घोराही, २८ बैशाख । खानेपानीको पाइप फुटेको छ वा जोड्नु पर्नेछ भने सबैको दिमागमा झट्टै आउने गरेकी छन् घोराही बडहराकी पलम्वर कुमारी पुन । त्यति मात्र होइन् फलामको पाइप जोडने, खाने पानीको धाराको टुटी जोड्ने,
पाइप मिलाउनको लागि पनि उनलाई नै सम्झने गर्छन् । बिगत १२ वर्षदेखि पलम्वरको काम गर्दै आएकी पुन हापुरका विभिन्न बस्तीमा पुग्ने गर्छिन् ।
कहिले सडक विस्तार गर्दा काटिएको पानीको पाइप जोड्न त कहिले खानेपानीको मुख्य लाइनको मर्मत सम्भार गर्न । उनलाई हिजोआज भ्याई नभ्याई छ पलम्वरको काम गर्न ।
घोराहीको साविक वडा नं. २, ३, ४ र ५ वडाहरुमा उनले नै पलम्वरको काम गर्ने गरेकी छन् । कुमारीका कोमल हातहरु फलामका रड र प्लाष्टिकका पाइपहरुसँग खेलाउँदा कहिले काहिँ त सुनिएर काम नै गर्न मिल्दैन् ।
तर पनि कसैको घरमा वा संस्थामा धारा बिग्रेको छ भनेर फोन आयो भने पुगिहाल्छिन् उनी । ‘फलामका टुटी जोड्दा, मर्मत गर्दा कहिले काहीँ त हात सुन्निन्छ’ उनले भनिन् ‘हात मालिस गरेर वा बाँधेर भएपनि पुगिहाल्छु ।’
शुरुमा कसैले पनि पलम्वरको काम गर्ने भनेर विश्वास नगर्ने पुनलाई हिजोआज सबैको मन जितेकी छन् ।
पहिले महिलाले पनि पलम्वरको काम गर्ने भनेर होच्याउने त्यही समाजले हिजोआज आफ्नो श्रीमती, छोरी र बुहारीलाई पनि पलम्बरको सिप सिकाउन र काम लगाईदिन् अनुरोधसमेत आउने गरेको छ ।
पलम्बर बन्छु भनेर कहिले कल्पना नै नगरेकी पुन हिजोआज दंग पर्छिन् । सबैको माया अनि सम्मान पाउँदा । शुरुमा त उनलाई लोग्नेले हेला गरेको, दुःख पाएर यो पेशामा लागेको होला ?
भनेर नकारात्मक कुरा काट्ने त्यही समाजमा उनले पलम्बरको रुपमा आफ्नो अड्डा नै जमाएकी छन् । महिलाले काम गर्नको लागि श्रीमानबाट हेला हुनु वा दुःख पाउनु पर्दैन भनेर राम्रो चेतना दिएकी छन् उनले ।
‘शुरुमा त पुरुषले पनि गर्न नसक्ने काम गर्ने खोज्ने भनेर खिसी गर्थे’ पुनले शुरुमा पलम्वरको काम गर्दाको क्षण सम्झदै भनिन् ‘काम गर्ने क्षमता हुँदा पनि सित्ती विश्वास गर्दैनथे कसैले ?’
अहिले उनले आफूले सिकेको सिप अरुलाई सिकाउनसमेत सक्षम भएकी छन् । उनले धेरैलाई नै पलम्बरको तालिम समेत दिईसकेकी छन् । पहिले महिलाले पनि पलम्वरको काम गर्ने भनेर होच्याउने त्यही समाजले हिजोआज आफ्नो श्रीमती,
छोरी र बुहारीलाई पनि पलम्बरको सिप सिकाउन र काम लगाईदिन् अनुरोधसमेत गर्ने गरेको पुन बताउँछिन् । ‘घर–परिवारमा समेत पलम्बरको काम नगरे हुन्थ्यो भनेर श्रीमान, छोराछोरीले सम्झाउने गर्थे’ उनले भनिन् ‘मैले तालिम लिएको थिए, क्षमता थियो, कसैको कुरा पनि सुनेन् ।’
१३ वर्ष पहिले तत्कालीन खानेपानी तथा सरसफाई संस्थाको आयोजनामा १५ दिने पलम्वरको तालिम लिएको उनी सम्झन्छिन् । तालिममा खानेपानी संस्थाका ईन्जिनियर तिलक न्यौपानेलाई पनि उनी सम्झिन् ।
‘पलम्बरको तालिम खुलेको थाहा पाए अनि फाराम भरे’ उनले भनिन् ‘त्यो बेला इन्जिनियर तिलक सरले तालिम दिनुभएको थियो ।’ त्यही तालिमबाट सिप सिकेर आत्मनिर्भर भएको उनले बताईन् ।
तालिम सिकेर पनि एक वर्ष जति त खाली नै बसिन् उनी । त्यहि समयमा हापुर खानेपानी तथा सरसफाई समितिले एकजना महिला र एकजना पुरुष गरी दुईजना पलम्वर आवश्यकताको आवेदन खुलेको थियो । त्यो समयमा खानेपानीको समितिमा पनि आवद्ध थिईन् उनी ।
‘समितिले आवेदन खोलेपछि पुरुष पलम्बरको धेरै फारामहरु आए, महिलाको एउटा पनि आएन्’ पुनले समितिमा भनिन् ‘मैले तालिम लिएको छु, म गर्न सक्छु, महिला पदमा खाली राख्नु हुँदैन् ।’ शुरुमा त समितिले पनि विश्वास नगरेको उनले बताइन् ।
पुन अहिले हापुर खानेपानी तथा सरसफाई समिति स्किम नं. २ मा पलम्वर पदमा काम गर्दै आईरहेकी छन् । उनी हापुरस्थित एउटा घरमा खानेपानीको पाईप जोड्ने पलम्वरको काम गर्दै अवस्था भेटिएकी थिईन् ।
उनको एक छोरा र एक छोरी छन् । उनको श्रीमान शिक्षक पेशामा आवद्ध छन् । पहिले सिप सिकेमा कोही पनि खाली बस्नु नपर्ने उनको भनाइ छ । महिला दुःख पाएर मात्र होइन् सिप सिकेर सक्षम बन्न सुझाव दिन्छिन् उनी ।
‘पहिले श्रीमान मात्रै काम गर्दा घर व्यवहार मुस्किलले चल्थ्यो’ उनले भनिन् ‘हिजोआज एकजनाको कमाई बचत हुन्छ ।’