Wednesday, October 1, 2025
Homebreaking-newsसिमेन्ट उद्योगले तिरेनन दुई अर्ब विद्युत महसुल

सिमेन्ट उद्योगले तिरेनन दुई अर्ब विद्युत महसुल

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, ७ बैशाख ।
दाङका तीन सिमेन्ट उद्योगको नाममा दुई अर्ब विद्युत वक्यौता देखिएको छ । सिमेन्ट उद्योगहरूले लामो समयदेखि विद्युत महसुल नबुझाउँदा उद्योगको नाममा वक्यौता रकमको आकार बढ्दै गएको हो । २०७७ सालदेखि दाङका सिमेन्ट उद्योगको विद्युत महसुल तिरेका छैनन् ।

नेपाल विद्युत प्राधिकरणका अनुसार तीन वर्ष अघिदेखि उद्योगहरूले विद्युतको महसुल समयमै बुझाएका छैनन् । जसका कारण तीन उद्योगको दुई अर्ब तीन करोड ३२ लाख ७३ हजार नौ सय रूपैयाँ वक्यौता उठाउन बाँकी छ । उद्योगहरूको वक्यौता रकमको आकार बढ्दै जान थालेपछि प्राधिकरणले विद्युत लाईन काट्न थालेको छ ।

प्राधिकरणले डेडिकेटेड फिडर बाहेकको नियमित महसुल नबुझाउने उद्योगहरूको लाईन काट्न सुरू गरेको हो । केही दिन पहिले लमहीमा रहेको सम्राट सिमेन्टको विद्युत लाईन काटेको प्राधिकरणले यहि साता दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगको पनि विद्युत लाईन काटिएको छ ।

उद्योगहरूले २०७७ देखिको नियमित विद्युत महसुल नबुझाएपछि आफूहरू बाध्य भएर लाईन काट्नु परेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुखहरूको भनाइ छ । लमही वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले नियमित बुझाउनुपर्ने रकमसमेत नबुझाएपछि विद्युत लाईन काट्न सुरू गरिएको जानकारी दिए ।

उनका अनुसार लमहीमा रहेको सम्राट सिमेन्ट उद्योगले पनि समयमै विद्युत महसुल नबुझाउँदा केहीदिन पहिले विद्युत लाईन काटिएको थियो । जरिवानासहितको ८९ लाख ७२ हजार ६ सय ११ रूपैयाँ जरिवानासहितको रकम बुझाएपछि सिमेन्ट उद्योगको लाईन जोडिएको थियो ।

सम्राट सिमेन्ट उद्योगको २०७७ असारभन्दा अगाडिको ३४ करोड १३ लाख नौ हजार सात सय ५० रूपैयाँ विद्युत वक्यौता रहेको छ । उक्त रकम डेडिकेटेड फिडरअन्तर्गतको हो । जसमा २५ प्रतिशतले पेनाल्टी बढ्दै जान्छ । जसका कारण प्रत्येक महिना वक्यौता रकम धेरै हुँदै जाने उनी बताउँछन् ।

‘प्राधिकरणको सिस्टममा वक्यौता रकम सबै बुझाएपछि मात्रै पछिको रकम पनि कम हुँदै जाने हो’ उनले भने– ‘तर वक्यौता रकम यथावत रहिरहँदा नियमित महसुल बुझाए पनि पुरानो वक्यौताको २५ प्रतिशत पेनाल्टी लाग्ने भएकाले वक्यौता रकम बढ्दै जाने गर्दछ ।’ तर उद्योगहरूले डेडिकेटेड फिडरको बहानामा नियमित बुझाउनुपर्ने विद्युत महसुल नबुझाउँदा बाध्य भएर लाईन काट्नुपरेको उनले बताए ।

यसैगरी गत चैत २९ गते दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगको पनि विद्युत लाईन काटिएको छ । विद्युत वक्यौता रकम ७१ करोड ५७ लाख ६३ हजार पुगिसक्दा पनि विद्युत महसुल बुझाउन अटेरी गरेपछि उक्त उद्योगको विद्युत लाईन काटिएको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका निमित्त प्रमुख डिल्लीराज आचार्यले जानकारी दिए ।

उद्योगले २०७७ साउन १ गतेदेखिको नियमित बुझाउनुपर्ने विद्युत महसुल नबुझाएपछि लाईन काट्न बाध्य भएको उनले बताए । उद्योगको नियमित विद्युत महसुल वापतको ३२ करोड रूपैयाँ विद्युत वक्यौता रहेको छ भने ३९ करोड रूपैयाँ डेडिकेटेड फिडरअन्तर्गतको वक्यौता रकम हो ।

पत्रमार्फत पटक–पटक विद्युत महसुल बुझाउन ताकेता गर्दापनि उद्योगले अटेरी गरेपछि यसरी लाईन नै काटनु परेको उनले बताए । आर्थिक मन्दीको कारण देखाउँदै उद्योगहरूले विद्युत महसुलमा मनमौजी गर्दा यसको प्रभाव अन्य उपभोक्तामा समेत देखिन थालेको उनको भनाइ छ ।

लाईन काटिएपछि उद्योगले आठ करोडको चेक प्राधिकरणलाई बुझाएको छ । प्रत्येक महिना नियमित रूपमा विद्युत महसुल बुझाउने र त्यसमा दुई करोड थप गर्दै जरिवानासहितको विद्युत महसुल बुझाउने प्रतिवद्धता उद्योगले गरेको उनले जानकारी दिए ।

यसैगरी घोराही सिमेन्ट उद्योगको विद्युत वक्यौता रकम एक अर्ब २८ करोड २१ लाख ८० हजार एकसय ५७ रूपैयाँ रहेको छ । उक्त रकम डेडिकेटेड फिडरअन्तर्गतको रकम हो । तर घोराही सिमेन्ट उद्योगले नियमित रूपमा बुझाउनुपर्ने महसुल बुझाउँदै आएकाले विद्युत लाईन नकाटिएको उनले जानकारी दिए । २०७७ भन्दा अगाडिको वक्यौता रकम डेडिकेटेड फिडरअन्तर्गत रहेको र यो विषय सर्वोच्चमा विचाराधिन मुद्दामा रहेकाले लाईन काट्न नमिल्ने उनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here