दाङ, २० फागुन ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्री ईन्द्रजित थारूले थारू समुदायका कला र संस्कृतिहरू लोप हुन लागेको भन्दै कला र संस्कृतिको जगेर्ना अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन् ।
शनिबार भुह्याँर थान संरक्षण समिति तुलसीपुर–१८ दुधरासको भुह्याँर थान मन्दिर उद्घाटन गर्दै मन्त्री थारूले पश्चिमा संस्कृतिले गर्दा थारू जातिका मूल्य र मान्यताहरूमा ह्रास आएको र यसलाई समयमा नै संरक्षण र सम्बद्र्धन गर्न सकिएन भने भोलिका दिनमा भुह्याँर पुज्ने मन्दिर खोज्न र यो परम्परा नै जोखिममा पर्न सक्ने भन्दै यसको संरक्षणमा गाउँ टोल वडा, नगरपालिका मात्रै नभएर राज्य पनि गम्भीर हुनुपर्ने बताए ।
भुह्याँर थानको प्रचलन जतिबेला विज्ञान र प्रविधिको सुरूवात भएको थिएन त्यतिबेला ठूला–ठूला समस्याहरूबाट मुक्ति पाउनका लागि देउता पुकार्ने, प्रकृतिलाई पूजा गरी मानवीय सभ्यता बचाउनका लागि भुह्याँर पुज्ने प्रचलनको सुरूवात भएको मन्त्री थारूले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश दाङ क्षेत्र नम्बर २ ९२० का सांसद प्रचण्ड विक्रम न्यौपानेले थारू समुदाय दाङमा बाहुल्यता बढी हुँदा पनि थारू सभ्यता र थारू संस्कृति दिनानु दिन लोप हुँदै गएकोमा चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले थारू संस्कृति र थारू सभ्यताको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले निकै नै चासोका साथ हेरेको र अबको पाँच वर्षमा लोप हुँदै गएका थारू सभ्यतालाई माथि उठाउनका लागि आफूले जतिसक्यो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
कार्यक्रममा थारू महटवा महासंघका केन्द्रीय सदस्य जगवीर चौधरी, महटवा महासंघ दाङका अध्यक्ष चन्द्र बहादुर चौधरी लगायतले थारू समुदायमा भएका समस्या र समाधानका लागि मन्त्री थारूलाई ध्यानाकर्षण गराएका थिए ।
भुह्याँर थान संरक्षण समितिका अध्यक्ष कमल चौधरीको अध्यक्षता, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री ईन्द्रजित थारूको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उपमहानगर–पालिककी उपमेयर स्यानी चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा भुह्याँर थान टोल विकास संस्थाका उपाध्यक्ष टेक बहादुर चौधरीको स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण भुह्याँर थान संरक्षण समितिका सचिव मनवीर चौधरीले गरेका थिए ।