दाङ, १३ कार्तिक ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले लाइन काट्न सुरू गरेको छ । कार्यालयले आइतबारदेखि विभिन्न स्थानमा विद्युत कटौती गर्न सुरू गरेको हो । विभिन्न सञ्चार माध्यमबाट बक्यौता रकम बुझाउन सेवाग्राहीलाई सचेत गराएपनि विद्युत महशुल नतिरेपछि आइतबारदेखि लाइन काट्न सुरू गरेको विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव गोशेलीले जानकारी दिए ।
२० जना ग्राहकबाट २ लाख ५३ हजार ८ सय ४३ रूपैयाँको बक्यौता उठ्न बाँकी रहेका ग्राहकको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये १३ जनाले आइतबार नै विद्युत महशुल तिरेर पुनः लाइन जोडेको प्रमुख गोशेलीले बताए ।
१३ जना उपभोक्ताबाट ९५ हजार ७ सय ६९ रूपैयाँ ९५ पैसा असुली भएको छ । अन्य लाइन काटिएका ग्राहक हकमा विद्युत महशुल तिरेपछि मात्रै विद्युत लाइन सुचारू गरिने प्रमुख गोशेलीले बताए । तुलसीपुर वितरण केन्द्रमा ३ करोड बढी रकम उठ्न बाँकी रहेको छ ।