घोराही, १४ साउन ।
दाङमा वर्षेनी करिब चार हजार हेक्टर खेतीयोग्य जमिन बाँझै हुने गरेको छ । मानव कल्याण तथा वातारण संरक्षण केन्द्र दाङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा ३ हजार ९ सय ६० हेक्टर खेतीयोग्य जमिन बाँझै हुने गरेको पाइएको हो । कृषिका लागि अधिकांश खेतीयोग्य जमिनमा पर्याप्त सिंचाई सुविधा नभएका कारण र युवाहरुको कृषिप्रति आर्कषण बढ्न नसकेकाले अधिकांश खेतीयोग्य जमिन बाँझै हुने गरेको पाईएको हो । जिल्लामा ६९ हजार ९ सय ५० हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार ८ सय ८० हेक्टर क्षेत्रफल जमिनमा मात्रै खेती हुने गरेको छ । जसका कारण जिल्लामा खाद्यान्न आयात बढ्दै गएको छ । पछिल्लो समय बढ्दै गएको जग्गा प्लटिङले पनि कृषिको उर्वरभूमि मानिएको दाङमा करिब चार हजार खेतीयोग्य जमिन बाझैँ रहेको सरोकारवालाले बताएका छन् ।
यसैबीच जिल्लामा १९ हजार ६ सय ५१ हेक्टर क्षेत्रफल जमिनमा मात्रै बाह्रै महिना सिंचाई सुविधा हुने गरेको छ । ६५ हजार ५ सय ८० सिंचाईयोग्य जमिनमध्ये ३९ हजार २ सय ११ हेक्टर क्षेत्रफल जमिनमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको २ लाख ९५ हजार ५ सय जमिन मध्ये ६९ हजार ९ सय ५० अर्थात २३ दशमलव ६ प्रतिशत जमिन कृषियोग्य जमिन रहेको छ ।
यसैबीच दाङको समृद्धिका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आयोजनामा दाङको समृद्धिका लागि सरोकारवालको भूमिका विषयक आइतबार घोराहीमा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाले यस्तो बताएका हुन् । दाङ जिल्ला कृषिको उर्वरभूमि भएको भन्दै उनीहरुले कृषि क्षेत्रको विकासमा ध्यान दिनसके समृद्धि हासिल गर्न सकिने बताए । जिल्लाको कृषि क्षेत्र परम्परागत रुपमा हुँदै आएको भन्दै अब कृषिलाई यान्त्रिकीकरण बनाउन आवश्यक रहेको बताए । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष तीर्थराज सन्तोषीको अध्यक्षता तथा पूर्व सांसद् राजु खनालको प्रमुख आतिथ्यता एवं घोराही उपहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व सांसद् खनालले स्थानीय सरकारले कृषिलाई आधुनिकताका लागि योजना निर्माण गर्नुपर्ने भन्दै कृषिको उत्पादन बढाउन गुरुयोजनाका साथ अघि बढ्न स्थानीय सरकारलाई आग्रह गरे । उनले रोजगारीका लागि दाङबाट लाखौँ युवा विदेशिएको भन्दै सम्भावनाका स्रोत पहिचान गरी कृषि क्षेत्रको विकास गर्न सकिने बताए ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी, दाङ जिल्ला बहुउद्देश्य सहकारी संघका अध्यक्ष कृष्णप्रसाद गौतम, परिवार नियोजन संघका नारायणप्रसाद अधिकारीलगायतले परम्परागत कृषिलाई आधुनिकतामा जोड दिनुपर्ने बताए । प्रविधिको उपभोग गर्नसके उत्पादनमा वृद्धि गर्न सकिने बताए । त्यस्तै प्राध्यापक नारायण अधिकारी, मावि गोग्लीका प्रधानाध्यापक सतीसकुमार आचार्य, मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका पूर्व अध्यक्ष किरण रेग्मी, तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष लक्ष्मण आचार्य, घोराही–११ का ठाकुर रोका लगायतले बोल्दै कृषि क्षेत्रको विकासका लागि बजारीकरणमा ध्यान दिनुपर्ने बताएका थिए । बजारीकरण नहुँदा कृषकले सही मूल्य पाउन नसक्नु र उपभोक्ताले मंहगीमा खरिद गर्नुपर्ने बाध्यता रहेको उनीहरुले बताए ।
कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष भरतकुमार देवकोटाले दाङका जिल्लाको वर्तमान अवस्थाको बारेमा तथ्याङ्क प्रस्तुत गरेका थिए । त्यस्तै केन्द्रका कार्यकारी निर्देशक श्रीमण न्यौपानेले कार्यक्रमको उद्देश्यमाथि प्रस्तुत गर्दै जिल्लामा समृद्धिका लागि सम्भावनाका स्रोत तथा पहिचान क्षेत्रको बारेमा प्रष्ट पारेका थिए भने कार्यक्रमको सहजीकरण केन्द्रका सचिव लक्ष्मीमान चौधरीले गरेका थिए ।
Stay Connected
Must Read