सम्पादकीय
कार्यसम्पादनमा प्रशासकहरूमा आफ्ना–आफ्ना योजना र रणनीति हुन्छन् । कुन प्रशासकले कसरी काम गर्छ र त्यो कामको प्रभाव के कस्तो र कहाँ–कहाँ पर्छ ? भन्ने उसमै निर्भर रहन्छ । कतिले राम्रो कार्यसम्पादन गरेर वाही–वाही कमाउँछन् भने कति लोभलाभमा परेर छिछिदूरदूरको पात्र बन्ने गर्दछन् ।
अहिलेसम्म काम आउने दुबै प्रवृत्तिका प्रशासकहरू देखिएका छन् । प्रमुख जिल्ला अधिकारीको रूपमा आउने पात्रहरूमा पनि आ–आफ्नै कार्यशैली देखिने गर्दछ । भर्खरैमात्र दाङमा आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जिल्लामा आफ्नो फरकखालको छवि बसाउने प्रयासमा देखिन्छन् । स्थानीयस्तरमा देखिएका समस्यामा तत्काल चासो दिने र समाधानका लागि प्रयास गर्ने काम अहिले भएको देखिन्छ ।
देशमा संघीयता आएपछि सबै क्षेत्रमा यसको प्रभावकारिता देखिनुपर्छ । संघीयताको अनुभूति गर्न नपाएका नागरिकलाई नयाँ सिडियोले घरदैलोबाटै सेवा प्रदान गर्ने योजनाले अहिले नागरिकस्तरमा छुट्टै चर्चा पनि चलेको छ ।
विकास निर्माणको तिब्रताका लागि निरन्तर खबरदारी गरिरहेका सिडियोले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवा दुई ईलाका प्रशासन कार्यालयबाट सेवा प्रदान गर्ने भएपछि नागरिकलाई सहज हुने भएको विश्वास नबढ्ने कुरा झन हुँदै भएन । अहिलेसम्म जिल्लामा धेरै प्रमुख जिल्ला अधिकारी फेरिने गरेपनि काम पुरानै अवस्थामा हुँदा नागरिकले परिवर्तनको अनुभूति कमै मात्र गर्न पाएको भने साँचो हो ।
यसले गर्दा अब घोराही जाने समय, यातायात खर्चको बचत समेत हुने भएको छ । सदरमुकाममै जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि नयाँ सिडियोले थालेको कदमको सबैले प्रशंसा गरिनु पर्छ, हुनुपर्छ । क्षेत्रगत रूपमा जिल्ला प्रशासनको सेवा लिने योजना पछिल्लो समय प्रजिअको सार्वजनिक भएको छ ।
भौगोलिक रूपमा हेर्दा यो नीति महत्वपूर्ण र आवश्यक जस्तो देखिन्छ । कम्तिमा पनि आफ्नै क्षेत्रका सेवा पाउनु नागरिकको माग पनि हो त्यसको सम्बोधन हप्ताको एकदिनमा मात्रै हुनु पनि राम्रो मान्न सकिन्छ ।
दाङ भौगोलिक हिसावले सुगम जिल्लाका रूपमा रहेको छ । दश पालिका रहेको जिल्लामा दाङ र देउखुरी उपत्यका गरी दुई उपत्यका रहेका छन् । संघीय व्यवस्था अनुसार सिंहदरबार गाउँ–गाउँमा सस्तो प्रचारबाजी गरिएपनि नागरिकले अहिले पनि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता कायमै छ ।
तर पछिल्लो समय सिडियोको निर्णयले केही सहजता थप्ने विश्वास गरिएको छ । जिल्ला प्रशासनबाट हुने कामहरू ईलाका प्रशासनबाट हुने भएपछि खुशियाली थपे पनि निरन्तरता पाउनुपर्छ । नागरिकको हितका लागि काम प्रशंसनीय भएकाले यो योजनाले आगामी दिनमा निरन्तरता पाउन सकोस् ।