टेकबहादुर पुन
दाङ, १४ साउन । देउखुरीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।
लमही नगरपालिका वडा नम्बर ७ बनगै जंगलमा आइतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो ।
पश्चिमबाट पूर्व जाँदै गरेको सरकारी नम्बर प्लेट भएको बा २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका–३ निवासी ३८ वर्षीय खुमबहादुर राजकोटी र लमही नगरपालिका–९ तेलिया निवासी ४९ वर्षीय भीमबहादुर कुमाल रहेको रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिएका छन् । कुमालको खुट्टा र टाउकोमा गहिरो चोट छ भने राजकोटीको पनि खुट्टामा चोट छ ।
गाडीका चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले बताए । गाडी झिमरुक गाउँपालिका प्यूठानको रहेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।