाह्य पर्यटक रहेको तथ्यांक रहेको छ । इलाम जाँदा झापाको चारआलीबाट मेची राजमार्ग भएर जानुपर्दछ । इलामको यात्रामा कोल्बुङबाट मनोरम पर्यटकीय स्थलहरू सुरू हुन्छ । साविक कोल्वुङ र अहिले रोङ गाउँपालिका झापा र इलामको सीमा हो । जहाँ सडकमा नै जोरकलश गेटले इलाम जानेहरूलाई स्वागत गरेको छ । राजमार्गमा पर्ने हर्कटे र कन्याम इलाम जिल्लाको प्रवेशद्वार हो ।

भौगोलिक बनोट, चिया, अम्लिसो, अदुवा, अलैँची, अकबरे खोर्सानी, ओलनजस्ता नगदे बालीले सुधारिएको जीवनशैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति र प्राकृतिक सुन्दरताको दृश्यावलोकनका लागि इलाम विश्वमा नै प्रख्यात छ । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरूको मौलिक संस्कृतिको अवलोकन गर्न तेस्रो मुलुकबाट पर्यटकहरू बर्सेनी इलाम आउँछन् । सिंहलीला पर्वतीय श्रृंखला महाभारत पर्वत श्रृंखला तथा त्यहाँबाट उत्पन्न नदी प्रणाली, ढपक्क चियाले ढाकेका डाँडाहरू, विश्वमै दुर्लभ एवं लोपोन्मुख जीव र वनस्पतिहरू, मेहनती किसानहरूले गरेको कृषि र पशुपालनले आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ ।

इलाम जाने पर्यटकहरूको लागि इलामको सीमा प्रवेश गर्ना साथै पाथीभरा देवी मन्दिर पुगिन्छ । पाथीभरा देवी इलामकोे धार्मिक पर्यटकीयस्थल हो । साविक कोल्वुङ र हाल रोङ गाउँपालिकामा रहेको पाथीभारा झापाको चारआलीबाट बसमा दुई घण्टामा पुग्न सकिन्छ । त्यहा खान बस्न सामान्य होटल रहेको छ । मन्दिर परिसरबाट मौसम सफा भएको बेला ताप्लेजुङको पाथीभरा भगवतीको समेत दृश्यावलोकन गर्न सकिने भएकोले यसलाई बहिनी पाथीभराको रूपमा लिने गरिएको छ ।

इलाममा चिया मात्र होइन पशुपालन खासगरी गाईपालन पेशा पनि अग्रस्थानमा रहेको छ । पहिला इलाममा बेलायती तथा स्थानीय जातका गाईवस्तुहरू पाल्ने गर्दथे । अहिले आएर जर्सी, होलेस्टेन जातका गाई पाल्ने प्रचलन रहेको छ । पशुपालनमा बाख्रा तथा उच्च हिमाली भेगमा भेडा पनि पाल्ने गर्दछन् । इलाममा चियापत्ती, अलँैची, अदुवा, आलु, अम्लिसो, अकबरे खुर्सानी, इसकुस, दूध आदि यहाँका मुख्य कृषि उपज हुन् ।

मनले चाहेको भाकल पूरा हुने आशा लिएर तीर्थाटनका पर्यटकहरू कुटिडाँडास्थित पाथीभरा देवीको मन्दिरमा दर्शनार्थ पुग्ने गर्दछन् । मन्दिर परिसर नजिकै रहेको रमिते टावरबाट तराईका समतल फाँटहरू, इलामका नागबेली चियावारी, भारत, भुटान र बंगलादेशसम्मका भू–भागहरू खुल्ला आँखाले नियाल्न सकिन्छ । यहाँबाट विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंगा पनि देख्न सकिन्छ । पाथीभरा मन्दिर राजमार्गबाट १ हजार ३३ वटा सिमेन्टका खुट्किला चढेर पुग्न सकिन्छ ।

लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट रहेको मानिन्छ । लिम्बु भाषामा इलाम शब्द, दुई शब्दको संयोजन भई बनेको छ । जसमा ‘इ’को शाब्दिक अर्थ घुमाउरो र ‘लाम’को शाब्दिक अर्थ बाटो अर्थात् इलामको अर्थ घुमाउरो बाटो हुन्छ । यस अर्थलाई पुिष्ट गर्ने साँच्चै नै झापाको चारआलीदेखि इलाम जाँदा धेरै घुमाउरो बाटोको यात्रा गर्नुपर्दछ । इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाँको चियाबारी, हरियाली वातावरण, साना–ठूला नदीनाला, पोखरी, मठमन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरताले गर्दा पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्ने गरेको छ ।

सांस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको इलाम पहाडकी रानी, नगदेबालीको खानीजस्ता उपनामले पनि चिनिन्छ । अर्कोतर्फ इलामलाई विभिन्न आठ ‘अ’ को जिल्ला भनेर पनि चिनिन्छ । जसमा ‘अ’ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्रिसो, आलु र अतिथि सत्कार हुन्छ । इलामलाई सूर्याेदयको जिल्ला भनेर पनि चिनिन्छ । यहाँबाट सूर्य उदाउँदै र अस्ताउँदै गरेको दृश्य देख्न सकिन्छ । अर्कोतर्फ इलामको सुन्दरतासँगै गाँसिएर आउने चियाले नेपाली गीत, संगीतमा थुप्रै कर्णप्रीय स्वरलहरी र कलाकार जन्माएको छ ।

पूर्वको बिहानीसँग सूर्याेदयको दृश्य नियाल्न इलाम पुग्नेहरू श्रीअन्तुलाई रोज्ने गर्छन् । झापाको चारआलीबाट मेची राजमार्गमा ८० किलोमीटरको दुरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ । जोरकलश गेट पार गरेपछि पाथीभरा, कन्याम, फिक्कल, तीनघरे इलाम भञ्ज्याङ हुँदै इलाम बजार पुगिन्छ । तीनघरे र इलाम बजारको बीचमा पर्ने माईखोला माच्छाको लागि प्रख्यात मानिन्छ ।

कन्याम इलामको मनोरम पर्यटकीयस्थल हो । मनोरम चियाबारी भएको कन्याममा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्दछन् । कन्याम पूर्वी नेपालको लोकप्रिय वनभोजस्थल पनि हो । झापा, मोरङ, सुनसरीलगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न पर्यटकहरू कन्याममा घुम्न र वनभोज गर्न पुग्ने गर्दछन् । पर्यटनका लागि कन्याममा पिकनिक स्पट, दृश्यावलोकन, घोडचढी–लगायतका सेवाहरू उपलब्ध रहेका छन् । हिउँदमा घुमघाम र पिकनिकमा जानेले कन्याम ढपक्कै ढाकिन्छ ।

मेची राजमार्गको दायाँ–बायाँको चियाबारी पर्यटकको स्वागतका लागि ओछ्याइएको हरियो गलैंचाझै लाग्छ । त्यसमाथिको कोणधारी सल्लाको रूखको सौन्दर्यले सबैको मन लोभ्याएको हुन्छ । कोही शैक्षिक भ्रमणको बहानामा, त कोही घुमघामको शिलशिलामा पिकनिक खान कन्याममा पुग्दछन् । कन्याममा कार्तिक–मंसिरबाट सुरू हुने पिकनिक चैत–बैशाखसम्म भै रहन्छ । सिरसिर चल्ने बतास त एकैछिनमा ढपक्कै छोप्ने कुहिरोभित्रको चियाबारीमा लुटपुटिदै रमाउन उमेरले कसैलाई छेक्दैन । त्यसमाथि घोडा चढेर चियाबारी फन्को मार्दाको मज्जै बेग्लै हुन्छ ।

