सम्पादकीय
मान्छेका आ–आफनौ इच्छा चाहना हुन्छन् । सबैका फरक–फरक चाहना नहुने कुरा पनि भएन । सबै मान्छेहरू सबै स्थान र क्षेत्रमा स्वतन्त्र पनि हुन सक्दैनन् । पदीय मर्यादा, जिम्मेवारी, भूमिका र कार्यले फरक पार्छ । स्वतन्त्र हुनेहरू सधै स्वतन्त्र नै हुन्छन् ।
तर पदमा रहने, जिम्मेवारीमा रहने र सामाजिक कर्ममा रहनेहरू सामाजिक हुन्छन्, तिनीहरूलाई स्वतन्त्रता कमै मात्र हुन्छ । सार्वजनिक पदमा रहेकाहरूले त झनै यसमा गम्भीर हुनुपर्छ । पछिल्लो समय सामाजिक र सार्वजनिक पदधारण गरेको व्यक्तिहरूमा पदको मर्यादा हराउने गरेको छ ।
यहि एउटा तथ्य तुलसीपुर उपमहानगरपालिमा देखिएको छ । उपमहानगरका कार्यबाहक नगरप्रमुख, स्वकीय सचिव र वडा अध्यक्षहरू सहभागी भएर गरेको मदिरा पाटीको सार्वजनिकीकरणे उनीहरूले पदको मर्यादा राख्न नसकेको प्रष्ट रूपमा देखाएको छ ।
यो हुनु दुर्भाग्य नै हो । मदिराको मातले आलोचित मात्रै है पदीय जिम्मेवारीसमेत खोसिने अवस्था आइसकेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगी र उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका स्वकीय सचिव धर्म वलीले मदिरा सेवन गरेर सामाजिक सञ्जालमा गरेको हर्कतले अहिले जिल्ला नै तातिएको छ । उनीहरूको भट्टी पसलमा भएको चर्तिकलाले नगरका अन्य जनप्रतिनिधिलाई समेत आलोचित बनाएको छ ।
लाइभ सार्वजनिक भएको भिडियोमा मदिरा पाटीमा सहभागीहरूले नगरप्रमुखसहित अन्य जनप्रतिधिको खरो आलोचना र आफ्नो आडम्बरी प्रस्तुत गर्दा घर न घाटको हुनुपरेको छ । मदिराको तालमा पदीय आचरण विपरीत काम गरेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले उनीहरूमाथि सुरू गरेको कारवाही प्रक्रिया सह्रानीय नै मान्नुपर्छ ।
उनीहरुलाई कारवाही सुरू गरेको छ । यसमा नगरप्रमुख पाण्डे र उनको सचिवालयले लिएको गति दिगो होस् पदीय मर्यादाको ख्याल नगर्ने र पदको दुरूपयोग गरी पदीय जिम्मेवारी बिर्सनेहरूलाई कारवाहीको दायरामा ल्याउनुनै पर्छ ।
नगरमा कार्यबाहक नयाँ त तोकिएको छ । तर पनि पदको दुरूपयोग गरेर गलत गतिविधि गर्नेहरूको नगरभित्रको अन्य जिम्मेवारी पनि खोसिनुपर्छ । यसमा नगरप्रमुखले आँट गर्न सक्नुपर्छ ।
नगरभित्रका जिम्मेवार जनप्रतिनिधिहरू पटक–पटक विभिन्न काण्डमा मुछिने गरेका छन् ।
कोहि जग्गा काण्डमा, कोहि बालुवा काण्डमा, कोहि ठेला काण्डमा, कोहि भट्टी काण्डमा, कोहि केटी काण्ड मच्चाउने त्यहि छन् । त्यसमा पनि काण्डले ठूलै रडाको मच्चाएको थियो ।
त्यस्ता काण्डबाट पाठ सिकेर, अझ सजक भएर नगरप्रमुखले आफ्नो सचिवालय चुस्तदुरूस्त बनाएर लैजानुपर्छ । सभा र दागरहित सचिवालय भयो भने मात्रै नगरप्रमुखको भूमिका राम्रो देखिने हो । बहुमत कै आडका अहिलेकै अवस्था दोहरिहने हो भने सबैलाई सतहमै पु¥याउने पक्का छ ।