Monday, April 22, 2024
Homeफिचरएकै समयमा दुई संस्थाबाट सुविधा

एकै समयमा दुई संस्थाबाट सुविधा

- Advertisement -spot_img

राप्ती बबई क्याम्पसका प्राध्यापकको बेथिति …
तुलसीपुर, २० माघ । पश्चिम दाङको शैक्षिकथलोको रूपमा रहेको सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पसमा अध्यापन गराउने केही प्राध्यापकहरूले एकै समयमा दुई संस्थामा दरबन्दीमा काम गरिरहेको पाइएको छ ।
क्याम्पसको समय र अन्य सरकारी तथा निजी शिक्षण संस्थाहरूको पनि एउटै समय काम गरे सेवा सुविधा खाइरहेको पाइएको हो ।
एकै समयमा दुई संस्थामा दरबन्दीमै काम गरेर सेवा सुविधा लिनु गैरकानुनी मानिन्छ । क्याम्पसका र अन्य शिक्षण संस्थामा एकै समयमा काम गर्ने क्याम्पसले अनुमति पनि दिएको छैन ।
बिहान १०ः४५ बजेसम्म पूर्णकालिन प्राध्यापकका लागि समय क्याम्पसमा नै तोकिएको छ । तर केही प्राध्यापकहरू १० बजे पहिले नै अर्काे कार्यालयमा काम गर्ने गरी दरबन्दीमै छन् । कति त जिम्मेवार पदमा पनि रहेको क्याम्पस स्रोतले बताएको छ ।
राप्ती बबई क्याम्पसमा पूर्णकालिन शिक्षक दरबन्दीमा रहेको आठजना प्राध्याकहरू नेपाल संस्कृत विश्वविद्यालय, गुरूजजुर नमुना माध्यमिक विद्यालय तथा तुलसीपुर क्षेत्रका केही प्रतिष्ठत निजी शिक्षण संस्थामा पनि पूर्णकालिन दरबन्दीमा रहेका छन् ।
बिहान १० बजेदेखि अर्काे संस्थामा हाजिर गर्ने र दोहोरो सुविधा लिने गरेको पाइएपछि क्याम्पसले समेत कडाई गर्न थालेको छ । राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख युवराज रावतले क्याम्पसको समय बिहान पौने ११ बजेसम्म रहेको र त्यो बीचमा पूर्णकालिन प्राध्यापकहरूलाई अन्य संस्थामा काम गर्ने अनुमति नदिएको बताए ।
हाम्रा स्थायी, पूर्णकालिन करार र अस्थायी दरबन्दीमा कार्यरत प्राध्यापकले पूरै समय क्याम्पसलाई दिनुपर्ने नीति भएकोले यो समय क्याम्पसकै रहेको बताए ।
क्याम्पस प्रवेशको समय ६ बजे हो त्यो देखि नसकिदासम्म क्याम्पसको प्राध्यापक अन्य संस्थामा यही समयमा जान सक्दैनन् । रावतले क्याम्पसका आठजना प्राध्यापक अहिले क्याम्पसको समयमा अन्य संस्थामा पनि हाजिरी भएको पाइएको भन्दै त्यस कार्यलाई क्याम्पसले रोक्न थालेको बताए ।
गुरूजजुर माविकी प्रधानाध्यापक विष्णुकुमारी केसीले विद्यालयको समय बिहान १० बजेदेखि नै भएको र विद्यालयमा आवद्ध शिक्षकहरू १० बजे नै आइपुग्नुपर्ने बताइन् ।
विद्यालयका केही शिक्षक साथीहरू राप्ती बबई क्याम्पसमा आवद्ध पनि हुनुहुन्छ तर विद्यालय १० बजे हाजिर गरिसक्नुपर्छ । तर गुरू नमुना जजुर र राप्ती बबई क्याम्पसका पढाउने शिक्षकको समय एउटै परिरहेको छ । राप्ती बबईमा पनि दरबन्दी र गुरूजजुरमा पनि दरबन्दीमा रहेर सेवा सुविधा खाइरहेका दुई शिक्षक रहेका छन् ।
