Friday, April 26, 2024
Homeफिचरअट्वारी उल्लास

अट्वारी उल्लास

- Advertisement -spot_img

दाङ, १६ भदौ ।
पश्चिम नेपालका थारु समुदायले आइतवार अट्वारी पर्व मनाएका छन् । थारु जातिको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व अट्वारी आइतवार पश्चिम नेपालका थारु समुदायमा धुमधामका साथ मनाएको छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारु समुदायले आइतबार धुमधामले अट्वारी पर्व मनाएका छन् ।
अट्वारी पर्व मनाउने सवालमा थारु समुदायकै बीचमा फरक–फरक मिति र समय हुन थालेपछि यसमा एकरुपता ल्याउन पछिल्लो समय थारु बाहुल क्षेत्र दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेतका मटहवा, भलमन्सा र बड्घरहरुले गत वर्षदेखि संयुक्तरुपमा क्यालेन्डरसमेत सार्वजनिक गरेर एकैदिन मनाउने प्रयास पनि थालेका छन् ।
मुख्यगरी थारु समुदायका पुरुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेषरुपमा लिने गरेका छन् । ५ नम्बर प्रदेशले समेत थारु समुदायको लागि अट्वारीको बिदासमेत दिएको छ । अट्वारीको दिन पानीसमेत नखाएर (निर्जला) ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृष्ण जन्माअष्टमीको आठ दिनपछि आउने आइतबारका दिन मनाउने प्रचलन थारु समुदायमा रहेको छ ।
यो पर्व सूर्य अर्थात् शक्तिको उपसनाको लागि गर्ने गरिएको मतहवा, बड्घर महासंघका केन्द्रीय अध्यक्ष तथा पूर्व राज्यमन्त्री डिल्ली बहादुर चौधरीले बताए । किम्वदन्ती अनुसार अट्वारी पर्व दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसँग समेत जोडेर मनाउने गरिएको उनले बताए । उनले थारु राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको बताए । चौधरीले धर्म, संस्कृति र परम्पराले विविधतालाई एकतामा जोडेको भन्दै यसको संरक्षण र विकास हुन जरुरी रहेको बताए ।
संस्कृतिको संरक्षणकै लागि पुर्खाैली घरमा अट्वारी पर्व मनाइएको हो । आफ्नो संस्कति र परम्पराको जगेर्ना गर्दै अरुको संस्कृतिको सम्मान गर्नुपर्ने उनले बताए । थारु संस्कृतिविद् अशोक थारुले अट्वारी पर्वलाई शक्ति र प्रकृतिको पूजाको रुपमा लिनुपर्ने बताए । सम्पूर्ण ब्रह्माण्डको मूलस्रोत भनेको सौर्य उर्जा भएकोले त्यहि शक्तिको उपासना नै अट्वारीको रुप हो, थारुले भने, अट्वारी पर्वलाई अलौकिक मिथकसँग जोड्नुभन्दा विश्व ब्रह्माण्डिय विज्ञानलाई जोड्नु बढी वैज्ञानिक र दिगो हुने गर्दछ ।
थारु संस्कृतिविद् थारुले ‘अट्वारीको बारेमा अब द्वापर युग, भिम र दंगीशरण राजाभन्दा अगाडि गएर सूर्यको उत्पत्तिको युगसँग सोच्न सक्नुपर्ने बताए ।’ थारु समुदायमा अट्वारीका अवसरमा स्थानीयस्तरमा उत्पादित बस्तुहरु काक्रा, अम्बा, केरा र चामलको पिठोको रोटी पकाएर खाने चलन छ । तर, चामलको पिठोको उक्त रोटी भने एकसरो पकाएको हुन्छ । यसमा पनि रोचक किम्वदन्ती छ । द्वापर युगमा धर्म युद्ध हुने गर्दथ्यो । त्यतिबेला सूर्य अस्तपछि युद्ध हुँदैन थियो ।
भोकले व्याकुल ‘भिम’ रोटी पकाउँदै गर्दा युद्धको ‘डंका’ युद्धको विगुल बजेपछि उनी पकाउँदै गरेको रोटी छोडेर कौरवसँग भिड्न गएको हुँदा उनको बहादुरीको प्रशंसाको लागि एकतर्फ मात्रै पकाएको रोटी खाने प्रचलन रहेको मन्त्री चौधरीले बताए । अट्वारी पर्वमा जंगलबाट ल्याएको नयाँ र शुद्ध मालुको पातको डुना टपरीमा परिकार खाने प्रचलन छ । तर पछिल्लो समय काक्रा, अम्वा, केराका साथसाथै बजारबाट स्याउसमेत किनेर लग्ने प्रचलन बढ्नु संस्कृतिको रुपान्तरण मान्नुपर्ने थारु संस्कृतिविद् थारु बताउँछन् । अट्वारीमा माछा मासु खाईदैन ।

