कृषिमा श्रमिक अभाव

फिचर मुख्य खबर समाज

तुलसीपुर, २ भदौ । घोराही उपमहानगरपालिका–१८ का सुवास गौतमले घोराही उपमहानगरपालिका–१० नारायणपुर चरकबगियामा दुई वर्षदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका छन् ।
करिब दश बिगाह क्षेत्रफल जमिन भाडामा ल्याएर व्यवसायीक तरकारी खेती गर्दै आएका गौतमलाई तरकारी खेती उत्पादनका लागि दैनिक सरदर ४ देखि ६ जना श्रमिक आवश्यक पर्छ तर कुनै समय श्रमिक नपाउँदा निकै समस्या भोग्नुपर्छ ।
‘कृषिमा त श्रमिक पाउन निकै समस्या छ’ उनले भने ‘व्यवसायिक तरकारी खेती गर्न थालेको करिब दुई वर्ष बढी भयो, सहजरुपमा र आवश्यक अनुसार मैले श्रमिक पाएको छैन । धरै नै श्रमिक आवश्यक पर्छ तर भनेजति कामदार पाउन नसक्दा सोचेजस्तो तरकारी खेती फस्टाउन सकेको छैन् ।
तरकारी खेतीबाट वार्षिक १० लाखसम्म आम्दानी गर्ने गरेका गौतमले पर्याप्त श्रमिक पाए अझ आम्दानी बढाउन सक्ने बताए । कामदारको अभावकै कारण उत्पादनमा पनि कमि आउने गरेको गौतमको अनुभव छ ।
‘तरकारी लगाउने शुरुको समयमा र पछि उत्पादन शुरु भएपछि पनि कामदारको अभाव हुने गरेको छ’ उनले भने ‘अरु समयमा खासै समस्या हुने गरेको छैन्, पुरुष कामदार त पाउँदै पाउँदैन् महिला कामदार पाइन्छ, उहाँहरुको पनि अभाव नै देखिन्छ ।’ तरकारी उत्पादनका लागि कुनै समय ३० जनासम्म कामदार आवश्यक पर्ने गरी भने अनुसारको श्रमिक पाउन नसकेको गौतमले बताए ।
‘श्रमिकलाई दैनिक ४ सयदेखि ५ सयसम्म दिने गरेको छु, अहिले चलेको पारिश्रमिक दिँदा पनि कामदार पाउन कठिन छ’ उनले भने ‘युवाहरुलाई अझै पनि स्वदेशमा रोक्न नसक्नु हामी सबैका लागि दुखद् कुरा हो ।’
तुलसीपुर उपमहानगरपालिका–८ टिकरीका नरनारायण खत्रीले पनि व्यवसायीक रुपमा भैसीपालन थालेको लामो समय भयो । एउटा भैसीपालनबाट शुरुवात गरेका खत्री दम्पत्तिका भैसी अहिले ३५ भन्दा बढी भइसकेका छन् ।
एक हुँदै क्रमशः भैसीको संख्या बढ्दै गएपछि श्रमिकको आवश्यकता प¥यो तर भैसीको स्याहारसुसार गर्नका लागि श्रमिकको अभाव अहिले पनि छ । ठूलो संख्यामा भैँसी हुँदा पनि खत्री दम्पत्ति एक्लैले व्यवसायलाई निरन्तरता दिएका छन् ।

स्वदेशमा खेतीपाती गर्न मन नगर्ने तर वैदेशिक रोजगारीमा जाने परम्परा बढ्दै गएकाले खेतीयोग्य जमिन बाँझै हुने गरेको छ । कृषि पेशालाई अहिले पनि सम्मानित पेशा हुन सकेको छैन् ।

‘काम गर्नका लागि हामीकहाँ धेरै जना आउनुभयो तर भैसीको मल सोहोर्ने भनेपछि नाक गिज्याउँदै फर्किनुहुन्छ, बरु विदेश नै जाने भन्दै कामदार फर्किनुहुन्छ’ श्रीमती गीता खत्रीले बताइन् ।
भैसीपालन फर्ममा विभिन्न समयमा कामदार माग गर्ने गरेपनि नपाएपछि एक्लैले धान्दै आएको खत्री दम्पत्ति बताउँछन् । ‘हामी दम्पत्तिले नै धानेका छौँ, सम्पत्ति बढ्दै छ, कामहरु पनि बढ्दै छ,
अहिलेसम्म जसोतसो काम चलाएपनि पछि समस्या हुन्छ की भन्ने चिन्ता छ’ खत्रीले भनिन् ‘छोराहरु काठमाडाँैमा पढ्छन्, कहिलेकाहिँ घरमा आएभने निकै राहत महशुस गछौँ, सुस्तिने मौका पाइन्छ, नत्र भने त काम गर्न निकै गाह्रो छ ।’ यि दुई प्रतिनिधिमूलक पात्र मात्र हुन् ।
जिल्लामा पछिल्लो समय कृषि तथा पशुपालनमा व्यवसायीक रुप लिए पनि ठूला फर्म तथा व्यवसायका लागि चाहिने श्रमिकको भने अभाव हुने गरेको छ ।
परम्परागत कृषि तथा पशुपालनभन्दा पनि व्यवसायीक रुपमा कृषि तथा पशुपालनमा श्रमिकको अभाव हुने गरेको व्यवसायीले बताएका छन् । सरकारले कृषि तथा पशुपालन क्षेत्रमा आकर्षण बढाउन विभिन्न योजना ल्याए पनि काम गर्ने श्रमिकको भने समस्या व्यहोर्नुपरेको छ ।
कृषि क्षेत्रमा श्रमिकको अभाव हुने गरे पनि युवाहरु किन काम गर्न रुचि गर्दैनन् भन्ने कुराको खोजी हुने गरेको छैन् । श्रम अनुसारको पारिश्रमिक नपाएर र कामलाई दर्जाको रुपमा राख्दा यो समस्याको देखिने गरेको कृषि विज्ञ केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।
‘एक हेक्टर क्षेत्रफल जमिनमा तरकारी खेतीका लागि कम्तीमा १ सयजना कामदार आवश्यक पर्छ तर माग अनुसारको १० प्रतिशत श्रमिक पनि पाउन मुस्किल छ’ उनले भने ।
‘कृषि क्षेत्रमा काम गर्ने श्रमिकको लागि सरकारले छुट्टै योजना ल्याउनुपर्छ र श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्छ’ उनले भने ‘कृषि क्षेत्रमा काम गर्ने श्रमिकले अहिले पनि अपमानित महशुस गर्ने वातावरण छ भने ज्यालामा पनि कमि हुँदा यो समस्या देखिएको हो ।’

वर्षेनी खेतीमा कमी

दाङमा वर्षेनी खेती गर्ने किसानको संख्या घट्दै गएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार ६९ हजार खेती हुँदा आएको जग्गा पछिल्लो समय ६४ हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ ।
जिल्लामा ५ हजार हेक्टर क्षेत्रफल जमिन बाँझै रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताए । जिल्लामा अघिल्लो वर्ष ६५ हजार हेक्टर क्षेत्रफल जमिनमा खेती भएपछि पछिल्लो समय एक हजारले घटेर ६४ हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको उनले बताए ।
‘स्वदेशमा खेतीपाती गर्न मन नगर्ने तर वैदेशिक रोजगारीमा जाने परम्परा बढ्दै गएकाले खेतीयोग्य जमिन बाँझै हुने गरेको छ’ उनले भने ‘कृषि पेशालाई अहिले पनि सम्मानित पेशा हुन सकेको छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *