दीपा धिताल
बिहानको कठ्याङ्ग्रीने जाडोमा परालको आगो ताप्दै पल्लाघरे काका चुरोटको धुवाँ उडाउँदैछ्न् । उनको जिन्दगीलाई पनि यहि चुरोटको धुवाँले लखेट्दैछ परपरसम्म र सायद उनलाई थाहै छैन त्यहीँ चुरोटको धुवाँले उनको जिन्दगी कहाँसम्म लग्यो भनेर ।
काकी भने आफ्नो भाग्यलाई सराप्दै अगेनोमा आगो फुक्दै छन् घरको छतबाट तप्प–तप्प चुहिरहेका सितका थोपाहरू पन्छ्याउँदै । धुवाँ मात्र उडेको छ आगो भने बलेको छैन अगेनोमा । आज अन्य दिनभन्दा अलि बढी चिसो नै छ हुस्सुले आफू बसेको ठाउँभन्दा अलिकति पर पनि देखिदैन ।
चमेलीको विहे भएदेखि म त्यसघरमा गएकी छैन जान्छु भन्दाभन्दै समय मिलेन भनौँ या नमिलाएरै हो ! यस्तै–यस्तै भयो । आज एकबर्ष पछि बल्लतल्ल चमेलीको माइतीघरमा जाने समय मिल्यो ।
एकछिन बाटै बाट घर हेरे ओहो ! यो हिजो म आएको चमेलीकै माइतीघर नै हो ? त्यसबेला त कति राम्रो चिटिक्क परेको घर थियो । आँगनीमै टेके फोहर होला जस्तो अहिले के भएको यस्तो ? म अचम्मित परे । नजिकै काकाले परालको आगो तापिरहेको ठाउँतिर गए ।
त्यतिकैमा मैले काकाको खबर सोधिहाले काका नमस्कार ! सञ्चै हुनुहुन्छ ? नमस्कार नानी ठिक छ सञ्चै छु अनि हेर त बाँचेकै पनि त छु । काका उदासी अनुहारमा बोले । अनि काकी खै त काका ?
काका बोले ऊ हेर न भात पकाउने बेला भयो अगेनोमा । यो चिसोले गर्दा आगो पनि बल्दैन भनेको, चिसो पनि कति साह्रो बढेको हो नानी अलि आगोको नजिक आउन चिसो होला नि फेरि ! तिमी त चमेलीको विहे भएदेखि यो घरमा आउनै छोड्यौ त ! आज कताबाट बाटो बिरायौं कुन्नी ?
काका तपाईंहरूलाई भेट्न आउने खुब मन थियो तर खै यो समय पनि कहिल्यै नमिल्ने भन्या यसपटक त गएरै काका–काकीलाई भेट्छु नै भनेर समयलाई जबरजस्ती पन्छ्याएर आएकी ।
मैले प्रसंग बदल्दै काकालाई फेरि भने काका हिजो चमेलीको विहेमा आउँदा त अलि फरक जस्तो लाग्थ्यो घर पनि यसपटक त मलाई चिन्नै गाह्रो भयो भन्या ।
काका–काकीको त फेरि अचेल रूपरङ्गै बदलिएछ त के भएको यस्तो ? अनि चमेलीसँग भेट नभएको पनि धेरै भैसक्यो मेरो फोन पनि लाग्दैन अचेल माइतीतिर आएकी छैन काका चमेली ?
यति कुरा मैले भनिसकेपछि काकाको अनुहार नमिठो भावले भरियो । काकीले आलस्य मान्दै सुस्केरा हाल्दै निसास्सिएको श्वास फेरिन उनको श्वासबाट आएको तातो बाफ चिसो हुस्सुमा मिसिएर गयो ।
काकाका आँखाका डिलहरू रसाए चाउरीएको अनुहार झन चाउरिएर खुम्चिए । मैले सोचे यो चिसोमा जाडोले खुम्चिए होलान् गालाहरू, परालको धुवाँले गर्दा आँखाका डिलहरू रसाए होलान् । तर कुरा मैले सोचेजस्तो रहेनछ त्यहाँ । मैले फेरि सोधिहाले काका मैले चमेलीको खबर सोधेकी हुँ । किन केही जवाफै दिनुभएन त ?
काका आत्तिनुभयो, अकमकाउनु भयो । मानौं कुनै ठूलो अपराधीले इजलासमा आफ्नो बयान दिन लागेझैं गरेर र भन्न थाल्नुभयो ।
नानी हामीले चमेलीमाथि ठूलो अपराध ग¥यौँ, उसको मनोभावना बुझेनौँ छोरी खुशी नै होले भनेर विहे गरिदियौँ त्यस केटासँग । हेर्दा राम्रै थियो व्यबहार पनि राम्रो नै होला भन्ने लाग्यो । विहे गर्दा दाइजो चाहिँदैन पनि भन्यो हामीले दाइजो पनि दिएनौँ ।
त्यति ठूलो दाइजो दिनसक्ने स्थिति पनि थिएन हाम्रो अवस्था । छोरीलाई जेनतेन दुःख गरेर पढाएका भने थियौँ हामीले । तर …! काका भन्दाभन्दै फेरि रोकिनु भयो र मैले भने काका चमेलीले त मैले त खुशी छस् आफ्नो विहेमा ? भन्दा म खुशी छु र राजी पनि छु भुन्टी, भन्थी त मलाई अनि तपाईंले के अपराध गरे भन्नुभएको ? मैले त कुरै बुझिन् ।
हो नानी एकपटक म त्यो केटासँग विहे गर्दिन भन्थी तर मैले राम्रो छ भनेर कर गरेपछि ऊ मेरो लागि राजी भएकी हो । विहे गर्न अनि तिमीसँग पनि भित्र आँसु लुकाएर खुशी छु भनेकी हो । तर काका म त उसको नजिकको साथी हो किन चमेलीले मसँग यस्तो कुरा लुकाई ?