इलाम पुगेपछि पर्यटकहरूलाई घुमफिर गर्न सन्दकपुर छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्काजस्ता रमणीय पहाडका श्रृंखलाहरू रहेका छन् । जहाँ सयौं प्रजातिका चराहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालकलगायतका जनावरहरू समेत इलाममा पाइन्छ । धार्मिक तथा पर्यटकीयस्थल पुग्नेहरूका लागि सेती देवी, पञ्चकन्या, सिंहबाहिनी, पाथीभरा, गजुरमुखी आदि धार्मिकस्थलहरू रहेका छन् ।

योबाहेक इलाममा घुमफिरको लागि कन्याम, करफोक, मंगलबारे आदि पर्यटकीयस्थलहरू इलाममा पर्दछ । सबै भाग पहाडी भेकमा पर्ने हुँदा प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय गन्तव्यको रूपमा इलाम चिनिएको छ । इलाममा नौ कुना भएको माई पोखरी तथा टोड्के झरना हेर्न पनि पर्यटकहरू आकर्षित हुन्छन् ।

चिया खाएका तर चियाको बोट नै नदेखेका धेरै पर्यटकहरू पनि इलाम पुग्ने गर्दछन् । डाडाँपाखा भरी देखिने चियाका बोटले इलाम पुग्ने पर्यटकहरूको आकर्षण केन्द्रनै चियाबारी हुने गर्दछ । सन् १८६२ मा कर्नेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको विरूवा इलामको चियाबगानमा रोपेपछि इलाममा चियाखेती सुरू भएको हो । त्यो चियाको विरूवा चीन सरकारले राणा प्रधानमन्त्री जंगबहादुर राणालाई उपहार पठाएका थिए । अहिले इलाममा तीन किसिमको चियाँ पाइन्छ । इलाममा पाइने चियाको जातहरूमा चिनियाँ, आसामी र क्याम्बोड हुन् ।

चिया भिरालो पहाडी क्षेत्रमा हुने नगदेबाली हो । यसको उत्पादनको शुरूआत चीनबाट भएको मानिन्छ । करिब १५० वर्ष अगाडि अर्थात् वि.सं. १९२० मा नेपालको इलाममा प्रवेश गरेको चिया खेतीले व्यावसायिक रूप लिएको करिब पाँच दशकमात्र भएको छ । इलाममा उत्पादित चिया भारत, पाकिस्तान मात्र होइन जर्मन, अमेरिका, जापान, हल्याण्ड आदि देशमा समेत पुग्ने गरेको छ । इलाममा हाल दशभन्दा बढी चिया प्रशोधन कारखानाहरू रहेका छन् ।

इलाममा चिया मात्र होइन पशुपालन खासगरी गाईपालन पेशा पनि अग्रस्थानमा रहेको छ । पहिला इलाममा बेलायती तथा स्थानीय जातका गाईवस्तुहरू पाल्ने गर्दथे । अहिले आएर जर्सी, होलेस्टेन जातका गाई पाल्ने प्रचलन रहेको छ । पशुपालनमा बाख्रा तथा उच्च हिमाली भेगमा भेडा पनि पाल्ने गर्दछन् ।

इलाममा चियापत्ती, अलँैची, अदुवा, आलु, अम्लिसो, अकबरे खुर्सानी, इसकुस, दूध आदि यहाँका मुख्य कृषि उपज हुन् । फिक्कल बजार इलाम जिल्लाको पूर्वी भेकको व्यापारिक केन्द्र हो । इलामको पूर्वी ब्यापारिक केन्द्र फिक्कल जिल्लाकै महत्वपूर्ण स्थानमा पर्दछ । जिल्लाका पूर्वी भेगका किसानले उत्पादन गरेको अलैची, अदुवा, कुचो, दूध, मटर, सागसब्जी र अन्य नगदेबाली बिक्री गर्ने फिक्कल बजार पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ ।

