दाङ, २० फागुन ।
लुम्बिनी प्रदेश सभा सदस्य माननीय प्रचण्डविक्रम न्यौपाने (गुण्टु)ले जातीय विभेद अन्त्यका लागि दलित समुदाय र गैर–दलित समुदायको आवाज एकै हुन जरूरी रहेका बताएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, दाङ शाखाको १२औं स्थापना दिवसको अवसरमा बोल्दै न्यौपानेले अहिलेको समयमा दलितको अधिकार समाजमा बस्ने सबैको अधिकार हो भन्ने बुझेर सबैले आवाज उठाएर अघि बढ्न आवश्यक बताए ।
कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले नेपालको संविधान (२०७२) ले दलितका हक अधिकारको व्यवस्था गरेपनि व्यवहारमा पूर्णतया कार्यान्वयन हुन नसकेको बताए ।
‘देशमा विभिन्न राजनीतिक आन्दोलनहरू, शासकीय व्यवस्था र संरचनामा आमूल परिवर्तन हुँदा पनि जातीय विभेदजस्तो सामाजिक कुप्रथाको अन्त्य हुन नसक्नु दुखद् विषय हो’, उनले भने, ‘दलित समुदायले राज्यका लागि गरेको महत्वपूर्ण योगदान सम्मानजनक छ । देशमा भएका विभिन्न ठूला आन्दोलनहरू अझ खासमा १० वर्षे सशस्त्र द्वन्द्वमा दलित समुदायले गरेको बलिदानीपूर्ण योगदानको छुट्टै इतिहास छ ।’
वर्षौदेखि उत्पीडनमा रहेको दलित समुदायका कथाव्यथा बाहिर ल्याउन पत्रकारको महत्वपूर्ण भूमिका रहने बताए । उनले दलित समुदायकै पत्रकारले त्यो समुदायका कथाव्यथा सञ्चार माध्यमसम्म सशक्त रूपमा ल्याए पनि आग्रह गरे । विभेद, असमानता र विकृतिहरूको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्नु सञ्चारको दायित्व भएकाले दलितका समस्याका विषयमा कलम चलाउन आवश्यकता रहेको बताए ।
यस्तै, तुलसीपुर उपमहानगरापलिका प्रवक्ता एवं वडा नम्बर १८ का वडा अध्यक्ष माधव ओलीले पत्रकारिता समाजको ऐना पनि भएको हुनाले समाजमा रहेका कुरीति, अन्धविश्वासहरूलाई चिर्दै, समुन्नत समाज निर्माणमा पहल गर्न आवश्यक हरेका बताए । साथै जातीय विभेद अन्त्यका लागि कलमको माध्यमबाट खबरदारी, साझेदारी र पहरेदारीको भूमिका खेल्न पनि उनको आग्रह थियो ।
नेपाल पत्रकार महासंघ शाखा दाङका सल्लाहकार एवं प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गौतमले जातीय विभेद अन्त्यका लागि लामो समयदेखि विभिन्न नीतिगत र संरचनात्मक प्रयासहरू हुँदै आएको बताए । नेपालको संविधानले दलितका हक अधिकारको व्यवस्था गरेको र विभिन्न सामाजिक संघसंस्थाहरू पनि आ–आफ्नो ठाउँबाट लागि परिरहेको बताए ।
कार्यक्रममा तुलसीपुर–११ का वडा अध्यक्ष मानबहादुर रावत, सामुदायिक रेडियो प्रसारक संघ (अको¥याव) का केन्द्रीय सदस्य संगीत बस्याल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, जनजाति पत्रकार संघ दाङका अध्यक्ष प्रेम राम्जाले दलित र गैर दलितबीचको खाडललाई चिर्नको लागि सबै एकजुट भएर लागेमा मात्रै जातीय विभेद अन्त्य हुने बताएका छन् ।
जनपत्रकार संगठन दाङका इन्चार्ज हेमन्त प्रकश ओली, दलित अधिकारकर्मी खेमराज विश्वकर्मा, दलित आधिकारकर्मी निर्मल नेपाली, दलित महिला संघका अध्यक्ष युवा करारा, दलित अभियान्ता देउमन दमाईले दलितहरूको अवस्था परिवर्तन भएपनि जीवन परिवर्तन नभएको भन्दै यसतर्फ पत्रकारहरूले सशक्तरूपमा कलम चलाउनु पर्नेमा जोड दिएका हुन् ।
दिवसको अवसरमा सम्मान
स्थापना दिवसको अवसरमा संघले पत्रकारिताको माध्यमबाट समतामूलक समाज निर्माणमा कलम चलाएकोमा दलित पत्रकार प्रतिभा पुरस्कारबाट रेडियो हाम्रो पहुँचमा कार्यरत रमा नेपाली र रेडियो स्वर्गद्वारीमा कार्यरत देवका परियारलाई पुरस्कृत गरेको हो ।
त्यस्तै संघका पूर्वउपाध्यक्ष लक्ष्मण विश्वकर्मा, जीवन नेपाली, अरूण कुमार नेपाली, सुवास परियार र नारायण परियारलाई संघले सम्मान गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ दाङका अध्यक्ष बसन्त परियारको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता माधव ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
दलित पत्रकार संघ दाङ शाखाका उपाध्यक्ष गिरिराज नेपालीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण संघका सचिव अर्जुन परियारले गरेका थिए ।