हो नानी तिमीलाई खुसी छैन भनेपछि तिमीले उसलाई विहे गर्न नै दिने थिएनाँै अनि मेरो अपमान हुने थियो त्यही भएर ।
काका तपाईंले किन यस्तो गर्नुभएको तपाईं त म बुझ्ने मान्छे सम्झन्थे त !
काकाले आँखाबाट बगिरहेका आँसु पुछ्दै भन्नुभयो !
नानी त्यसैले त भन्दैछु म ठूलो अपराधी हुँ आफ्नो इज्जतको लागि छोरीको खुसी नहुँदा नहुँदै पनि मैले विहे गर्न कर गरेँ तर आज न मेरो इज्जत रह्यो न त खुशी !
काका का कुरा सुनेर म दङ्ग परे खाली ठूलो अपराधी मात्र भनिरहनु भएको छ आफूलाई । मैले काकासँग फेरि अनुरोध गरेँ हैन के भयो भन्नुहोस् न काका चमेली खै ? गला अवरूद्ध पार्दै काकाले फेरि बोल्न थाल्नुभयो । नानी चमेलीको विहेपछि । ऊ आफ्नो जन्मघर छोडेर पराई गई ।
सुरू–सुरूमा त उसलाई त्यस घरमा राम्रै गरियो । उसको वैवाहिक जीवन पनि खुशी नै रह्यो । छोरी खुशी भएपछि हामी खुशी नहुने कुरै भएन, यहाँ आउने जाने गर्थी राम्रै थियो तर उसको खुशी त्यो पापी घरमा सधैं रहन पाएन । त्यहीँ घरमा खुशीले जीवन चलाइरहेकी मेरी छोरीको खुशी त्यहीँ घरको परिवारले नै लुटेर लग्यो नानी ।
विहे गर्दा दाइजो चाहिन्न भनेको मान्छेले विहेपछि दाइजो भएन भनेर हरदिन मेरी छोरीलाई गिद्धले सिनो झम्टेझै गरेर उसलाई झम्टिरहे त्यस घरका परिवारले । उसले सहि रही केही बोलिन । आफ्नो घर र इज्जतका लागि । ऊ निकै इमान्दार बनिरही तर त्यही उसको सहनशीलता र इमान्दार उसको लागि दासता, दमन, पासो भयो र … !
काका फेरि अर्कोपटक बोल्दा बोल्दै रोकिनुभयो । अत्तालिदै मैले फेरि सोधे अनि के भयो चमेलीलाई ? नानी दिन रातको त्यस घरको शारीरिक, मानसिक दबावको कारण उसले यो संसार छोडेर गई ।
काका को कुरा सुनेर म छाङ्गाबाट खसेजस्तै भए । धर्ती एक्कासी भासिएको अनुभूति भयो । जुन कुराको मलाई शंका नै थिएन त्यही कुरा सुन्नु परेपछि आकाशमा कालो बादलले छेक्यो । किनकी चमेली त्यति कमजोर थिइन ऊसँग साहस थियो, आँट थियो संघर्ष थियो । उसले यस्ता कुरालाई कसरी तिलाञ्जली दिन सकी ?
म सोच मग्न भए । एउटी छोरी माइतीको आँगन चटक्क छोडेर सबै त्यागेर पराइ घर अङ्गालेकी हुन्छे त्यस घरको इज्जतका लागि आफ्ना खुशीहरू बन्धक राखेकी हुन्छे, फेरि त्यही घरमा अपमानताको घुम्टो ओढेर हिडेकी हुन्छे, जब सहनशीलताले सीमा नाघ्छ अनि आफ्नो जिन्दगीको सीमा नै अन्त्य गर्छे ।
उफ ! जिन्दगी नै अन्त्य गर्न बाध्य बनाउने त्यो घर हो कि मसानघाट ? आफ्नी जीवन संगिनीप्रति शिरमा मान नै नभएको त्यो श्रीमान हो कि राक्षस ? आफूले कमाएको नपुगेर अरूको पसिनाको ¥याल चुहाउनेहरूलाई पनि धिक्कार छ ।
काकाको सबै कुरा सुनेपछि त्यहाँ मलाई एकछिन बस्न मन लागेन । काका–काकीको त्यो दयनीय अनुहार मैले हेर्न सकिन र म तत्काल नै घर फर्के । कति मानवीय भावना हराएको चमेलीको घर ।
कति निर्दयी उसको परिवार । उनीहरूको छोरी बहिनीहरू पनि त होलान् ? आखिर दाइजोका कारणले नै छोरीहरू यसरी कहिलेसम्म मारिने हुन् ? कहिलेसम्म जिउँदै जलाइने हुन् ? कहिलेसम्म आत्महत्या गर्न बाध्य पारिने हुन् ?
मेरो मनमा आक्रोसका ज्वालाहरू बाहिर निस्के । अब चमेलीहरू दाइजोका कारण जिउँदै जल्नुपर्दैन । दाइजोका कारण जिउँदै जलाएर आत्महत्या गर्न बाध्य बनाउने शिरमा मान नभएको चमेली श्रीमान र उसको परिवारलाई जिउँदै जलाउनुपर्छ ।
जलाउँदा उनीहरूको धुवाँ नै बाहिर नउडोस् किनकी त्यो धुवाँ जताततै फैलियो भने चमेलीजस्ता हजारौं छोरीहरू फेरी आत्महत्या गर्न बाध्य हुनेछन् ।