Monday, April 22, 2024
Homeफिचर‘निर्धक्कसँग मतदान गर्ने व्यवस्था छ’

‘निर्धक्कसँग मतदान गर्ने व्यवस्था छ’

- Advertisement -spot_img

मंसिर १४ मा दाङका दुई स्थानमा उपनिर्वाचन हुन लागेको छ । निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचनका लागि आवश्यक सामग्री र आवश्यक व्यवस्थापनको काम पनि चलिरहेको छ । मतदान स्थलमा आवश्यक सुरक्षा, मतपत्र, कर्मचारी , स्वयम्सेवकलगायतका कुराको व्यवस्थापनका बारेमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापासँग गरिएको कुराकानी सारसंक्षेप । 


उपनिर्वाचनको तयारी पूरा भयो ?

हामीबाट हुने सबै तयारी पूरा भईसकेको छ । मतगणनाबाहेक अरू तयारी सकियो । दाङमा हुने उपनिर्वाचनका लागि कर्मचारी मतदानस्थलमा पुगेका छन् । जिल्लाका ३४ स्थानमा तोकिएका मतदानस्थलमा कर्मचारी खटाइएको छ ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, एक सय ६४ जना सहायक कर्मचारी र अन्य गरी सात सय ३६ जना कर्मचारीहरू खटिसक्नु भएको छ । चार सय १० जना कर्मचारी र तीन सय २६ जना स्वयम्सेवक खटाएका छौँ । उपनिर्वाचन हुने ३४ वटा मतदानस्थलको कमाण्ड प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको छ ।
मतदानस्थलको सुरक्षा र निर्वाचनलाई भयरहित बनाउनका लागि प्रहरीको सुरक्षा मजबुद बनाइएको छ । निर्वाचनको समयमा दुई हजार सुरक्षाकर्मी खटाएको छ । अब १४ गते मतदाताहरूले मतदान गर्न मात्रै बाँकी हो ।
मतदान स्थल पुगेका कर्मचारीहरूले मतदान स्थललाई शील गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र तोकिएको सूचना प्रकाशन गर्नेलगायतका काम भइरहेको छ । निर्वाचनका लागि मौनअवधि बुधबार रातिदेखि सुरू भैसकेको छ ।

मतदान समय बताईदिनुस् न ?

मंसिर १४ गते, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

उपनिर्वाचन क्षेत्रको सुरक्षाको योजना के छ ?

सुरक्षाको हिसावले विशेषगरी जिल्ला सुरक्षा समितिले विश्लेषण गरेर गरिने व्यवस्था हो । त्यहाँ चाहीँ २६ वटा मतदान केन्द्रलाई संवेदनशीलको रूपमा लिएको छ । त्यसैगरी छवटालाई अति संवेदनशीलको रूपमा लिएको छ । घोराहीको लागि भने सामान्य भनेर सुरक्षाको दृष्टिले हेरिएको छ । त्यही अनुसार सुरक्षा व्यवस्थाको रणनीतिक योजना बनाइएको छ ।

कुन क्षेत्र अति संवेदनशील क्षेत्र छ, भन्न मिल्छ ?

ति क्षेत्रहरू मैले पनि भन्न मिल्दैन । सुरक्षा निकायले पनि सार्वजनिक गर्नुभएको छैन् । उपनिर्वाचन क्षेत्रका कुन संवेदनशील, अति संवेदनशील र संवेदनशील क्षेत्रको विश्लेषण गरेर आन्तरिक शान्ति सुरक्षाको व्यवस्था गरिएको हुन्छ ।

बुथ कब्जा भयो भने नि ?

बुथ कब्जा गर्ने त कसैले कल्पना नगरे पनि हुन्छ । किनभने त्यही संवेदनशीलको आधारमा कम्तीमा ९ जना र बढीमा २० जना नेपाल प्रहरीका कर्मचारी मतदान केन्द्रमा तैनाथ छन् । त्यो भन्दा बाहिर एरियामा सशस्त्र हुन्छन् । ति क्षेत्रमा आर्मीले गस्ती गरिरहेको हुन्छ ।
यसकारण बुथ कब्जा गर्ने त कल्पना नै नगरेपनि हुन्छ । कसैले कल्पना नगर्दा पनि हुन्छ । सुरक्षा तैनाथ त्यति ठूलो खटाएको छ । सुरक्षालाई पनि चुनौती गरेर बुथ कब्जा गर्छु भन्ने सोच्छ त म कसरी भनु ? नत्र त सुरक्षा योजनालाई आधार मान्ने हो भने त्यो बुथ कब्जा गर्ने कुरामा कसैले पनि सोच्न सक्दैन् ।

सुरक्षाले मतलव नगरेको अथवा मिलेमतो भएको जस्तो पनि गुनासो आउने गर्छन् नि ?

सुरक्षाको डियुटी नै शान्ति कायम गर्ने हो । हुलदंगा नियन्त्रण गर्ने हो । मतदाता परिचय पत्र नभएका व्यक्तिलाई मतदान केन्द्रभित्र छिर्न दिदैन् । अथवा मतदता नभएको खण्डमा पनि मतदाताको अनुमतिविना मतदान स्थलमा जानदिदैन् ।
अब भिड नियन्त्रण के गर्नुपर्छ ? उहाँहरू विशेषज्ञ हो । तालिम प्राप्त हो । सुरक्षाकर्मी तैनाथ भएको समयमा यस्तो घटना हुन्छन् भन्ने कुरा त सोच्नै मिल्दैन् ।

मतगणना निष्पक्ष हुन्छ भनेर मतदाताहरूलाई कसरी विश्वस्त पार्नु हुन्छ ?

निष्पक्ष हुन्छ भन्नको लागि त उम्मेदवारकै प्रतिनिधिहरूको रोहवरमा हामीले मतगणना गर्छौ । खटाएका कर्मचारीहरू ति सबै तटस्थ कर्मचारी नै हुन् । तटस्थ हुन्छ भनेर माथिकै कर्मचारी खटिएका छन् । त्यो भन्दा माथि बसेर नियन्त्रण गर्ने म जिल्ला न्यायधीश नै हो । हामी यही हो निष्पक्ष भएको नभएको त मूल्यांकन तपाईले गर्नुस् । दलले गर्ने हो । उम्मेदवारले गर्ने हो ।

उपनिर्वाचन क्षेत्र भयरहित छन् त ?

छन्, सुरक्षाकर्मीहरू खटिनु भएको छ । सुरक्षा संवेदनशील तोकिएको छ । रणनीति योजनाहरू बनाएका छन् । ढुक्क भए हुन्छ ।

उपनिर्वाचन क्षेत्रमा कुटपिट तथा गतिविधि भएका घटना सार्वजनिक भएका छन् त ?

हो, कुटपिट भयो भनेर मैले पनि सूचना पाएको छु । प्रहरी प्रमुख त्यही क्षेत्रमा हुनुहुन्छ । प्रमुख जिल्ला अधिकारी पनि त्यो क्षेत्रमा पुग्नु भएको छ । यी विषयमा गम्भीररूपमा छलफल भइरहेको छ । भएको घटना त भइहाल्यो नभएको घटना नियन्त्रण गर्ने हो ।

यस्ता घटनाले विशेषगरी पश्चिम दाङको निर्वाचन क्षेत्रका मतदातामा सशंकित पैदा गर्छ कि ?

पक्कै हो । यस्ता हुलदंगा खालका गतिविधि भयो भने शान्ति कायममा खलल पु¥याएको त मान्नैपर्ने हुन्छ । सकेसम्म यस्तो काम गर्नुहुन्न । यदि गरेको रहेछ भने त सुरक्षाकर्मीले तत्काल पक्राउ गरेर कारवाही गर्नुपर्ने हुन्छ ।
त्यो भन्दा पनि राजनीतिक दलहरू र उम्मेदवारहरूले आफ्ना प्रचार प्रसारमा खटिएका कार्यकर्ताहरू छन् । उहाँहरूलाई राम्रो अनुशासन दिएर पठाउनुपर्ने हुन्छ । किनभने कसैको एउटा कार्यकर्ता पक्राउ प¥यो भने उहाँकै एउटा मतदाता घट्छ । संयमता अपनाउने उहाँहरूले नै हो । संयमता सिकाउने उहाँले हो । कानुनले मात्र त अपराध नियन्त्रण हुँदैन नि ?

मतगणना कहाँ, कहिलेदेखि शुरू हुन्छ ?

मतगणना जिल्ला समन्वय समितिको हलमा हुन्छ । वडाको हकमा त्यही दिन नै शुरू हुन्छ । मतपेटिका मतगणना स्थलमा आउँदा साथ नै शुरू हुन्छ । प्रदेशको हकमा भने अलि टाढाबाट मतपेटिका आउने भएकाले त्यसको निश्चित समय चाहीँ भन्न सकिएन् । लगभग १५ गते बिहान ८ बजेदेखि शुरू हुनसक्छ प्रदेशको पनि ।

आचारसंहिता उल्लङ्घन गरेमा के हुन्छ ?

आचारसंहिता उल्लङ्घन गरेमा एक त त्यसैपनि नैतिकताको उल्लङ्घन भयो । सबैले हेला गर्नुपर्ने हुन्छ । त्यस्तो आचारसंहिता उल्लङ्घन गर्नेलाई । अर्को चाहीँ निर्वाचन आयोगले जरिवाना एक लाखसम्म जरिवाना गर्नसक्छ । उहाँहरूको उल्लङ्घन गरेको मात्राले निर्वाचनको विश्वसनीयतामा नै आँच आउन पुग्ने जस्तो गतिविधि भयो भने त्यो उम्मेदवारको उम्मेदवारी नै खारेज गर्नुपर्ने हुन्छ ।

आचारसंहिताको उजुरी आएको छ कि ?

