जीतसागर जी.एम.
दाङ, १४ साउन ।
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट दैनिक एकजना भन्दा बढीको मृत्यु हुने गरेको छ । प्रदेशमा गत चार वर्षको भएको सवारी दुर्घटनाको तथ्यांकलाई विश्लेषण गर्दा प्रत्येक दिन कम्तिमा एकभन्दा बढी मृत्यु हुने गरेको देखिएको हो । प्रदेशका १२ जिल्लामा चार वर्षको अवधिमा १ हजार ९ सय ४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी १४ हजार ८ सय ८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशको गृह मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि ०७९/०८० सम्ममा लुम्बिनीका १२ जिल्लामा ११ हजार ७ सय ६३ सवारी दुर्घटना भएका थिए । यसरी तथ्यांकलाई हेर्दा प्रदेशमा दैनिक आठवटा भन्दा बढी सवारी दुर्घटना हुने गरेको देखिएको छ ।
अधिकांश दुर्घटनाको कारण भने तीव्र गति नै रहेको देखिएको छ । त्यस्तै चालकको लापरवाही, कमजोर सडक, धेरै भारवहन, पुराना सवारी र यात्रुमा भएको ट्राफिक अज्ञानतालाई पनि दुर्घटनाको कारणका रूपमा देखिएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७६/७७ मा ४ सय ८४ जनाको मृत्यु भएको थियो ।
यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा ५ सय २७, ०७८/०७९ मा ५ सय ५१ जना तथा आर्थिक वर्ष ०७९/०८० मा ३ सय ४३ जनाको मृत्यु भएको तथ्यांक छ । सवारी दुर्घटना हरेक वर्ष बढ्दै गए पनि गत आर्थिक वर्षमा भने तुलनात्मक रूपमा कम भएका थिए । सडक सञ्जाल राम्रो बनाएर दुर्घटनाविरूद्धका अभियानमा नागरिक सहभागिता बढाएको खण्डमा सवारी दुर्घटना कम हुनसक्ने मन्त्रालयका उपसचिव यमबहादुर कुँवरले बताए ।
दाङमा चार वर्षमा २ सय ९८ को मृत्यु
सवारी दुर्घटनामा परी दाङमा मात्रै बितेको चार वर्षमा २ सय ९८ जनाले मृत्युवरण गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बितेको चार वर्षको तथ्यांक हेर्दा बर्सेनि सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७६/०७७ मा २ सय ५५ सवारी दुर्घटनामा परि ७१ जनाको मृत्यु भएको छ ।
यहि दुर्घटनामा २ सय ३४ जना गम्भीर घाइते भएका छन् भने १ सय ११ जना सामान्य घाइते भएका छन् । यसैगरी आर्थिक बर्ष ०७७/०७८ मा २ सय ८९ सवारी दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको छ । जसमा २ सय ३३ जना गम्भीर घाइते भएका छन् भने १ सय ३९ जना सामान्य घाइते भएका छन् । आर्थिक वर्ष ०७८/०७९ मा २ सय ८२ सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । सोहि दुर्घटनामा परि १ सय ९५ जना गम्भीर घाइते भएका छन् भने १ सय ४० जना सामान्य घाइते भएको ट्राफिक प्रमुख मल्लले बताए ।
उनका अनुसार बितेको आर्थिक वर्ष २०७९/०८० मा १ सय ९४ सवारी दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको छ । जसमा १ सय ४८ जना गम्भीर घाइते भएका छन् भने १ सय १२ जना सामान्य घाइते भएका छन् । तर आर्थिक वर्ष ०७८÷०७९ को तुलनामा ०७९/०८० मा भने मृत्यु हुनेको संख्या झण्डै आधाले घटेको छ ।
दुर्घटनामा एकको मृत्यु
दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एक÷दुईजना घाइते भएका छन् । मोटरसाइकल दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना नयाँबस्ती निवासी १८ वर्षिय गगन घर्तीमगरको मृत्यु भएको छ । शनिबार बिहान पौने ३ बजेको समयमा दंगीशरण गाउँपालिका वडा नंं. ५ संघारी चोकमा रगैचादेखि तुलसीपुरतर्फ आउँदै गरेको मोटरसाइकल बालापुरमा अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक घर्तीमगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारको क्रममा मृत्यु भएको हो । यस्तै ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर २ का १६ वर्षीया करूणा चौधरी र १८ वर्षीया रविना चौधरी घाइते भएका छन् ।
उनीहरू दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८४८७ नम्बरको ट्रक लमही–घोराही सडकखण्ड अन्तर्गत घोराही–३ चौपट्टाको उकालोमा बे्रक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।