Saturday, April 27, 2024
Homeफिचरविकल्प विना असम्भव

विकल्प विना असम्भव

- Advertisement -spot_img

तुलसीपुर उपमहानगरपालिकालाई वातावरणीय असरबाट जोगाउन र हरियाली तथा स्वस्थ सहर बनाउने उद्देश्यका साथ नगरमा यससँग सम्बन्धित अभियानहरु सञ्चालन हुँदै आएका छन् । केही समय अघि बजार क्षेत्रमा हर्न निषेधित क्षेत्रको रुपमा घोषणा भयो । अहिले त्यो कार्यान्वयनको चरणमा रहेको पाइन्छ । त्यो भन्दा अघि क्लिन तुलसीपुर तथा ग्रीन तुलसीपुर अभियान सञ्चालन भएको अहिलेसम्म सञ्चालनमै छ । माघ १ गतेदेखि उपमहानगरमा प्लाष्टिकका झोलामुक्त अभियान सुरु भएको छ । यो प्रभावकारी कम देखिएको छ । प्लाष्टिकको विकल्पमा अन्य झोलाहरुको ब्यवस्थापन नहुँदा र आम उपभोक्ताहरुलाई प्लाष्टिकको असरका बारेमा र अभियानको बारेमा जानकारी नहुँदा यसका प्रभावकारिता दुई महिना बितिसक्दा पनि प्रभावकारी ढंगले अघि बढेको देखिएको छैन । यसै विषयलाई लिएर प्रदेश टुडेको नियमित साप्ताहिक स्तम्भ टुडे राउण्ड टेबलमा नगरक्षेत्रका सरोकारवालाहरुको धारणा बुझ्ने प्रयास गरेका छौं । 

उपभोक्ताहरु सचेत बन्नु पर्दछ

घनश्याम पाण्डे
नगर प्रमुख
तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरले सञ्चालन गरेको यो अभियानमा सबै उपभोक्ता, नागरिक तथा नगरबासीहरुको भूमिका महङ्खवपूर्ण रहेको छ । यसलाई हामीले चाँडै नै प्लाष्टिकमुक्त सहर बनाउने छौँ । यसका लागि सबै सक्रिय भएर लागेका छौँ । हामीले उपमहानगरको वातावरणीय पक्षलाई सुधार गर्दै लैजानका लागि यो अभियान सञ्चालन गरेका हाँै ।
पहिलेदेखि प्रयोग गर्दै आएका प्लाष्टिकका झोलाको प्रयोग गर्ने बानीलाई परिवर्तन गर्न सबैलाई गाह्रो नै पर्दछ । तर पनि विस्तारै कागज र कपडाका झोलाहरु प्रयोग गर्ने बानीको विकास गर्नु सबैको जिम्मेवारी र कर्तव्य हो । अभियान हाम्रो लागि हो भन्ने मानसिकता जबसम्म आमउपभोक्ता तथा व्यापारीहरुमा लागू हुँदैन तबसम्म हामी सफल हुन सक्दैनौँ ।
हामीले यो अभियानको महङ्खव र आवश्यकताका बारेमा उपभोक्ताहरुलाई जानकारी दिँदै आएको छौँ । यस्तै यसले कत्तिको प्रभाव पारेको छ भनेर साप्ताहिक रुपमा अनुगमनसमेत गर्दै आएका छौँ ।
माघ १ गतेदेखि सञ्चालन भएको यो अभियानलाई सफल बनाउनका उपमहानगर मात्र नभई सबै नागरिक, उपभोक्ता, व्यापारी र नगरबासीहरुसमेत सचेत बन्नुपर्दछ । कसैले जबरजस्ती प्लाष्टिकका झोलाहरु दिएर सामान खरिद बिक्री गर्न खोज्दछ भने त्यसलाई उपमहानगरमा जानकारी गराउनु पनि सबैको कर्तव्य हो ।
उपमहानगरलाई सफा, सुन्दर बनाउनु सबैको जिम्मेवारी हो । यसको सुरुवात हामीले गरेका छौँ । तर यसलाई कसरी प्रभावकारी बनाउने भन्ने जिम्मा आम उपभोक्ताहरुसँग पनि जोडिएको छ ।
किनभने अभियान सञ्चालन गर्दैमा सबै एकै महिना तथा हप्ता दिनमै पूरा हुने होइन । यसलाई सफल बनाउनका लागि उपभोक्ताहरु समेत सकारात्मक भएर लाग्नु पर्दछ । व्यापारीहरुले यसलाई मनन् गर्दै मापदण्ड विपरीत (२० माईक्रोम भन्दा कम मोटाई)का प्लाष्टिकहरु प्रयोग तथा वितरण बन्द गर्नुपर्दछ । यस्तै उपभोक्ताहरुले पनि कागज र कपडाका झोलाहरुको प्रयोग गर्ने बानीको विकास गर्नुपर्ने देखिन्छ ।
र सबैलाई प्रयोग गर्न लगाउनुपर्दछ । यति भयो भने अभियान सञ्चालनको औचित्य हुनेछ । यसलाई सबैले सकारात्मक भएर व्यवहारमा उतार्नु पर्दछ ।

