अचेल,
मेरो राप्ती रोइरहेछ
तिम्रो गिद्धे नजरले
हो, त्यही राप्ती
जसले तिम्रो घर चकमन्न पारिरहेछ
भरिरहेछ तिम्रो घरको भकारी
मेटाइरहेछ तिम्रो भोक
तिम्रो सुकेको मुख अनि घाँटीको आत
बनाइरहेछ
मृत्युपछि तिम्रा पूर्खालाई पवित्र ।
तर तिमी,
मृत्युको बाढीमा
एकोहोरो शंखहरू बजिरहदा
हरेक दिन
शक्ति र सत्ताको आडमा
उसको गुनलाई बिर्सिदै
जीवन रङ्गाउने बहानामा
उसलाई निमिट्यान्न बनाउन उद्धत छौ
उसका छातीमा भाला रोपी
बनाउन खोज्दैछौ
सुखको नयाँ साम्राज्य ।
तिमी,
विकासको नाममा
समृद्धिको नाममा
मेटाउन खोज्दैछौ उसको
वर्षौ देखिको इतिहास
र लुट्दैछौ उसलाई
ऊ गुमाउँदैछ आफ्नो अस्तित्व
चलाउँदै छौ उसको कोमल छातीमा
अजङ्गका दर्जनौ मेसिनहरू
र पार्दैछौ उसको मुटु छियाछिया ।
त्यसैले,
मलाई विश्वास छ
ऊ आउनेछ एकदिन
लछारिदै पछारिदै
सुनामी बनेर
भत्काउनेछ तिम्रो संघार
मै हुँ भन्ने तिमी रुनेछौ कराउनेछौ
चुरेले खुशी हुँदै
पिट्ने छ ताली काखमा बसेर
तब पूरा हुनेछ
निश्चल अनि कञ्चन राप्तिको बदला ।
अनि,
कोरिनेछ नयाँ इतिहास
किनकि उसलाई जीवनको
लामो यात्रा गर्नुछ
बनाउनु छ हरिया फाँटहरू
झुलाउनुछ पहेलै बाला
भर्नु छ भोको पेट
पुछ्नु छ रुञ्चे बालकको आँसु
चखेवाको जोडीसँगै
कलकलाउँदै फिजाउनुछ पङ्ख स्वतन्त्र भएर ।