तुलसीपुर, १४ कार्तिक ।
दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयले विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन विभिन्न तालिम सञ्चालन गरेको छ । विद्यालयले दशैँपछि तिहारसम्मको अवधिमा विद्यार्थीलाई विद्युत वाइरिङदेखि ग्राफिक डिजाइन र गुडिया बनाउने तालिम सञ्चालन गरेको हो ।
विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १२ सम्मका करिब दुई सयजना विद्यार्थीलाई दैनिक जीवनमा प्रयोग हुने सीप प्रदान गर्न तालिमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताए । तालिमको सोमबार उद्घाटन गरिएको छ ।
तालिमको उद्घाटन तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मन बहादुर खड्काले गरेका हुन् । तालिमको उद्घाटन गर्दै अधिकृत खड्काले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्ने बताए । उनले कुनै पनि सीप सिक्नका लागि भित्रैदेख चाहना आउनुपर्ने बताए ।
तालिम उद्घाटन अवसरमा विद्यालय सञ्चालन उपसमितिका संयोजक भरत भण्डारीले विद्यार्थीले समयानुसार सीप सिक्नुपर्ने बताए । उनले अहिलेको युग विज्ञान र प्रविधिको युग भएकोले सोहि अनुसार विद्यार्थीले आफूलाई दक्षता बढाउनुपर्ने बताए ।
कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बजारमा टिक्न र बिक्नका लागि विद्यार्थीलाई समयानुसारको सीप क्षमता विकासमा हाम्रो पहुँच विद्यालयले तालिमको निरन्तरता दिएको बताए । उनले दक्ष सीप र योग्यता भएका विद्यार्थीलाई हाम्रो पहुँचले नै रोजगार प्रदान गरिरहेको बताए ।
कार्यक्रममा प्रशिक्षक जुद्ध बहादुर चौधरीले तालिमले सीप क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका शिक्षा, तालिम तथा सूचना संयोजक जीवराज अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मन बहादुर खड्काको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गरेका थिए ।