देउखुरी, १७ कार्तिक । गढवा गाँउपालिका–६ मनिकापुरका देवा परियारलाई छोरी सीमाले शुक्रबार बिहान भैलो खेलेको रकमले वनभोज जाने भनिन्, छोरीको आग्रहलाई स्विकार गर्दै उनले पनि आफ्नो छोरीलाई जान अनुमति दिइन् ।
छोरीलाई राम्रोसँग जानु, राम्रोसँग आउनु भनेर सिकाइ अराइ गरिन् । तर देवाले जे भनेकी थिइन् ठिक उल्टो भइदियो, साँझपख गाउँमा ट्याक्टर दुर्घटना भएको खबर आयो । त्यतिबेलासम्म उनले छोरीको बारेमा बास्तविक कुरा थाहा नै पाएकी थिइनन् । दुर्घटना स्थलबाट छोरीलाई गढवा ल्याई सक्दासम्म पनि उनलाई आफन्तले सीमा घाइते मात्र छिन् भनेका थिए, जब उनी आफै अस्पताल पुगिन तर छोरीको मृत्यु भैसकेको थियो ।
सोही गाउँका ६२ बर्षिय टिकाराम पुन मगरको पनि पीडा उस्तै छ । एकमात्र छोरी १३ बर्षिया सुनिताको ट्याक्टर दुर्घटनामा परेर मृत्यु भयो । टिकारामले पनि दुर्घटना भएको बेलुका मात्र थाहा पाएका थिए ।
‘एकदिन अघिबाट उनीहरूले वनभोज खान जाने कुरा गर्दै थिए, रातभर भैलो खेलेर थोर–थोरै पैसा जम्मा गरेका रै’छन् त्यसैले मैले पनि नजाउ भन्न सकिन मृतक बालिका सुनिताका बुवा टिकारामले भने ‘सुनिताकी आमा पनि हात भाँचिएर थलिएकी छन्, केही महिना अघि घाँस काट्ने क्रममा रूखबाट लडेर हात भाँचिएको हो । उनी हातको उपचार गर्न दसैँ मानेर भारतको लखनऊ गएकी थिइन् छोरीको मृत्युको खबर सुनेर शनिबार बिहान मात्र घर आई पुगेकी छन् ।’
देउखुरीको मनिकापुर गाउँ अहिले शोकमा डुबेको छ । गढवा बजारदेखि करिब ४/५ किलोमीटर दक्षिणमा रहेको मनिकापुरका तीन बालिकाले शुक्रबार ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाएपछि गाउँ नै शोकमा डुबेको हो । गाउँघरका साथीहरू मिलेर भैलो खेली जम्मा भएको रकमले वनभोज खान गएका बालबालिका सवार ट्याक्टर दुर्घटना पर्दा एकै गाउँका तीन बालिकाले ज्यान गुमाए ।
देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ अन्तर्गत लमही–कोइलाबास सडकखण्डको चिसापानी भन्ने ठाउँमा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटनामा मनिकापुरका १२ बर्षिया निनु पुन मगर, १२ बर्षिया सीमा परियार र १३ बर्षिया सुनिता पुन मगरले ज्यान गुमाएका छन् । निनु र सीमाले मनिकापुरमा रहेको विद्यालयको कक्षा ७ र सुनिताले कक्षा ५ मा पढ्थे ।
गाउँभरिका आफ्ना दौतरी मिल्ने कम्तिमा पनि ३५/४० जना साना बालबालिकाहरूले भैलो खेलेर करिब ११ हजार रूपैयाँ संकलन गरेका थिए । त्यही संकलन भएको रकमबाट आधा वनभोज खाने र बाँकी बचाउने उनीहरूको योजना थियो, तर योजना अधुरै छोडेर बिदा भए उनीहरू ।
देउखुरीको मनिकापुर गाउँ अहिले शोकमा डुबेको छ । गढवा बजारदेखि करिब ४/५ किलोमीटर दक्षिणमा रहेको मनिकापुरका तीन बालिकाले शुक्रबार ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाएपछि गाउँ नै शोकमा डुबेको हो ।
मृतक तीनैजनाको घरको आर्थिक अवस्था कमजोर छ । निनुका बुवा भारतको चण्डीगढमा एक होटलमा कुकको काम गर्छन् । छोरीको मृत्युको खबर सुनेर शनिबारसम्म घर आईपुग्ने निनुकी आमा माया पुनले बताईन् ।
चारजनाको परिवार पाल्नका लागि श्रीमान् भारत गएको निनुकी आमाले भनिन् ‘छोरीले बिहान वनभोज खान जान्छु भन्दा आज सपना पनि राम्रो देखेको छैन, आफ्नो ख्याल गर्नु भनेर पठाएको थिए, सपना बिपना नै भैदियो । सम्पत्तिको नाममा पाँच कट्ठा जति ऐलानी जग्गा छ उनीहरूको । घर खर्च चलाउन र छोराछोरी लेखाउन पढाउन समस्या भैरहेको बेला मायाको परिवारलाई अर्को बज्रपात परेको छ ।
त्यस्तै ट्याक्टर दुर्घटनामा सोही गाउँकी १२ बर्षिया सीमा परियारको पनि मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूको आर्थिक अवस्था कमजोर भएकोले पोष्टमार्टम गरेर घरसम्म शव ल्याउन समस्या भएको स्थानीय बुद्घिजीबि वीरबहादुर आलेले बताए । ‘घाइतेहरूलाई गाउँघरबाट ऋण कर्जा कार्दै औषधि गर्न लगेका छौँ’ आलेले भने ।
दुर्घटनामा सामान्य घाइते भएका मनिकापुरकै बिपिन रानाले टेक्टर चालकले घाँस दाउरा लोड गरेको, टेक्टरको गति तिब्र भएकोले घुम्तीमा गति नियन्त्रण गर्न नसक्दा एक्कासी पल्टिएको बताए ।
टेक्टरको ड्राइभरले आफ्नो घरको लागि घाँस र दाउरा पनि ल्याउँदै गरेको र अधिकांश बालबालिकालाई त्यही दाउराले च्यापिएर घाइते भएको दुर्घटनाका अर्का सामान्य घाइते अनिता पुन मगरले बताइन् ।
‘ट्रलीमा बसेका सबै साथीहरू डिजेको साउन्डमा उफ्रिरहेका थिए, टेक्टरको गति अत्याधिक तिब्र थियो र एक्कासी पल्टिएछ, हामी भुईमा बजारीएपछि मात्र थाहन पायौँ’ उनले भनिन् ।
शुक्रबार ट्याक्टर दुर्घटनामा मनिकापुर गाउँका सात बालबालिका गम्भीर घाइते भएका छन् । गम्भीर घाइते बालबालिकाको जिल्ला बाहिर विभिन्न अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूको शव पोस्टमार्टम पछि घरपरिवारलाई जिम्मा लगाई सकेको दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले बताए ।