प्रायगरी चिसो हावापानी भइरहने फिक्कल बजार भारतीय सीमावर्ती पशुपतिनगरबाट ११ किलोमीटरको दुरीमा पर्दछ । इलामको सदरमुकामबाट करिब ४३ किमी टाढा रहेको यो बजारमा पर्यटकका लागि आवास र घुम्ने स्थानहरू पनि छन् । दार्जिलिङ भएर नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकका लागि फिक्कल आवासस्थल हो । नेपालबाट भारतको दार्जिलिङ घुम्न जाने पर्यटकहरू पनि फिक्कल भएर जाने गरेका छन् । कन्याम आएका पर्यटकहरूको बस्ने ठाउँ पनि फिक्कल नै हो ।

माईपोखरी इलाम जिल्लाको उत्तरी भेगमा रहेको छ । माईपोखरी धार्मिक आस्थाको केन्द्रको रूपमा प्रख्यात छ । पूर्वाञ्चलभरि ख्यातिप्राप्त पुण्यभूमि इलामका चार माई जोगमाई, महमाई, पूवामाई र देउमाईको बीचतिर दुई हेक्टरको जलाशय र वरिपरिको दश हेक्टर वनक्षेत्रमा माईपोखरी धार्मिक पर्यटकिय क्षेत्रको रूपमा विकास भएको छ । माई पोखरीका नौ कुना छन् । नवदुर्गाको बास रहेको विश्वास गरिन्छ । पत्रे चट्टानको पहाडमा रहेको विशाल जलाशयको नौवटा कुनाले त्यहाँ पुग्ने जो कोहिलाई पनि आनन्द दिलाउँछ । धार्मिक मान्यताअनुसार यि कुनाहरूमा नवदुर्गाले वास गरेको विश्वास गरिन्छ ।

खासगरी धार्मिक पर्यटनकै लागि आस्थाको केन्द्रविन्दु माईपोखरी जैविक विविधताको पनि विशाल भण्डार रहेको छ । माईपोखरी वरपरको जंगलमा विश्वमै नपाइने कतिपय जीवजन्तु एवं वनस्पति पाइन्छ । माईपोखरीलाई रामसार क्षेत्रको रूपमा पनि सूचिकृत गरिएको छ । प्राकृतिक सौन्दर्यका हिसावले उत्कृष्ट छ माईपोखरी । त्यसैले त वर्षेनी हजारौं पर्यटकहरू यसक्षेत्रमा भ्रमणका लागि पुग्ने गर्छन् । माईपोखरीमा वस्नका लागि सामान्य होटल तथा लजको व्यवस्था छ । इलाम बजारबाट १५ किमी यात्रामा माईपोखरी पुग्न सकिन्छ । यहाँसम्म पुग्न साना गाडीहरू पनि पाइन्छ ।

दाम्पत्य जीवन बिताउने प्रण गरेका जोडीका लागि इलाम घुमफिरको लागि अझ महत्वपूर्ण मानिन्छ । हरियाली वातावरण र स्वच्छ हावापानी भएका कारण लगन गाठो बाँधेपछि इलामलाई हनिमुन गन्तव्य बनाउनेहरूको संख्या पनि धेरै हुन्छन् । हनिमुन गन्तव्य बनाउनेहरूका हरेक थुम्का–थुम्कामा रहेको चियाबारी, कोडधारी, सल्लाघारी र स्वच्छ हावापानीले रमाउने गर्दछन् । बदलिरहने इलामको मौसमले जोडीहरूलाई आनन्द दिने गर्दछ । चियाका बुट्टामा छेलिएर र सल्लाघारीभित्र लुकेर मज्जा लिनेको संख्या इलाममा धेरै देखिन्छ ।

