प्रदेश टुडे
तुलसीपुर, ११ फागुन । कृषि बालीमा देखिएको समस्यालाई समाधान गर्न तुलसीपुरमा बाली उपचार घुम्ती शिविर सञ्चालन गरिएको छ । पश्चिम क्षेत्रका किसानको सहजताका लागि कृषि ज्ञानकेन्द्र दाङले तुलसीपुरमा बाली उपचार घुम्ती शिविर सञ्चालन गरेको हो ।
शिविरमा २१ जना किसानले विभिन्न बालीको रोग परिक्षण र समाधानको उपायको परामर्श लिएका छन् । किसानले टमाटर, काँक्रा, खुर्सानी, च्याउ, कागती, भेडे खुर्सानी, तोरीलगायतका बाली परिक्षण गराएको कृषि ज्ञानकेन्द्र दाङका बाली संरक्षण अधिकृत रूद्र पौडेलले जानकारी दिए । किसानले जाँच गराएको बालीमा विभिन्न किसिमका समस्या देखिएको र घरमै समाधान गर्ने उपाय सिकाएको उनले बताए ।
उनका अनुसार टमाटरमा सुक्ष्म तत्वको कमी, मलको अपुग लगायतका समस्या देखिएको छ । केन्द्रको वार्षिक कार्यक्रमअनुसार जिल्लाका तीन ठाउँमा बाली उपचार शिविर सञ्चालन हुने उनले बताए । यसवर्ष देउखुरी, तुलसीपुरमा सञ्चालन भइसकेको छ भने अब यसपछि फागुन ११ गते घोराही–१० को स्यानीगाउँमा सञ्चालन गरिने केन्द्रले जनाएको छ । शिविरमा आफ्नो बाली जाँच गराउन नपाएका किसानले नजिककै स्थानीय तहको कृषि शाखामा सम्पर्क गरी जाँच गराउन सकिने केन्द्रका बाली संरक्षण अधिकृत पौडेलले जानकारी दिए ।
तुलसीपुरमा सोमबार गरिएको शिशिरमा बागवाणी विकास अधिकृत तथा तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख धनराज गौतम, प्राविधिक सहायक पूर्णप्रसाद तिमिल्सिना, चितवनको रामपुर कृषि विश्वविद्यालय बिएससी एजीका विद्यार्थी संगम घिमिरेलगायतले परामर्श गरेका छन् ।