Friday, April 26, 2024
Homeफिचरपालिकामा आर्थिक काम ठप्प

पालिकामा आर्थिक काम ठप्प

- Advertisement -spot_img

दाङ, ११ पुुस । स्थानीयतहहरुले सञ्चालनमा ल्याएको कम्प्युटर सफ्टवेयर ‘ह्याक’ भएपछि आर्थिक कारोबारको कामकाजमा समस्या परेको छ ।
महालेखा परीक्षण कार्यालयले विकसित गरेको सफ्टवेयर स्थानीय सुरक्षित कोष व्यवस्थापन प्रणाली (सुत्र) अचानक ह्याक हुँदा स्थानीय तहमा सफ्टवेयरमार्फत हुने आर्थिक गतिविधिका सम्पूर्ण कामकाज ठप्प भएका छन् । भुक्तानीलगायत अर्थसँग सम्बन्धित सम्पूर्ण काम ठप्प भएको तुलसीपुर उपमहानगरपालिका लेखा अधिकृत बासुदेव अधिकारीले बताए ।
‘सफ्टवेयरमार्फत हुने सम्पूर्ण कामहरु बन्द भएका छन्, खै अब १/२ दिनमै हुन्छ की भन्ने केन्द्रबाट खबर आएको छ’ उनले भने– ‘देशभरी नै यो समस्या आएकाले समाधान होला भन्ने आशा छ ।’
तुलसीपुर उपमहानगरपालिकामा बिहीबार १० पुससम्म झण्डै २५ वटा भुक्तानीका कामहरु रोकिएको उनले बताए । ‘भुक्तानमात्रै २५ वटासम्म रोकिएको छ, सफ्टवेयरमार्फत हुने काम झण्डै २ सयको हाराहारीमा छन्’ उनले भने– ‘अर्को चिन्ता त के छ भने अरु डाटा पनि जाने सम्भावना हुन्छ ।’
सरकारी लेखा प्रणाली अनुसार चल्ने सबै स्थानीयतहको आर्थिक गतिविधिमा अवरोध आएको हो । सुत्र ह्याक भएपछि स्थानीयतहका सबै आर्थिक गतिविधि ठप्प भएको स्थानीयतहहरुले जनाएका छन् ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले सप्टवेयर अझै सञ्चालनमा नआउँदा नगरको आर्थिक गतिविधि ठप्प भएको बताए । उनले अहिले भुक्तानीको त्यति धेरै चाप नभए पनि धरौटी फिर्ता, विभिन्न योजनाहरुको पेश्की तथा नियमित कार्यालय सञ्चालनका भुक्तानीहरु प्रभावित भएको बताए ।
शान्तिनगर गाउँपालिकाका लेखा अधिकृत लेखा भण्डारीले कारण आर्थिक गतिविधि ठप्प भएको र भौतिक संरचना निर्माणका योजनाहरु प्रभावित भएको बताइन् । नियमित कामकाजका भुक्तानी रोकिदा ठूलो समस्या नभए पनि महत्वपूर्ण योजनाहरु प्रभावित भएको भण्डारीले बताइन् ।
उनले धेरै मेहनत गरेर प्रविष्ट (इन्ट्री) गरेको विवरण (डाटा) सबै उडेकाले आर्थिक गतिविधिको विवरण गुमेको बताइन् । ‘गत विगत वर्षहरुको आर्थिक विवरणसँगै चालु वर्ष साउनदेखिका सबै विवरण इन्ट्री थियो’ लेखा अधिकृत भण्डारीले भनिन् ‘सिस्टम नै ह्याक हुँदा अपडेट गरिएका सबै डाटा डिलेट भएछन् ।
अब फेरि इन्ट्री गर्न धेरै झन्झट हुन्छ ।’दाङका सबै स्थानीय तहमा पनि सुत्र नचल्दा विकास निर्माणका काम प्रभावित भएको छ । बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, बंगलाचुली गाउँपालिका, राप्ती गाउँपालिका,
गढवा गाउँपालिका, राजपुर गाउँपालिकामा पनि आर्थिक काम ठप्पप्राय छ । लमही नगरपालिकामा पनि अर्थसँग सरोकार राख्ने सम्पूर्ण कामकाज ठप्प भएको नगरपालिकाका लेखा अधिकृत गौरब लामिछानेले बताए ।
‘भिडभाड हुने समय त होइन्, तैपनि भुक्तानीलगायतका कामहरु रोकिएका छन्, उनले भने– ‘त्योभन्दा त अझ पहिले इन्ट्री गरेको विवरण हराउने खतराले चिन्तित बनाएको छ ।’
उनले सफ्टवेयरले काम नगर्दा सबै कागजात टेबलमै थन्किएको बताए । ‘कम्प्युटर प्रणालीमार्फत हुने काम हातले गरेर पनि नहुने, सफ्टवेयरमा काम गर्ने बानी परिसेकेका छौँ’ उनले भने–‘सफ्टवेयरमा सजिलो पनि हुन्छ, कहिलेसम्म सफ्टवेयर बन्ने हो, निश्चित छैन् ।
आर्थिक गतिविधि ठप्प हुँदा नगरपालिकामा टाढा–टाढाबाट आउने सेवाग्राही बढी समस्यामा पर्ने गरेको उनले बताए । ‘भुक्तानीका लागि टाढाबाट आउने सेवाग्राहीलाई समस्या परेको छ, लगातार फोन गरिरहनुभएको छ’ उनले भने– ‘धेरै भुक्तानी पेन्डिङमै छन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here