पहिलेभन्दा केही सुधार आएको छ

नवराज लामिछाने
संयोजक
वातावरण संरक्षण तथा विपद् व्यवस्थापन समिति तथा वडा अध्यक्ष
वडा नम्बर ६ तुलसीपुर उपमहानगरपालिका

हामीले सञ्चालन गरेको यो अभियानमा पहिलेको भन्दा केही सुधार आएको छ । तुलसीपुर उपमहानगरको वातावरण संरक्षण तथा विपद् व्यवस्थापन समिति अन्तर्गत सञ्चालनमा आएको यो अभियानले विस्तारै उपभोक्ताहरुमा प्रभाव पार्दै गएको पाइएको छ ।
हामीले यसलाई माघ १ गतेदेखि सञ्चालनमा ल्याएका हौँ । २० माईक्रोमभन्दा कम भएका प्लाष्टिकका झोलाहरुलाई प्रयोगका लागि निषेध गर्ने गरेका छौँ । र अहिले पछिल्लो समयमा निकै सुधार आएको छ । प्लाष्टिकको गुणस्तर मापनका लागि प्रयोग गरिने मेसिनले जुनसुकै अवस्थामा पनि व्यवसायीक पसल तथा डिलरहरुमा त्यसको गुणस्तरीयता मापन गर्न सकिने व्यवस्थासमेत गरिएको छ ।
उपभोक्ताहरुलाई ठगिएको महसुस भयो भने हामीसँग प्लाष्टिकको गुणस्तरता मापन गर्ने तीनवटा मेसिनहरु छन् । जसले जुनसुकै समयमा पनि मापन गर्न सकिन्छ । आम उपभोक्ताहरुले प्रयोग गर्दै आएका प्लाष्टिकका झोलाहरु गुणस्तरहीन, खस्रो, च्यातिने, सामानहरु बोक्दा झोला फुट्नेजस्ता समस्याहरु निम्तिने गरेका छन् ।
जलाउँदा राम्रोसँग नजल्ने, धुँवा बढी निस्कने हुँदा वायु प्रदूषण बढ्नुको साथै मानव स्वास्थ्यमा समेत नराम्रो असर पर्दछ । यसको मूल्याङ्कन त नागरिकहरुले पनि त गर्न सक्छन् । तत्कालै सबै ठाउँमा मापदण्डसहितका झोलाहरु प्रयोग भएको छैन ।
तर हामीले सबैभन्दा बढी प्रयोगमा आउने खुद्रा पसल, डिलर तथा होलसेल पसल, तरकारी पसलहरुमा साप्ताहिक रुपमा विशेष अनुगमन गर्ने कार्य भइरहेको छ । यसमा हामी अभियान्ताहरु मात्रै हिडेर, बोलेर मात्र यो सफल हुँदैन । यसलाई सफल बनाउनका लागि सबै नागरिकहरुले आफ्नो मानसिकतालाई अभियानको मुल आदर्श भित्र ल्याउन जरुरी छ ।
नयाँ बानीको विकास भई नसकेका कारण बजार क्षेत्रमा खरिद बिक्रीका लागि प्रयोग गरिने प्लाष्टिकका झोलाको प्रयोगलाई पूर्णरुपमा नियन्त्रण गर्न कठिनाई भएको त छ । तर पनि हामी बारम्बार यसको निगरानीमा जुटिरहेका छौँ । यसको पूर्णरुमा नियन्त्रण गर्नका लागि हामी सबै आ–आफ्नो घर, पसलहरुबाट लाग्नुपर्दछ ।
अभियान्ता र उपमहानगरका लागि मात्र आवश्यक नभई सबैका यो अत्यावश्यक छ भन्ने कुरामा सबै सकारात्मक हुनुपर्दछ । सबै ठाउँमा पर्याप्त मात्रामा मापदण्डसहितका झोलाहरु प्रयोग हुन नसक्दा हामीले सबैभन्दा बढी प्रयोगमा आउने खुद्रा पसल, डिलर तथा होलसेल पसल, तरकारी पसलहरुमा विशेष अनुगमन गरीरहेका छौँ । यसले चाँडै नै पूर्णता पाउने छ ।