वनभोजका लागि उत्कृष्ट गन्तव्य बनेको कन्याममा सबैभन्दा धेरै प्रेम जोडी भेट्न सकिन्छ । इलाम जिल्लाका हरेक डाँडा चियाबारीले भरिएकाले नवदम्पती वा प्रेम जोडीका लागि उपयुक्त स्थान भएको छ । पशुपतिनगर, बौद्धधामको सल्लाघारी, पञ्चकन्या मन्दिरको दर्शन र नजिकै करफोकको सल्लाघारीका साथै इलाम सदरमुकाममा रहेका चियाबारी अनि त्यसबीचमा रहेको लभडाँडो पनि प्रेम जोडीका लागि गन्तब्य बन्ने गर्दछ । त्यतिमात्र नभएर पाथीभरा मन्दिरमा प्रेमको कसम खाने साथै विवाह–बन्धनमा गाँसिएर इलाम घुम्नेहरूको संख्या पनि वृद्धि भैरहेको छ ।

इलाम जाने पर्यटकलाई सजिलोका लागि इलाम बजार र अन्तुडाँडामा सूचना केन्द्र स्थापना गरिएको छ । यसले इलाम पुग्ने पर्यटकहरूका लागि सजिलो बनाइदिएको छ । मोतीझैँ टल्किने हिमश्रृंखला नियाल्न पाउनु इलामको विशेषता हो । श्रीअन्तु, माइपोखरी, सन्दकपुर यहाँको मुख्य पर्यटकीयस्थल हुन् । यीमध्ये कुनै ठाउँ नटेके इलामको यात्रा अधुरो रहन्छ । इलामको भ्रमणमा धेरै कुराहरू सिक्न पाइन्छ ।

समग्रमा इलामको विकासमा चिया पर्यटनको महत्वपूर्ण योगदान छ । इलाम अन्य स्थानभन्दा पर्यटनको पूर्वाधार छुट्टै किसिमको छ । आन्तरिक पर्यटनको लागि इलामले अलग पहिचान कमाएको छ । इलाम भनेकै कृषि र चिया पर्यटन हो । उसो त ओलन अर्थात् दूध, अदुवा, कुचो बनाउने अम्रिसो र आलु पनि इलामको मुख्य नगदेबालीहरू हुन् । चिज बनाउने कम्पनी, डेरी उद्योगहरू, दूध चिस्यान केन्द्र, गाईपालनजस्ता कृषिजन्य पेशाले इलामलाई समृद्ध बनाएको छ । केही नफल्ने खोल्साहरूमा नगदेबाली अलैंचीका हरिया बोट, स्कूसका बोट देख्न सकिन्छ ।

इलाम पुगेपछि खाना र बस्नलाई कुनै समस्या पर्दैन । धेरैको इलाम पुगेपछि खानेकुरामा मःम, थुक्पा नै पहिलो रोजाइमा पर्दछ भने इच्छा हुनेहरूले छ्याङ अर्थात् लोकल जाँड र तोङ्बा पनि निकै रूचाउँछन् । शुद्ध दूधबाट बनेको मिठाई ललिपप इलामको चर्चित परिकार हो । ३० देखि १ सय रूपैयाँसम्मको प्याकेटमा यस्तो मिठाई किन्न पाइन्छ । इलाममा गुणस्तरीय छुर्पी पनि पाइन्छ । विभिन्न किसिमका चिया प्याकेटमा उपलब्ध हुन्छन् । ग्रिन टी, ह्वाइट टी र ब्ल्याक टी इलामका उत्पादन हुन् जुन ५० देखि २ हजार रूपैयाँसम्मको प्याकेटमा पाइन्छन् ।

इलाम बजार काठमाडौँबाट ८ सय ५० किमी पर्दछ । दाङबाट इलाम जाँदा दाङ–नारायणघाट २ सय ६४ र नारायणघाटबाट इलाम ७ सय ४ समेत ९६८ किमी दुरी पर्दछ । झापाको चारआलीबाट काकरभिट्टा १२ किमी र भद्रपुर एयरपोर्ट ७ किमीको दुरीमा रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here