तुलसीपुर, ३१ असार ।
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको छ । उपमहानगरको आर्थिक वर्ष २०८०/०८१ को असार १० गते नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो । नगर सभामा सदस्यहरूले प्रस्तुत गरेका सुझावसहित नीति तथा कार्यक्रम र बजेट आइतबार पारित गरिएको नगर प्रवक्ता माधव वलीले बताए ।
‘आइतबार नगरको आगामी वर्षको बजेट पारित गरेका छौँ’ उनले भने– ‘पुराना धेरै कार्यक्रमले निरन्तरता पाएका छन् ।’ उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा स्मार्ट छोरी कार्यक्रमअन्तर्गत बिहेवारी २० वर्षपारी, सुत्केरी पोषणभत्ता कार्यक्रम, पालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेज र मेट्रो अस्पताल सञ्चालन नीति तथा कार्यक्रम र बजेटमा निरन्तरता दिइएको छ ।
नीति तथा कार्यक्रममा शून्य बजेटमा कार्यान्वयन गरिने जनतासँग जनप्रतिनिधिअन्तर्गत श्रमदान अभियान, विपद्मा जनप्रतिनिधि कार्यक्रम समावेश गरिएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ मा कूल बजेट एक अर्ब ७९ करोड ४५ लाख ६९ हजारको अनुमानित बजेट ल्याएको छ । पालिकाले गतवर्ष एक अर्ब ८६ करोड ४७ लाखको बजेट ल्याएको थियो ।
यो आर्थिक वर्षको बजेट गतवर्षभन्दा सात करोड १३ लाख कम रहेको छ । बजेटमा आगामी आर्थिक वर्ष चालुतर्फ ४७ करोड ७ लाख १८ हजार ४ सय ९१ अर्थात् कुल बजेट खर्चको २६.२३ प्रतिशत र पुँजीगतर्फ १ अर्ब ३० करोड ८८ लाख ५१ हजार २ सय ५९ कुल बजेट खर्चको ७२.९३ प्रतिशत विनियोजन गरिएको छ ।
उपहानगरपालिकाले कृषिमा पकेट विकास कार्यक्रमहरूदेखि संघ र प्रदेशसँग समन्वय गरी वडा नं. ४, ११, १८ र १९ मा स्थानीय रैथाने धानको पकेट क्षेत्र निर्धारण गरी उत्पादनमा जोड दिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा ‘श्रमको सम्मान, समृद्धिको अभियान’ अन्तर्गत मेयरसँगै श्रमदान अभियान सञ्चालन गरी मझौला खालको विकासलाई बढाउने बजेटमा समेटेको छ ।
पालिकाको बजेट आन्तरिक स्रोततर्फ ३६ करोड १५ लाख रहेको छ गतवर्ष भने ३० करोड १२ लाख रहेको थियो । आन्तरिकतर्फ गतवर्षभन्दा करिब ६ करोड तीन लाख बढी रहेको छ । गतवर्षको बजेटमा संघीय समानीकरण अनुदानतर्फ ३३ करोड ६२ लाख रहेको थियो भने यो आर्थिक वर्षमा २९ करोड आठ लाख रहेको छ ।
सभामा नगरप्रमुख टीकाराम खड्काले सुकुम्बासी, दलित, अव्यवस्थितका जग्गा नाप नक्सांकन गर्न थप जनशक्ति व्यवस्थापन गरेर दुई वर्षभित्रै लालपूर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे । नगरप्रमुख खड्काको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो ।
नगरसभामा उपप्रमुख स्यानी चौधरीले बजेट स्वीकृतका लागि प्रस्तुत गरेकी थिइन् । त्यस्तै आर्थिक समितिका संयोजक माधव वलीले आर्थिक विधेयक सभामा प्रस्तुत गरेका थिए । लेखा समितिका संयोजक घनश्याम ढकालले आर्थिक वर्ष ०८०÷०८१ को विनियोजन विधेयक स्वीकृतका लागि पेश गरेका थिए ।
राप्तीको वित्तीय प्रगति ८७ प्रतिशत बजेट खर्च
दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० को कुल बजेटको ८७ प्रतिशत बजेट खर्च गरेको छ भने १३ प्रतिशत बजेट खर्च गर्न सकेको छैन् । कुल ७२ करोड २२ लाख २४ हजार बजेटमध्ये ८७ प्रतिशत अर्थात् ६२ करोड ७३ लाख ४२ हजार ६ सय ४७ रूपैयाँ बजेट खर्च गरेको छ ।
त्यस्तै ९ करोड ४८ लाख ८१ हजार ३ सय ५२ रूपैयाँ ८५ पैसा खर्च गर्न सकेन भने १ करोड ५७ लाख ७७ हजार ७९ रूपैयाँ १३ पैसा फ्रिज भएको छ । चालुतर्फ कुल ४७ करोड ६९ लाख ३५ हजारमध्ये ४० करोड ६९ लाख २९ हजार अर्थात् ८५.३२ प्रतिशत बजेट खर्च भएको राप्ती गाउँपालिका लेखा अधिकृत धनबहादुर शर्माले जानकारी दिएका छन् ।
पुँजीगततर्फ कुल २४ करोड ५९ लाख ३८ हजार रकममध्ये २२ करोड ३ लाख २१ हजार अर्थात् ९० प्रतिशत बजेट खर्च भएको लेखा अधिकृत शर्माले जानकारी दिए ।
यस्तै संघ र प्रदेशबाट आएको कुल ३३ करोड ११ लाख ५४ हजार ५ सय ५३ रूपैयाँमध्ये ३१ करोड ५३ लाख ९१ हजार ५ सय ९७ रूपैयाँ अर्थात् ९५.२४ प्रतिशत बजेट खर्च भएको छ भने १ करोड ५७ लाख ६२ हजार ९ सय ५६ रूपैयाँ अर्थात् ४.७६ प्रतिशत बजेट फ्रिज भएको लेखा अधिकृत शर्माले जानकारी दिए ।