Friday, May 17, 2024
Homebreaking-newsराप्ती आँखा अस्पतालको सेवा, सामान्य समस्यादेखि क्यान्सरसम्मको उपचार

राप्ती आँखा अस्पतालको सेवा, सामान्य समस्यादेखि क्यान्सरसम्मको उपचार

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, २२ मंसिर ।
दाङको तुलसीपुरमा रहेको राप्ती आँखा अस्पताल रक्षाचौरले सेवालाई विशिष्टीकरण गर्दै लगेको छ । अस्पतालमा पछिल्लो समय आँखा उपचारसम्बन्धी सम्पूर्ण रोगहरूको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालको भौतिक तथा प्रविधियुक्त संरचनाहरूको विस्तार भएसँगै अस्पतालबाट प्रदान हुने सेवाहरू पनि थपिदै गएका छन् । विगतमा आँखामा देखिने सामान्य समस्याहरूको उपचार हुने अस्पतालमा पछिल्लो समय आँखा उपचारसम्बन्धी जटिल प्रकृतिका उपचार पनि भइरहेको छ ।

अस्पतालमा अहिले टाउको दुख्ने समस्यादेखि आँखामा देखिने क्यान्सर, आँखाको नानी प्रत्यारोपण, नानीमा देखिएको क्यान्सरलगायतका जटिल प्रकृतिका उपचार तथा शल्यक्रिया हुने गरेको अस्पतालमा मेसु सन्तोष सुवेदीले जानकारी दिए ।

आँखाको दृष्टि बढाउने÷ घटाउने, आँखाको नानीको सेतो दाग हटाउने एवं आँखाको वरीपरी देखिएको क्यान्सरको उपचार तथा शल्यक्रिया–समेत उपलब्ध हुँदै आएको छ । अस्पतालमा अहिले जटिलभन्दा जटिल अवस्थाका समस्याहरूको समेत सफल उपचार हुने गरेको छ ।

नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा पछिल्लो समय आँखाको नानीको उपचार, आँखाको क्यान्सर, आँखाको पर्दासम्बन्धी समस्या, बाल आँखा रोगसम्बन्धी उपचार तथा शल्यक्रिया गर्दै आएको अस्पतालका मेसु तथा नेत्ररोग विशेषज्ञ डा. सन्तोष सुवेदीले जानकारी दिए ।

शरीरका कुनैपनि रोगहरूको कारणले आँखाको पर्दामा देखिने समस्या र त्यसको उपचार अत्याधुनिक मेसिन तथा दुरबीनद्वारा गर्ने गरिएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ को साउन महिनादेखि हालसम्म २ सय ३६ जना बिरामीहरूको आँखाको पर्दासम्बन्धी उपचार तथा शल्यक्रिया गरिएको छ । यसैगरी ३० जनाको लेजर प्रविधिको प्रयोग गरी आँखाको पर्दाको उपचार गरिएको अस्पतालको तथ्यांक छ ।

यस्तै ८० जना बिरामीहरूको आँखाको उपचार सुईको माध्यमबाट गरिएको छ । यस विधिबाट आँखाको पर्दामा देखिएका समस्याहरूको उपचारका लागि आँखाभित्रै औषधी दिने गरिन्छ ।

यसैगरी मेसिन तथा दूरबीनको प्रयोग गरी आँखाको पर्दामा प्वाल परेको, जाली लागेको, आँखाभित्र रगत जमेको, मोतियाविन्दुको उपचार तथा शल्यक्रिया सेवा उपलब्ध हुनुका साथै आँखाभित्र पसेको फलामको टुक्रा, ढुंगाजस्ता वस्तुहरू निकाल्न अत्याधुनिकस्तरको प्रविधि प्रयोग गरेर उपचार हुने गरेको उनले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म आँखाको क्यान्सर, आँसु नली र आँसुको थैली निकाल्ने सम्बन्धी समस्या भएका २ सय ७९ जना बिरामीहरूको शल्यक्रिया गरिएको छ ।

ती मध्ये २९ जनाको आँसु नलीसम्बन्धी रोगको उपचार तथा शल्यक्रिया गरिएको छ । ३९ जनाको आँखामा मासु पलाएको, ६ जनाको आँखाको ढकनी र चाउरीपना सम्बन्धी ३ जनाको शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेको अस्पतालको तथ्यांक छ ।