आचारसंहिताको दुईवटा उजुरी लिखित आएको छ । मैले त्यसमा के भएको हो भनेर सम्बन्धित स्थानीय तहमा सोधेर पठाएको छु । बाटो सर्भे गर्न थालेको विषयमा थियो । त्यो रोकिसकेको छ ।

मतदाता कति छन् ?

दाङमा हुन लागेको उपनिर्वाचनका लागि ७३ हजार मतदाता छन् । उपनिर्वाचन हुन लागेको दाङ क्षेत्र नम्बर ३ (ख) र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा रहेका जम्मा ७३ हजार एक सय ७२ मतदातामध्ये ३७ हजार तीन सय पाँचजना मतदाता छन् । जसमा ३५ हजार ८ सय ६६ पुरूष मतदाता रहेका छन् । तेस्रो लिंगी एकजना रहेका छन् । दाङको दंगीशरण गाउँपालिकामा ७ हजार ९ सय १ महिला र ७ हजार ७ सय १५ पुरूष गरी १५ हजार ६ सय १६ मतदाता छन् ।
शान्तिनगर गाउँपालिकामा ९ हजार २ सय ८३ महिला र ८ हजार ८ सय २० पुरूष गरी १८ हजार १ सय ३ मतदाता रहेका छन् । त्यस्तै बबई गाउँपालिकामा ९ हजार ५ सय ११ महिला र ९ हजार ३ सय ३८ पुरूष गरी १८ हजार ८ सय ४९ मतदाता रहेका छन । तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १, २, १० र ११ मा ८ हजार १ सय ६५ महिला र ७ हजार ९ सय ५ पुरूष तथा १ जना तेस्रो लिंगी गरी १६ हजार ७१ मतदाता रहेका छन् । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १६ मा २ हजार ३ सय ६५ महिला मतदाता रहेको कार्यालयले जनाएको छ ।

अपाङ्ग सुत्केरी र अशक्तहरूको मतदान गर्ने व्यवस्था के छ ?

बिशेष व्यवस्था छ । विशेषगरी अपाङ्ग, सुत्केरी, बृद्धबृद्धाहरूलाई मतदान गर्नको लागि लाइनमा बस्नु पर्दैन् । त्यो व्यवस्था प्रत्येक मतदान केन्द्रमा गरिएको छ ।

मतदाता परिचयपत्रको बारेमा के छ ?

पुराना मतदाता परिचय पत्र पहिले नै बाँडिसकेको छ । नयाँको हकमा हिजो बिहीबारदेखि नै मतदान केन्द्रबाट वितरण भइरहेको छ । सबैले आ–आफ्नो परिचयपत्र लिएर मतदान गर्न सक्नुहुनेछ । यदि कुनै कारणवस मतदान परिचयपत्र नभएमा मतदाताको सरकारी कार्यालयबाट प्रमाणित परिचयपत्र जस्तैः नागरिकता, लाईसेन्स, जेष्ठ नागरिक प्रमाणपत्र होला । त्यस्तै एक महिला परिचय पत्र, अपाङ्ग परिचय पत्रले पनि मतदान गर्न सकिन्छ ।

उपनिर्वाचन सम्पन्न गर्नको लागि बजेट कति छुटयाइएको छ ?

जिल्लामा हुने उपनिर्वाचनका लागि ८० लाख रूपैयाँ आएको छ । निर्वाचन आयोगले जिल्लामा हुने खर्चका लागि ७९ लाख ९७ हजार रूपैयाँ पठाएको हो । त्यो बजेट तालिम, गोष्ठी, प्रचार, कर्मचारी तलब, भत्तालगायतका क्षेत्रमा खर्च हुन्छ ।
त्यही बजेटबाट कर्मचारी भत्ता ६३ हजार, अन्य भत्ता दुई लाख १३ हजार, पानी तथा बिजुली १० हजार, ईन्धन ३० हजार, मर्मत सम्भार २५ हजार, कार्यालय खर्च एक लाख ३० हजारको अनुमान गरिएको छ । कार्यक्रम खर्च ७४ लाख ४१ हजार, भ्रमण खर्च ३० हजार, विविध खर्च १५ हजार र घरभाडा ३० हजार रूपैयाँ खर्च गर्ने गरी रकम प्राप्त भएको छ ।

अन्त्यमा केही भन्नु छ ?

मैले भन्ने कुरा त, मतदाताहरू आफै सचेत भएर आफूले छानेको उम्मेदवारलाई निडर, निर्धक्कका साथ मतदान गर्नुस् । मतदाता नामवलीमा नाम भएका सबै मतदाताहरूले आ–आफ्नो मतदान केन्द्रमा गएर मतदान गर्दिनुस् । दोहो¥याएर कसैले पनि मतदान नगर्नुस् । उपनिर्वाचनमा सभ्य नागरिकको निर्वाचनको रूपमा लगिदिनुस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here