Monday, April 22, 2024
Homebreaking-newsसहज की जोखिम ?

सहज की जोखिम ?

- Advertisement -spot_img

खुला बजारको नीति …

उमा भण्डारी
दाङ, २४जेठ । दाङ कोरोनाभाइरस संक्रमणका कारण उच्च जोखिममा छ । जिल्लामा कोरोना संक्रमितहरू थपिदै गएका छन् । प्रत्येक दिन संक्रमितहरू बढ्दै जाँदा आम नागरिकहरूमा डर, त्रास, चिन्ता उत्तिकै छ ।

कोरोनाभाइरस संक्रमितहरू बढ्दै जाँदा जिल्लामा रहेका बजारहरू भने खुल्न थालेका छन् । स्थानीय उद्योग वाणिज्य संघ संस्थाहरूको अगुवाईमा बजार खुलिरहेको छ ।

लामो समयसम्मको लकडाउनका कारण व्यापार, व्यवसायमा क्षति पुगेको भन्दै दाङका उद्योग वाणिज्य संघहरू बजार खुलाउने तयारीमा लागेका छन् । त्यसले थोरै भएपनि ब्यवसायीहरूले राहत त महसुस गरेका छन् । तर जोखिम पनि उत्तिकै बढी छ ।

व्यवसायिक सटरहरू बन्द गर्दैमा कोरोना संक्रमण नियन्त्रण नहुने भन्दै यहाँका व्यवसायीहरू लकडाउन खुकुलो बनाउने पक्षमा उभिएका हुन् ।

सातामा दुई÷तीन दिन मात्रै बजार खोल्दै आएका जिल्लाका व्यवसायीहरू नियमित बजार खुलाउने विषयलाई लिएर यतिबेला स्थानीयतह र जिल्ला प्रशासनसँगको समन्वयका लागि लगातार छलफलमा जुटिरहेका छन् । स्थानीय सरकारसमेत यस विषयमा सकारात्मक देखिएको छ ।

व्यवसायीहरूले उठाएका कुराहरूलाई स्थानीय सरकारले सकारात्मक रूपमा लिएपनि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रलले बजार खोल्नु तत्कालका लागि उचित नभएको टिप्पणी गरेका छन् ।

सरकारले लगाएको लकडाउनका कारण कोरोना संक्रमणलाई फैलिन नदिएको भन्दै यसलाई थप व्यवस्थित बनाउनुपर्ने उनको तर्क छ ।

‘लकडाउन र क्वारेन्टाइनका कारण कोरोना संक्रमण फैलिएको छैन’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्–‘आफूखुशी बजार खोल्दा संक्रमितहरूको संख्या बढेमा त्यसको जिम्मेवारी कसले लिने ?’

तुलसीपुर उपमहानगर–पालिकाका नगरप्रमुख घनश्याम पाण्डे लकडाउनका कारण बन्द भएका व्यवसायहरू खोल्नुपर्ने निर्णयमा सकारात्मक भएको बताए ।

लामो समयसम्मको लकडाउनले आम नागरिकहरूको जिवनशैलीमा प्रत्यक्ष प्रभाव पारेको र सामाजिक दूरी र सुरक्षा सतर्कता अपनाउँदै बजार खोल्नुपर्ने विषयमा स्थानीय सरकार सकारात्मक भएको बताए ।

‘लकडाउनका कारण बन्द भएका बजारहरू अब विस्तारै खुल्छन्’ उनले भने–‘बजार खोल्नुपर्छ भन्ने विषयमा स्थानीय सरकार सकारात्मक छ, आवश्यक पनि छ ।’

लकडाउन बढाएर, बजार बन्द गरेर मात्रै कोरोना नियन्त्रण नहुने भन्दै बजार खोल्नुपर्ने आवश्यक रहेको उनले बताए ।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएको समयमा बजार खोल्नु तत्कालका लागि उचित नभएको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरूलाल चौधरीको भनाइ छ ।

लकडाउन र बजार बन्दका कारण सबैलाई असर परेको भएपनि अहिले नै व्यवसायीहरू अत्तालिन नहुने उनले बताए । बजार खोल्न पाउनुपर्छ भन्ने विषय सकारात्मक भएपनि केहि समय पछि मात्र खोल्न उचित हुने उनले बताए ।

‘सुरक्षा सतर्कता अपनाउँदै अब सबैकुरा सामान्य त बनाउनैपर्छ’ उनले भने– ‘सबै बन्द गरेर पनि सम्भव छैन, तर केही समयसम्म व्यवसायीहरूले धैर्य गर्नुपर्ने हो ।’

व्यापार, व्यवसाय बन्द गर्दैमा कोरोना संक्रमणको जोखिम नियन्त्रण नहुने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए ।

व्यवसायीहरूको सटर बन्द गरेर कोरोना नियन्त्रण हुने भए थप पाँच महिना बजार बन्द गर्न आफूहरू तयार रहेको उनले बताए । लामो समयसम्मको लकडाउनका कारण व्यापार, व्यवसाय गर्नेहरू मर्कामा परेको उनको भनाइ छ  ।

बजार बन्द हुँदा भाडामा व्यवसाय गर्ने, साना व्यापारी, ज्याला मजदुरी गरेर खानेहरू प्रत्यक्ष पीडित भएकाले बजार खोल्न लागेको उनले बताए । नागरिकहरू रोगले भन्दा भोकले मर्ने अवस्था आउन लागेको भन्दै बजार खोल्नुपर्ने कुरा उठाएको उनको भनाइ छ ।

‘सरकारले लकडाउनको समयमा कुनै पनि सहुलियत प्रदान नगर्दा हामी व्यवसायीहरूको औचित्य समाप्त भएको छ’

उनले भने– ‘यसर्थ सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्दै बजार खोल्ने भएका छौँ, खोल्छौँ पनि ।’

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले राज्यको नीतिमा रहेर बजार खोल्न लागिएको बताए । सरकारले व्यवसायीहरूलाई राहत प्रदान नगरेको भन्दै उनले स्थानीय सरकारको समन्वयमा सबै व्यवसायहरू सञ्चालन गरिने जानकारी दिए ।

लकडाउन बढाउनु भन्दा कोरोना संक्रमितहरूको व्यस्थापनलाई बलियो बनाउन आवश्यक रहेको उनको भनाई छ । आमजनताको समस्यालाई कसरी बुझ्ने र अपनत्व कति लिने ? भन्नेबारे सरकारमा निर्भर रहने उनी बताउँछन् ।

लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले आफ्नो ढंगले बजार खोल्नु गलत भएको बताए । ब्यापार सञ्चालन गर्नुभन्दा रोगको संक्रमणबाट बच्नु ठूलो कुरा भएको भन्दै व्यवसायीहरूसँग छलफल गरेर यसलाई व्यवस्थित गराउने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here