यसका साथै अस्पतालमा आँखामा जोडिएको हाडसम्बन्धीको उपचार तथा शल्यक्रिया, बालनेत्र रोगसम्बन्धीको उपचार तथा शल्यक्रिया, आँखाको नसा र नानीसम्बन्धीको उपचार तथा शल्यक्रिया सेवा प्रदान हुँदै आएको अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेलले जानकारी दिए । उनले आर्थिक वर्ष ०७८÷०७९ को हालसम्म ९ जना बिरामीहरूको आँखाको नानी प्रत्यारोपण गरिएको बताए ।

यसका साथै अस्पतालमा आँँखाको बिग्रिएको भाग निकाल्ने, आँखा मिलाउने, दृष्टि बढाउने, नानीको आकार बढाउने÷घटाउने, नानी पातलो हुँदै जाने समस्या, नानीमा सेतो दाग देखिने, घाउ चोटपटक, ट्युमर हटाउने, आँखाको नानीमा देखिएको क्यान्सरलगायतका आँखासम्बन्धी सबै रोगहरूको उपचार तथा शल्यक्रिया हुँदै आएको छ ।

यसका साथै आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएका बिरामीहरूका लागि निःशुल्क उपचार तथा शल्यक्रिया प्रदान गर्दै आएको डा. सुवेदीले जानकारी दिए । विपन्न तथा न्यून आय भएका बिरामीहरूको आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई निःशुल्क उपचार सेवा दिदै उनले बताए । पोर पयासेन्ट फण्ड स्थापना गरी विपन्न वर्गका बिरामीहरूलाई त्यसबाटै उपचार गर्ने गरिएको उनले जानकारी दिए ।

आँखासँग सम्बन्धित सबै रोगको उपचार राप्ती आँखा अस्पातलबाटै हुने गरेपनि बिरामीहरू निजी अस्पताल तथा जिल्ला बाहिरका अस्पतालहरूमा जाने गर्दा बिरामीको बढी खर्च हुने गरेको तर्क अस्पतालको रहेको छ । अस्पतालमा उपलब्ध सेवाका बारेमा जानकार नहुँदा पनि बिरामीहरू अन्यत्रै रिफर हुने समस्या रहेको उनीहरूको भनाइ छ ।

बुधबार राप्ती आँखा अस्पताल रक्षाचौरले पत्रकार सम्मेलन गरी अस्पतालले प्रदान गर्दै आएका सेवा तथा स्वास्थ्य कार्यक्रमहरूका बारेमा जानकारी गराएको हो । सो अवसरमा सहभागी पत्रकारहरूले अस्पतालले प्रदान गर्दै आएको सेवाहरूको बारेमा प्रचारप्रसार हुन नसक्दा बिरामीहरू महँगो शुल्क तिरेर अन्यत्रै उपचार गर्ने÷गराउने गरेको बताए ।

नेपाल नेत्रज्योती संघ दाङका सचिव सुरेन्द्र खड्काले अस्पतालमा स्वास्थ्य सेवासँगै सचेतनाका कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गर्दै जाने बताए । आँखा स्वास्थ्य सेवासँगै अस्पतालले शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा प्रागिक संस्थाका रूपमा विस्तार गर्ने गरी कार्ययोजनाहरू अगाडि बढाइएको जानकारी गराए ।

निजी अस्पतालहरूले भ्रम फैलाउने र गलत प्रचार गर्ने गरेकाले सेवाअुनसारको नतिजा प्राप्त गर्न नसकिएको उनले बताए । उनले सेवाको अवस्थालाई थप व्यवस्थित गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम अस्पतालका प्रशासन समिति सदस्य चिरञ्जीवी रिजालको अध्यक्षतामा भएको थियो ।

यसका साथै अस्पतालमा डेढो आँखाको उपचार तथा शल्यक्रिया, अल्छी आँखाको उपचार तथा चेकजाँच, बालबालिकाको आँखाको दृष्टि दोषको चेकजाँच तथा उपचार, बालबालिकाको मोतीयाविन्दुको शल्यक्रिया, न्यून दृष्टिसम्बन्धी सबै समस्याहरूको चेकजाँच, उपचार तथा परामर्शसहितको सेवा प्रदान हुँदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here