सम्पादकीय
कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि रोजगारी तथा अध्ययनको शिलशिलामा घर बाहिर रहेकाहरू धमाधम घर फर्किने क्रम जारी छ । विभिन्न माध्यम र प्रक्रियाबाट घर बाहिर रहेकाहरू घर आइरहेका छन् ।
रोग संक्रमण फैलिदै गएको अवस्थामा सुरक्षित हुने र परिवार संघको भेटका खातिर अहिले मानिसहरू घर फर्किएका हुन् । बाहिर रहेकाहरू घर आएपछि सुरक्षा अपनाउन अति आवश्यक छ । घर फर्किएकाहरूलाई केहिलाई मात्रै क्वारेन्टाइनमा राखिएको छ, तर अधिकांश क्वारेन्टाइनमा बसेका छैनन् । स्थानीय सरकार तथा विभिन्न संघ संस्थाको समन्वयमा उनीहरू घर फर्किन थालेपछि सहरमा भन्दा गाउँमा जोखिमको त्रास बढी देखिन्छ ।
संक्रमित भेटिएको ठाउँबाट समेत एउटै सवारी साधनमा ठेलम–ठेल गरेर घरमा आएका विभिन्न दृश्यहरू नदेखिएका पनि होइनन्, यसले गर्दा कोरोना संक्रमणको जोखिम झनै बढेको छ । उद्धार गर्ने नाममा भौतिक दूरी कायमै नराखेर भिडभाड गरिएका दृश्यहरू पनि प्रसस्तै छन ।
जन्मभूमिमा फर्किन पाउनु नागरिकको अधिकार पनि हो ।
तर स्थानीय सरकारले परिवारले विशेष ख्याल भने पक्कै गर्नपर्छ । उनीहरूलाई गाउँ फर्काउने स्थानीय सरकार तथा विभिन्न संघसंस्थाले महत्वपूर्ण भूमिका खेलेका छन् । तर ती सबैको पूर्ण विवरण कसैसँग छैन । उद्दारका नाममा लापरवाही बढी देखिएको छ ।
कोरोनाको संक्रमणको जोखिम बढाएको छ । कोरोना भाइरसको संक्रमण बाहिरबाट हेरेर थाहा हुँदैन् । जो पनि संक्रमित हुनसक्छ । संक्रमण देखिएपछि निम्तिने विपत्ति भोलि कस्तो होला ? हामी कसैले पनि कल्पना गरेका छैनौं ?
अहिले गाउँघरमा फर्कनेहरूलाई क्वारेन्टाइनमा राख्नु त परै जावस्, उनीहरू कहाँबाट आएका हुन्, कतिजना आएका हुन्, कुन समयमा आएका हुन् लगायतका केहिपनि कुराको अभिलेख राखिएको छैन् । राख्ने प्रयास पनि गरिएको छैन ।
स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका जिम्मेवार निकायहरू यसमा चुकेकै छन् ।
सबैको तथ्यांक राख्न सकेमा भोलिका दिनमा निम्तिन सक्ने जोखिमबाट बच्न सकिन्थ्यो । मानिस–मानिसबीचको सम्पर्कबाट कोरोना संक्रमण फैलिने भएकाले यो समय जो जहाँ छौं,
त्यही रहने हो तर बाध्यतामा घर फर्किएका नागरिकको कम्तिमा पनि उनीहरूको सम्पूर्ण विवरण राखेको भए संक्रमण देखिहालेमा पहिचान गर्न सहज हुन्थ्यो तर त्यसो गर्न सकिएको छैन् ।
दाङमा पनि लकडाउनको समयमा कति मानिस भित्रिए भन्ने तथ्यांक कसैसँग नहुँदा कोरोना महामारी फैलिहालेमा नियन्त्रण गर्न निकै सकस हुनेछ ।
सकिन्छ टोल विकास संस्थाको समन्वयमा लकडाउनको समयमा देश तथा विदेशबाट आएका नागरिकको एकीन तथ्यांक लिन थालौं र समस्या समाधानका उपाय खोजौं ।