Friday, October 10, 2025
Homeमुख्य खबरसहरका भान्सामा कपुरकोटको तरकारी

सहरका भान्सामा कपुरकोटको तरकारी

- Advertisement -spot_img


जीतसागर जी.एम.
दाङ, १३ साउन ।
साउने झरीसँगै सल्यान कपुरकोटमा किसानलाई तरकारी बिक्री गर्न भ्याइ–नभ्याइ छ । अधिकांश आकाशे पानीको भरमा रहेको जग्गामा वर्षात्को समयमा किसानले बढी खेती गर्ने हुँदा कपुरकोटमा वर्षायाममा हाटबजार सञ्चालन हुने गरेको छ । कपुरकोटमा अहिले मंगलबार र शुक्रबार हाटबजार सञ्चालन भइरहेको छ ।

हाटबजारमा कपुरकोट गाउँपालिकासहित रोल्पाको त्रिवेणी गाउँपालिकाबाट तरकारी बिक्री लागि आउने गरेको छ । कपुरकोटमा हाटबजार शुरू भएसँगै तरकारी बिक्री गर्न सहज भएको कपुरकोट–५ सिस्नेरीका चन्द्रकला महताराले बताइन् । ‘हामीले उत्पादन गरेको तरकारी कपुरकोटमा बिक्री गर्न सजिलो भएको छ’ उनले भनिन्–‘खेतबारीमै तरकारी लिन आउने गरेका छन्, तर कपुरकोटको जस्तो भाउ नपाउँदा हामीले खेतबारीबाटै तरकारी कम मात्रामा मात्रै बिक्री गर्ने गरेका छौँ ।’

कपुरकोटका अधिकांश ठाउँमा हिउँदमा सिँचाइ सुविधा कम भएकाले पनि तरकारी खेती हिउँदमा कम हुने गरेको छ । किसानले वर्षात् शुरू भएपछि तरकारी खेती गर्ने गरेका छन् । कपुरकोट गाउँपालिका र आसपासका क्षेत्रमा असारदेखि भदौसम्म बढी मात्रामा तरकारी खेती हुने गरेको छ । वर्षायामको सिँचाइ सुविधा सहज हुने भएका कारण वर्षाको समयमा तरकारी खेती गर्ने गरेको अर्का किसान कमला घर्तीले बताइन् ।

‘बारीमा सिँचाइ सुविधा छैन्, त्यसैले वर्षा लाग्ने बेलामा तरकारी खेती शुरूवात गछौँ’ उनले भनिन्–‘बैशाखमा लगाएको तरकारी अहिले बिक्री गर्न तयार भएको छ ।’ उनले तरकारी खेतीबाट छ महिनामा करिब तीन लाख आम्दानी गर्ने गरेको बताइन् । ‘करिब ६ महिना तरकारी खेती हुन्छ’ उनले भनिन्–‘यस अवधिमा करिब तीन लाख आम्दानी हुने गरेको छ ।’

कपुरकोटमा टमाटर, फूलगोपी, बन्दागोपी, भेडे खुर्सानी, काँक्रा, खुर्सानीलगायतका तरकारी उत्पादन हुने गरेको कपुरकोट कृषि उपज बजार संकलन केन्द्रका सचिव तिलक शर्माले बताए । ‘अहिले कपुरकोटमा तरकारी धेरै उत्पादन हुन थालेको छ’ उनले भने–‘उत्पादनलाई बजारीकरणका लागि कपुरकोटमा हप्तामा दुई दिन हाटबजार सञ्चालन हुने गरेको छ ।’ कपुरकोटमा किसानको तरकारी किन्न देशका विभिन्न सहरबाट व्यापारी आउने गरेका छन् ।

कपुरकोटमा उत्पादन गरेको तरकारी दाङको तुलसीपुरसहित घोराही, लमही, नेपालगञ्ज, बुटवल, नारायणघाटलगायतका सहरमा पुग्ने गरेको छ । वर्षात्को समयमा तराईका जिल्लामा तरकारी खेत कम हुँदा कपुरकोटको तरकारी देशका सहरका भान्सा–भान्सामा पुग्ने गरेको सचिव शर्माले बताए । ‘तराईमा वर्षाको समयमा कम उत्पादन हुन्छ, त्यसले पनि पहाडमा उत्पादन भएको तरकारीले बजार पाउने गरेको छ’ उनले भने–‘कपुरकोटको तरकारी सहरका भान्सामा पुग्ने गरेको छ ।

कपुरकोटबाट वार्षिक ३० करोड बढीको तरकारी जिल्ला बाहिर निर्यात हुने गरेको सचिव शर्माले बताए । ‘विभिन्न तरकारी गरेर वर्षमा ३० करोडभन्दा बढीको तरकारी जिल्ला बाहिर निर्यात हुने गरेको छ’ उनले भने– ‘कपुरकोटको तरकारी भनेपछि देशका अन्य ठाउँमा पनि बिक्री राम्रो हुने गरेको छ’ कपुरकोटको आर्थिक विकासको मूख्य आधार नै कृषि भएकाले पनि कपुरकोट गाउँपालिकाले कृषिको उत्पादनदेखि बजारीकरणमा सहजता बनाउन थालेको छ ।

किसानलाई मल बीउदेखि उत्पादनको बजारीकरणमा स्थानीय सरकारले मूख्य भूमिका खेलेको गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताए । ‘कृषि उत्पादनदेखि बजारीकरणमा गाउँपालिकाले मुख्य योजना बनाउने गरेको छ’ उनले भने–‘कपुरकोटको तरकारीलाई ब्राण्डिङ गर्ने मुख्य उद्देश्य हो ।’

कपुरकोटको तरकारीलाई ब्राण्डिङ गर्नका लागि विषादी परिक्षण प्रयोगशाला स्थापना गर्नेदेखि कृषि एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष पुनले बताए । ‘तरकारीको विषादी परिक्षण गर्नेदेखि कृषि एम्बुलेन्स सञ्चालन गरी कपुरकोटको तरकारीलाई थप ब्राण्डिङ गर्दैछौँ’ उनले भने–‘गाउँपालिकाले अब लगत्तै विषादी परिक्षण, चिस्यान केन्द्र स्थापना, कृषि एम्बुलेन्स सञ्चालन गर्नेछ, यसले तरकारीलाई ब्राण्डिङ गर्न थप सहजता बनाउने छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here