दंगीशरण, ३१ असार ।
दंगीशरण गाउँपालिका वडा नम्बर २ मा अवस्थित माध्यमिक विद्यालय मधकपुरले विद्यार्थीहरूलाई निःशुल्क पोशाक वितरण गरेको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी शिशु कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि निःशुल्क पोशाक वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झरेन्द्र केसीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारी र वडा नम्बर २ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीको विशिष्ट आतिथ्यतामा पोशाक वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
पोशाक वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सप्पन्नता र विपन्नताको समानान्तर रूप देखाउन पोशाक वितरण प्रभावकारी रहेको बताए । बदलिँदो समयानुकूल शिक्षक पनि प्रविधिमैत्री तवरले अगाडि बढ्नुको विकल्प नरहेको बताए । शिक्षाको गुणस्तरको सवालमा मावि मधकपुर गतवर्ष उत्कृष्ट नतिजामा आउन सफल भएता पनि यस वर्ष चित्तबुझ्दो नतिजा नआउनुको कारण खुलाउन विद्यालय परिवारलाई निर्देशन दिए ।
यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि स्थानीय सरकार गम्भीर भएर लाग्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका प्रअ बिमला कँडेल गाउँपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्य, पूर्व विव्यस अध्यक्ष नन्दाराम खत्री, सर्दिन कुसारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीलगायतले आ–आफ्नो भनाइ व्यक्त गरेका थिए । विद्यालयका शिक्षक खेमराज बुढाथोकीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक निर्मला परियारले गरेकी थिइन् ।