निर्णयले हैन, सचेतनाले अभियान सफल

विरेन्द्र कुमार शाह
वडा अध्यक्ष
वडा नं. ५
तुलसीपुर उपमहानगरपालिका

हाम्रो वडाले तुलसीपुर बजार क्षेत्र ओगटेको भए पनि वडाका कुनै पनि जनप्रतिनिधिहरुलाई यसको बारेमा केही पनि जानकारी प्राप्त भएको छैन । प्लाष्टिक झोलामुक्त गर्नका गर्नका लागि कार्यपालिकाको बैठकले छलफल गरेको हो । त्यसपछि मलाई र वडाका जनप्रतिनिधिहरुलाई यसको विषयमा पुर्णरुपमा सूचना मिलेको छैन ।
अभियान सबैका लागि आवश्यक त हो । तर यसलाई कसले कसरी सञ्चालन गरिरहेको छ ? त्यो भने पूर्णरुपमा थाहा छैन । अभियान सञ्चालन गरेर मात्र हुने होइन यसका लागि वैकल्पिक व्यवस्थापन पहिलो आवश्यकता हो ।
हाम्रो वडाले लगभग वजार क्षेत्र सबै ओगटेको छ । वडामा रहेका वडाबासीहरु मात्र नभई हामी जनप्रतिनिधिहरुलाई यस विषयमा जानकारी नहुनु भनेको लाजमर्दो कुरा हो । यसलाई अभियान्ताहरुले बुझ्नु पर्ने हो । सम्बन्धित तह र निकायहरुसँग राम्रो समन्वय र सहकार्य भएमा कुनै पनि योजना तथा कामहरु पूर्णरुपमा सफल हुन्छ ।
तर एकलौटी कुनै पनि अभियान सफल बन्न सक्दैन । जसको परिणाम बीचमै सीमित बन्न पुग्दछ । प्लाष्टिकमुक्त क्षेत्र घोषण गर्नका लागि पहिले आम नागरीकहरुमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । निर्णय मात्र गरेर हुँदैन । यसका लागि सञ्चार माध्यमहरुद्वारा प्रचार प्रसार तथा सूचनाहरु व्यापक हुनु पर्दछ ।
यस्तै योजना तर्जुमा, निर्णय र कार्य सम्पादनका लागि वडासँगको सहकार्य र समन्वय अनिवार्य हुन्छ । तर यहाँ कसैलाई पनि यसको बारेमा पूर्ण जानकारी मिलेको छैन । विभिन्न समयमा जनप्रतिनिधि, सरोकारवालाहरुले यसको आवश्यकता र महङ्खवको बारेमा नागरिक तथा उपभोक्ताहरुलाई बुझाउनु पर्दछ । अनि अभियान सफल बनाउन सम्भव छ  । होइन भने एक पक्षीय समन्वयमा सञ्चालन गरिएका कुनै पनि अभियानहरु विफल भएर जान्छन् ।