हिमालय श्रवण देवकोटा क्याम्पसका सहायक प्राध्यापक पूर्णकालिन करार दरबन्दीमा छन् । उनी गुरूजजुरका प्रावि स्थायी शिक्षक हुन् ।
त्यसैगरेर मनोज कुमार केसी क्याम्पसका पूर्णकालिन करार सहायक प्राध्यापक हुन् । उनी पनि गुरूजजुर माविको उमावि दरबन्दीमा कार्यरत शिक्षक हुन् । दुबैको शिक्षण समय क्याम्पसमा पौने ११ बजेसम्म र विद्यालयको १० बजेदेखि हो ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा सहप्राध्यापकमा रहेका चारजना प्राध्यापकहरू विश्वविद्यालयमा पनि र राप्ती बबईमा पनि दरबन्दीमा कार्यरत छन् ।
उनीहरू पनि एकै समयमा दुई कार्यालयमा हाजिर गरेर सेवा सुविधा लिइरहेका छन् । जनता क्याम्पसका सह–प्राध्याकको रूपमा कार्यरत बाबुराम आचार्य, मधुसुदन भट्टराई, टिका गौतम, ऋषि शर्मा राप्ती बबई क्याम्पसमा सहायक प्राध्यापकमा पूर्णकालिन करार दरबन्दीमा कार्यरत छन् ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति रमेश प्रसाद ढकालले विश्वविद्यालयका कार्यरत प्राध्यापक कर्मचारीहरूलाई अन्य संस्थामा काम गर्न अनुमति नदिइएको बताए ।
उनले पहिले दिएको भए पनि त्यो खारेज गरिसकेको जानकारी दिए । बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा सह–प्राध्यापक शालिकराम रेग्मी तुलसीपुरकै एक निजी कलेजमा बिहानको कक्षा पढाइ रहेका छन् ।
भने पूर्व क्याम्पस प्रमुख लक्ष्मण रेग्मी क्याम्पसको स्थायी दरबन्दीमा छन् । उनी तुलसीपुरमा रहेको आदर्श एकाडेमीको प्रिन्सिपल भएका छन् । रेग्मीले क्याम्पस समयपछि मात्रै विद्यालयको प्रिन्सिपलको भूमिका रहने दाबी गरे ।
विद्यालय समय १० बजेदेखि हो । सबैको समय पौने ११ सम्म क्याम्पसकै हो । त्यो बीचमा कही कतै जान क्याम्पसले अनुमति दिएको छैन ।
क्याम्पसलाई सुधार गर्नुको साटो जागिर खाने थलोको रूपमा लिदै त्यही समयमा अर्काे संस्थामा अध्यापन गराउन जानु पदको र जिम्मेवारीको दुरूपयोग हो ।
क्याम्पस सञ्चालन समितिले पनि दोहोरो सुविधा लिने र क्याम्पसको समयमा अन्यत्र जाने शिक्षकलाई नीति अनुसार कारवाही हुने बताएको छ ।
सञ्चालक समितिका कोषाध्यक्ष विनिल केसीले ६–११ क्याम्पसको समय भएको र त्यो समयका लागि क्याम्पसले नै सेवा सुविधा दिएको भन्दै त्यो समयमा आंशिकबाहेकका प्राध्यापकहरूलाई बाहिर जान अनुमति नभएको बताए ।
उनले छिट्टै नै यो विषयमा प्रतिवेदनसमेत सार्वजनिक गरी नियम नमान्ने प्राध्यापकहरूलाई कानुनअनुसार कारवाही गरिने बताए ।
दोहोरो दरबन्दीमा रहेका शिक्षक प्राध्यापकहरूले भने आफूहरूले समय मिलाएर पढाइ रहेको बताएका छन् । क्याम्पसमा मानविकी, शिक्षा व्यवस्थापनको ११ कक्षादेखि स्नात्तकोत्तरसम्म शिक्षण हँुदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here