दाङ, ३१ असार ।
दाङमा नेपाली चलचित्र नम्बरी सुनको च्यारिटी शो गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा चलचित्र नम्बरी सुनका निर्देशक राजु गिरी, निर्माता नारायण खाति, कलाकारहरू कंगना गिरी, काजल गिरीसँग घोराहीमा साक्षात्कार कार्यक्रम गरी च्यारिटी शो गरेका हुन् ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र नम्बरी सुनका निर्देशक राजु गिरीले विगतमा समाजमा सकारात्मक सन्देश दिने सचेतनामूलक चलचित्रहरू निर्देशन गर्दै आएको र सोहि विषयवस्तुलाई समेटिएर समाजमा विद्यमान जातीय भेतभावको कथावस्तुलाई चलचित्रमा समेटिएको बताए । यो चलचित्र पारिवारिक प्रेम कथामा आधारित रहेको उनले बताए ।
कामका आधारमा निर्धारण गरिएको जातीय व्यवस्थाले मान्छे–मान्छे बीचमा विभेदको अवस्था सिर्जना गरेको र त्यही विभेदले विभिन्न खाले घटनाहरू निम्त्याएको बताउँदै उनले नम्बरी सुनमा पनि जातीय विभेदको गलत चिन्तन व्याप्त हुँदा अन्तरजातीय प्रेम तथा विवाह सम्बन्ध र ती जोडीको परिवार तथा समुदायमा भइरहेका अप्रिय घटनाहरूको बारेमा देखाउन खोजेको जानकारी गराए ।
गौरव पहाडी, नम्रता सापकोटा, राजाराम पौडेल, बुद्धि तामाङ, विनोद न्यौपाने, सरोज खनाललगायतका कलाकारहरूको अभिनय रहेको चलचित्र आगामी भदौ १ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने बताए । चलचित्र प्रदर्शन हुने दिन नजिकिदै गर्दा नेपाल सुनचाँदी व्यवसायी संघ दाङको आयोजना घोराहीमा च्यारेटी शोको आयोजना गरिएको थियो ।
निर्माता तथा कलाकार नारायण खातीले सुनको विषयवस्तुलाई समाजसँग जोडेर चलचित्रका माध्यमबाट देखाउन खोजेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, सचिव आरके शीतललगायतले बोलेका थिए । संघका सदस्य एकराज भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन् ।