अटवारी पर्व र यसको महत्व

थारु समुदायहरुको विभिन्न चाडपर्वहरु मध्येको एक महान् पर्व हो, अटवारी पर्व । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको थारुहरुको दोस्रो पर्वको रुपमा लिइन्छ अट्वारी पर्वलाई । खासगरी यो अट्वारी पर्व थारु पुरुषले मनाउने गर्दछन् । ऋषीपञ्चमीपछिको आइतबारको दिन मनाउने यो अट्वारी पर्व आइतबारको अघिल्लो रात अर्थात् शनिबारको मध्यरातमा भाले नबास्दै माछा, मासुजस्ता मीठा–मीठा परिकार बनाई दर खाने चलन रहेको छ । जसलाई थारु शब्दमा ‘भिन्सरिया खइना’ भनिन्छ ।
आइतबारको दिन व्रत बसेका ब्रतालुहरुले नुहाइधुवाई गरी दिनभरी विभिन्न प्रकारका रोटीहरु पकाउने गर्दछन् । यसरी सुरुमा पकाएको रोटीलाई एकपट्टी मात्रै नपल्टाएर पकाउने चलन छ । जसलाई भेवाको रोटी अर्थात् ‘रोट’ भन्ने गरिन्छ । अट्वारीको रोटी पकाउँदा नयाँ चुलो बनाएर छुट्टै कोठामा गाईको गोबरले लिपपोत गरी पकाएको रोटी पूजा नगर्दासम्म खान बन्दैन भन्ने मान्यता छ । भने सुरुमा आगो बाल्ने बेला गन्यारी नामक काठबाट रगडेर आगो निकालिन्छ ।
यसरी निकालिएको आगोलाई मुखले फुक्नु हँुदैन मुखले फुक्दा जुठो हुन्छ । यसले गर्दा देवता रिसाउने भएकाले चोखो पार्नुपर्ने मान्यता रहेको छ । यसरी गन्यारीबाट निकालिएको आगोलाई ‘अग्यारी’ भनिन्छ । दिनभरी विभिन्न प्रकारका रोटी पकाइ बेलुकीपख नजिकैको जलाशयमा गई नुहाइधुवाइ गरी सुरुमा पकाएको रोटी, दही, केरा, काक्राजस्ता फलफूलहरु भेवालाई चढाई भेवाको पूजा गर्ने प्रचलन छ ।
यसरी भेवा (पाँच पाण्डवमध्येका माहिला भीमसेन) पूजा गर्दा घरमा नयाँ अन्नबाली भित्रियोस्, वर्ष दिनसम्म खान र लाउन पुगोस् भन्ने कामना गरिन्छ । यसो गर्दा आफ्नो घर, टोल र समुदायको सुरक्षाको तथा चेलीबेटीसँगको नाता, बन्धन सुमधुर र प्रगाढ हुने मान्यताले पनि यो अटवारी पर्व मनाउने गरिन्छ । अट्वारीको अर्को दिन अर्थात् फरार (सोमबार)को दिन बिहानै नुहाइधुवाइ गरी पूजापाठ गरेर छुट्याएर राखेको भाग आफ्ना पराइ घर लागेको चेलीबेटीहरुलाई दिन जाने गरिन्छ । जसलाई ‘अग्रासन’ दिने भनिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here