Tuesday, April 30, 2024
Homeफिचरअख्तियारमा दाङबाट एकसय बत्तीस मुद्दा

अख्तियारमा दाङबाट एकसय बत्तीस मुद्दा

- Advertisement -spot_img

तुलसीपुर, ७ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङ जिल्लाबाट चालु आर्थिक वर्षमा १ सय ३२ वटा भ्रष्टाचारसम्बन्धीका मुद्दा दर्ता भएकोे आयोगले जनाएको छ । बिहीबार तुलसीपुरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी सरोकारवाला निकायहरुबीच आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका निमित्त प्रमुख नारायणदत्त उपाध्यायको सभापतित्व, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुख आथित्यता एवं तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले भ्रष्टाचार नियन्त्रणमा सबैले भूमिका खेल्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकृत निराजन शर्माले ट्रान्सपेरेन्सी इन्टरनेशनलका अनुसार नेपाल सन् २०१७ मा १ सय ८० मुलुकमध्ये १२२औँ भ्रष्टाचार हुने देशमा परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार न्यूनीकरण गर्नतर्फ लागेकोले यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।
दाङ, बाँके, बर्दिया, रोल्पा र प्यूठान कार्यक्षेत्र रहेको कोहलपुर कार्यालयमा यो आर्थिक वर्षमा कुल ५ सय ७५ भ्रष्टाचारका विभिन्न मुद्दा दर्ता भएको र त्यसमा दाङ जिल्ला भित्रबाट १ सय ३२ वटा भ्रष्टाचार मुद्दा दर्ता भएको बताए । जसमध्ये दाङबाट सबैभन्दा बढी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेको ३३ वटा मुद्दा दर्ता भएको उनले जानकारी दिए ।

यो आर्थिक वर्षमा दाङका विभिन्न आठवटा कार्यालयहरुले समयमै आवश्यक सूचानाहरु ताकेता गर्दासम्म उपलब्ध नगराएको र त्यस्ता कार्यालय र कार्यालय प्रमुखलाई कारवाहीको लागि केन्द्रसँग पहल भैरहेको उनले जानकारी गराए । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक हिसाबले कार्यहरु गर्ने उल्लेख गरेका शर्माले भ्रष्टाचार नियन्त्रण अख्तियार एक्लैले गरेर मात्र सम्भव नहुने भएकोले त्यसका लागि सबैले भूमिका निर्वाह गर्न आवश्यक रहेको शर्माको भनाइ छ ।
कार्यक्रममा विभिन्न सहभागीहरुले जिल्लामा सञ्चालनमा आएका क्रसर उद्योगले नीतिगत भ्रष्टाचारलाई बढवा दिइरहेको भन्दै त्यसतर्फ अख्तियारले ध्यान दिनुपर्ने बताएका थिए । उनीहरुले आयोगको काम ढिलो, फितलो त्यस्तै अनुगमनमा गोपनीयतासमेत नहुने र कार्यान्वयनमा समेत ढिला हुने गरेको भन्दै गुनासो गरेका थिए । उनीहरुले राजनीतिक भ्रष्टाचारलाई समेत अख्तियारले आफ्नो अनुसन्धानमा लिनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले भ्रष्टाचार नियन्त्रणभन्दा पनि हुँदै नहुने वातावरणको सृजना गर्नुपर्ने बताए । उनले सुशासन प्रवद्र्धनको लागि गर्ने काममा आफ्नो सहयोग रहने र आर्थिक प्रलोभन तथा भ्रष्टाचार गर्ने त्यस्ता हाकिम र कर्मचारीलाई कारवाही गर्न गराउनतर्फ आफू लाग्ने बताए । भ्रष्टाचार हुने कुरामा अहिलेका स्थानीय तहहरु सचेत र सजग हुनुपर्ने बताएका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले घुस लिने र दिने दुबैलाई कारवाहीको भागिदार बनाउनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले कर्मचारीहरु लोकसेवा आयोग जितेर आएका र जनप्रतिनिधिहरु जनताको मत जितेर आएका प्रतिनिधि भएकोले जित्नेहरु मिलेर सुुशासन कायम गर्नतर्फ लाग्नुपर्ने बताए । उनले आफूहरु भ्रष्टाचारमुक्त तुलसीपुर गराउने अभियानमा लागेको बताए । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका निमित्त प्रमुख नारायणदत्त उपाध्यायले आफूहरुको अनुगमनलाई पनि अनुगमन हुने भन्दै अनुगमनका क्रममा आवश्यक सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरे । भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो दायित्व भनेको कार्यालय प्रमुखहरुको भएको बताएका उपाध्यायले हाल विभिन्न कार्यालयमा सेवाग्राहीलाई यो वा त्यो बहानामा दुःख दिने गरेको आफूहरुले अनुगमनको क्रममा पाएको बताए । त्यस्ता कर्मचारीहरुलाई कारवाही हुने समेत बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here