कार्यान्यवन फितलो

जनक खराल
अध्यक्ष
प्रजातान्त्रिक उद्योग व्यवसायी संघ, तुलसीपुर

उपमहानगरपालिकाले जुन उद्देश्यले अभियान सञ्चालन गरेको छ, त्यो अभियान प्रभावकारी भएको छैन । आम उपभोक्तासँगको प्रत्यक्ष निगरानी र समन्वय हुन नसक्दा यसको कार्यान्वयनमा फितलोपना देखिएको छ । अभियान सञ्चालन गरेर मात्र हुँदैन । त्यसका लागि आवश्यक पर्ने स्रोत र साधनहरुको पर्याप्त व्यवस्था हुनुपर्दछ ।
यस्तै कुनै पनि वस्तुको प्रयोगमा रोक लगाउनु छ भने त्यसको लागि सर्वप्रथम तत्काल समस्या समाधान गर्ने वैकल्पिक व्यवस्थापन गर्न जरुरी छ । होइन भने कसरी नीति नियम तथा योजनाहरु पूर्णरुपमा कार्यान्वयन हुन्छ । बजार क्षेत्रलाई प्लाष्टिक झोलामुक्त बनाउनका लागि यो अभियान आवश्यक भए पनि व्यवहारिक बन्न सकेको छैन । जसका कारण नागरिकहरु यसप्रति सकारात्मक बन्नुको सट्टा आलोचित बन्दै गएका छन ।
दिनहुँ खरिद बिक्रीका लागि झोलाहरुको अत्यावश्यक पर्दछ । मापदण्ड विपरीतका झोलाहरु प्रयोग गर्न नपाइने भन्ने तर यसको विकल्पका लागि कुनै झोलाको व्यवस्था भने नगर्ने ? स्रोत र साधनहरु उपलब्ध नभए कसरी उपभोक्ता तथा व्यवसायीहरुले अभियानको परिपालना सहि तरिकाले गर्न सक्दछन ? अभियान सञ्चालन गरेर मात्र हुँदैन ।
योजना अनुसार अभियान्ताहरु जनताहरुको साझ प्रत्यक्ष रुपमा सहभागी हुनुपर्दछ । समय–समयमा निगरानी गरिरहेको भन्ने सुनिन्छ ।
तर कहाँ कति परिमाणमा मापदण्डसहितका झोलाहरु प्रयोग भएका छन् । कहाँ कति परिमाणमा मापदण्ड विपरीत झोलाहरु प्रयोग भएका छन् ? यस विषयमा समेत अभियान्ताहरुले ध्यान दिन जरुरी छ ।
हरेक पटकको अनुगमन उपलब्धिमूलक भयो भने मात्र यो अभियान सफल हुन्छ । नागरिकहरुलाई जिम्मा दिएर मात्र अभियान सफल बन्दैन । यसका लागि वैकल्पिक व्यवस्था, विशेष रुपमा बजारको निगरानी र प्रत्यक्ष जनसम्पर्क हुन जरुरी छ । तब मात्र कार्यान्वयन प्रभावकारी हुन्छ । नत्र अभियान सेलाएर जान्छ ।

