देउखुरी, १३ कार्तिक ।
मानव सेवा आश्रमको मेची–महाकाली यात्राको टोलीलाई लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा स्वागत गरिएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले टोलीलाई स्वागत गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले सडक मानवमुक्त अभियानमा लुम्बिनी प्रदेश सरकार साथमा रहेको बताए ।
सडकमा बस्नु रहर नभई बाध्यता भएकाले त्यसलाई सबै मिलेर निराकरण गर्नुपर्ने मन्त्री मास्कीको भनाइ छ । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहितको टोलीले मेची–महाकाली यात्रा गरिरहेको छ । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्व मेची पुलबाट सुरू अभियानअन्तर्गत दशैँभर आइतबार १५औं दिनमा दाङ आईपुगेको हो ।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरू भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८०’ आइतबार दाङ आएको हो । चर्चित गायिका आनी छोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरूसहित अभियानमा रहेका टोलीले सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडकआश्रित मानवलाई उद्धार गर्दै आएको छ । मानव सेवा आश्रमले देशका २४ वटा सेवाकेन्द्रबाट हालसम्म १ हजार ६ सय बढीको उद्धार गरी आश्रमको व्यवस्था गरेको छ ।