Saturday, October 11, 2025
Homebreaking-newsलुम्बिनी प्रदेश सर्पदंशको जोखिममा, एक वर्षमा १८ जनाको मृत्यु

लुम्बिनी प्रदेश सर्पदंशको जोखिममा, एक वर्षमा १८ जनाको मृत्यु

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ३१ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ कटाहाँकी ४० वर्षीया ललिता डाँगीलाई गत आइतबार बेलुकी खाना पकाउँदै गर्दा सर्पले टोक्यो । घर बाहिर खाना पकाउँदै गरेकी ललितालाई सर्पले टोकेपछि घरको कुकुरले सर्पलाई झम्टिन खोज्यो । कुकुरले झम्टिन खोजेपछि गोमन सर्प नजिकैको दुलोमा छिरेको सर्पलाई कुकुरले बाहिर निकालेर सर्प मारेको थियो ।

सर्प मारेको केही समयपछि कुकुर पनि आफै मरेको थियो भने सर्पले टोकेपछि बेहोस भएकी ललिताको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको थियो । ललिताको समयमै उपचार भएको भए उपचार सम्भव हुने थियो कि भन्ने परिवारलाई लागेको छ । तुलसीपुरमै सर्पदंश उपचार केन्द्र स्थापना भएको ललिताको ज्यान जोगिने परिवारले बताएको छ ।

कपिलवस्तुमा सोमबार राती घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको मृत्यु भयो । सर्पको टोकाईबाट नौ वर्षिय प्रदीप भुसाल र १२ वर्षिय दीपक भुसालको मृत्यु भएको हो । दुबैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए ।

बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पु¥याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एकजनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको हो ।

गत सोमबार बिहान कपिलवस्तुकै बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट मृत्यु भयो । सर्पले डसेलगत्तै उनलाई नजिकै रहेको गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि तौलिहवा जिल्ला अस्पताल पठाइएको थियो । तर त्यहाँका चिकित्सकले ढिलो भएकाले बचाउन नसकिएको बताएका थिए । गत सोमबार नै महाराजगञ्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको डसाइबाट मृत्यु भएको थियो ।

दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उनलाई गोमन सर्पले डसेको थियो । लगत्तै सोही उपचार केन्द्रमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उनको पनि बाटोमै निधन भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिए ।

पछिल्लो एकसातामा मात्रै सर्पदंशबाट कपिलवस्तु र दाङमा पाँचजनाको निधन भएको उनले बताए  । वर्षा र अत्याधिक गर्मीसँगै लुम्बिनी प्रदेशमा सर्पदंशका घटना बढेका छन् । लुम्बिनी प्रदेशमा चालुवर्षमा मात्रै १८ जनाको मृत्यु भएको छ । जुन गत आर्थिक वर्षभन्दा धेरै हो । गतवर्ष सर्पदंशबाट १६ जनाको मृत्यु भएको थियो ।

चालुवर्षमा सर्पको टोकाइबाट १२ जना महिला, दुईजना पुरुष र चारजना बालबालिकाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मगरले बताए । ‘लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षको तुलनामा यसवर्ष सर्पदंशका घटना बढेका छन्’ उनले भने– ‘गत आर्थिक वर्षभन्दा चालुवर्षमा दुईजना बढीको निधन भइसकेको छ ।’

प्रदेशमा दाङमा सबैभन्दा बढी सर्पदंशको बिगबिगी देखिएको छ । प्रदेशका १२ जिल्लामध्ये चालु आर्थिक वर्षमा सबैभन्दा बढी दाङमा सातजनाको सर्पदंशबाट मृत्यु भएको छ । प्रहरीको तथ्यांकअनुसार नवलपरासी पश्चिम, बाँके, बर्दिया एक÷एक जनाको सर्पदंशबाट मृत्यु भएको छ । यस्तै कपिलवस्तुमा ६ र प्यूठानमा दुईजनाको मृत्यु भएको छ ।

भेरी अस्पताल बाँकेका वरिष्ठ कन्सल्टेन्ट डा. कृष्णप्रसाद आचार्यले गर्मी मौसम शुरु भएसँगै सर्पदंशका बिरामी बढ्न थालेको जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा दैनिक १० देखि २० जना सर्पदंशका बिरामी भर्ना हुने गरेका छन् । पछिल्लो सातामा झनै बढेको उनले बताए । होसियारी अपनाउने र समयमै अस्पताल पु¥याउने हो भने सर्पले टोकेका बिरामीको ज्यान बचाउन सकिने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here