अभियान सार्थक बनाउन वैकल्पिक व्यवस्था

डिल्ली बहादुर वली
कोषाध्यक्ष
तुलसीपुर उद्योग वाणिज्य संघ

व्यवसायिक संस्थाको तर्फबाट बोल्नु पर्दा यो अभियान सबैका लागि आवश्यक त छ । तर अहिले नभएर यो अभियान भविष्यका लागि उपयुक्त छ । अहिले गृहकार्यका रुपमा यो अभियानलाई लिनुपर्ने थियो । पूर्णरुपमा प्लाष्टिकका झोलाको प्रयोगमा रोक लगाउने भनेर जुन अभियान थालिएको हो, यो अपूरो छ ।
किनभने अहिले अभियानलाई सञ्चालन गरिरहदा यसलाई पूरा गर्ने मापदण्डहरु व्यवस्थित छैनन् । अभियान सुरु गर्नुभन्दा पहिले यसको बारेमा सबैलाई जानकारी गराउनुपर्ने थियो । आम नागरिक तथा उपभोक्ताको माझमा यसको आवश्यकता र महङ्खवको बारेमा समयमै जानकारी गराउनुपर्ने हो । त्यो पनि भएको छैन ।
अभियानलाई हचुवाकै भरमा पूर्णता दिन सकिदैन । यसका लागि विशेष गृहकार्य गर्न जरुरी हुन्छ । न त व्यस्थापन पक्ष छ, न त उत्पादक नै । यस्तै प्लाष्टिकको झोलाको विकल्पमा अन्य झोलाको व्यवस्था गर्नुपर्ने थियो । त्यसको पनि व्यवस्था छैन । कुनै विकल्प विनानै अभियानलाई सञ्चालन गर्दा सबैमा अन्यौलता छाएको छ ।
कहाँ गए कस्तो झोला पाईन्छ ? कुन ठाउँमा कसले उत्पादन गर्छ ? कस्तो खालको झोला प्रयोग गर्नु पर्दछ ? भन्ने विषयमा समेत उपभोक्ताहरु अझै पनि अन्यौलमा रहेका छन् । यसले कसरी अभियान सफल हुन्छ ? तुलसीपुर उद्योग वाणिज्य संघले यो अभियानलाई सहयोग गरिरहेको छ । संघले प्लाष्टिक झोलामुक्त बनाउनका निम्ती समय–समयमा बजार अनुगमन तथा निगरानी गरिरहेको छ ।

अभियानलाई हचुवाकै भरमा पूर्णता दिन सकिदैन । यसका लागि विशेष गृहकार्य गर्न जरुरी हुन्छ । न त व्यस्थापन पक्ष छ, न त उत्पादक नै । यस्तै प्लाष्टिकको झोलाको विकल्पमा अन्य झोलाको व्यवस्था गर्नुपर्ने थियो ।

हुन त सबैका लागि नगल्ने, स्वास्थ्यलाई असर नगर्ने झोलाको प्रयोग गर्नुपर्दछ भन्ने अभियान सबैका लागि राम्रो हो । तर अहिले तत्कालका लागि के उपयोग गर्ने ? भन्ने विषयले सबैलाई समस्या निम्त्याएको छ । आम उपभोक्ताहरुले कुन आधारमा गुणस्तरीय झोलाहरु प्रयोग गर्ने भन्ने विषयमा समेत अभियान्ताहरु स्वयम् अन्यौलतामा रहेका छन् ।
यसले कसरी साप्ताहिक रुपमा गरिने निगरानीले केही सुधार त भएको छ । तर साप्ताहिक रुपमा गरिएको अनुगमनले मात्र बजारमा यसको प्रयोग रोकिन्छ भन्न सकिदैन ?
यसका लागि सबैले हरेक स्थानबाट विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ । यसका लागि सम्बन्धित सरोकारवालाहरुले समयमै गुणस्तरीय झोलाको बजारीकरणको व्यवस्था गर्नुपर्दछ । स–साना खुद्रा पसल, किराना पसलहरुमा अनुगमन गरेर मात्र हुँदैन । यसका होलसेल, खुद्रा तथा डिलरहरुमा विशेष निगरानी गर्नुपर्दछ ।
अनि मात्र सबैले मापदण्ड अनुसारका झोलाहरु प्रयोग गर्ने वातावरणको सिर्जना हुन्छ । उत्पादन, वितरण र त्यसको बजारीकरण प्रभावकारी रुपमा व्यवस्थापन भयो भने बाध्य भएर पनि सबैले प्लाष्टिकका झोलाहरुको प्रयोगलाई बन्द गरी २० माईक्रोमभन्दा बढी मोटाईका प्लाष्टिकका झोलाहरु प्रयोग गर्ने छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here