दाङ, २० फागुन ।
पछिल्लो समयमा समिकरणका आठ दलले प्रदेश सांसदहरूलाई प्रशिक्षण दिएका छन् । फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनको विषयलाई केन्द्रित गरेर लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण गरिएको हो ।
लुम्बिनीको राजधानी राप्ती उपत्यका क्षेत्रमा आठ दलका केन्द्रित नेताहरूको सहभागितामा प्रदेश सांसदहरूलाई पछिल्लो सत्ता समिकरणको विषयमा पनि जानकारी गराइएको छ । जहाँ मत बदर हुन नदिनेदेखि २३ गतेनै काठमाडौँ गईपुग्न निर्देशन दिइएको छ । एनजिओ, आइएनजिओको नाममा सांसदलाई अल्मल्याउन खोजिएको भन्दै यस्ता उल्झनमा नपर्नसमेत सचेत गराइएको छ । ‘निर्देशन अनुसार प्रदेश सभा सदस्यहरू २३ गते नै काठमाडौँ पुगिसक्नु पर्नेछ ।
नागरिकता वा मतदाता परिचयपत्र अनिवार्य साथमा राखेर काठमाडौँ पुग्न निर्देशन दिइएको छ । गोप्य मतदान भएपनि कसैको प्रलोभनमा नपर्न समेत सांसदहरूलाई भनिएको छ । यसका अतिरिक्त मत बदर हुन नदिन सही तरिकाले मतदान गर्न भनिएको छ । मतपत्रमा यसपालि स्वस्तिक छापले संकेत गर्नुपर्ने छ । अहिले त उम्मेदवारको फोटो पनि भएकाले मत संकेत गर्न सहज हुने जानकारी दिइएको छ ।
राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदैछ । फागुन २५ मा तेस्रो कार्यकालका लागि राष्ट्रपति चयन गर्नेछ । आठ राजनीतिक दलबाट कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।
संवैधानिक मर्यादाभित्र रहने व्यक्तिलाई राष्ट्रपति पदमा निर्वाचित गरिनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए । ‘संविधानभन्दा माथि कोही छैन । तर, विगतका अभ्यासले त अर्कै संकेत ग¥यो’ उनले भने, ‘संविधानको रक्षाको लागि हामी एक ठाउँमा उभिएका हौं ।’
संविधानमा राष्ट्रपतिलाई कार्यकारी अधिकार दिइएको छैन । तर, अघिल्ला केही अभ्यासले राष्ट्रपतिलाई कार्यकारीजस्तो भूमिकामा देखाउनु चुनौतीको विषय बनेको र अब बन्ने राष्ट्रपतिले संविधानको रक्षा, त्यसको पालनामा ध्यान दिनुपर्ने धारणा व्यक्त गरिएको छ । नेपाली कांग्रेस सुझबुझ पूर्णरूपमा राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको माओवादी नेता चक्रपाणि खनालले बताए ।
‘पाँच दलीय गठबन्धन किन बन्यो, किन भत्कियो, नयाँ किन बन्यो भन्ने भन्दा पनि हामी संविधान रक्षाको लागि एक ठाउँमा छौं’ उनले भने, ‘हाम्रो बीचमा विश्वास चाहिन्छ । कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको रूपमा सुझबुझ पूर्णरूपमा उम्मेदवार बनाएको छ ।’
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि शर्माले आवश्यकता अनुसार आठ दलीय गठबन्धन बनेको र यसले लोकतन्त्र, संविधानको रक्षा गर्ने बताए । आठदलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनको लागि मात्रै नभएर सत्ता समिकरणमा पनि भएको र पूरै कार्यकाल कायम रहने बताए ।
संविधान रक्षाको लागि सही व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गरिनुपर्ने भएकाले आठ दलीय गठबन्धन निर्माण भएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए । ‘रातारात राष्ट्रपतिलाई शक्ति दिने काम भयो यो गलत हो’, उनले भने, ‘सार्वभौम संसदभन्दा माथि कोही छैन । संसदले गरेका निर्णय रोकिनु दुभाग्र्य थियो । अब त्यसो हुने छैन ।’
नयाँ बनेको आठ दलीय गठबन्धनभित्र विश्वासको वातावरण कायम गर्दै निर्वाचनमा इमानदारी आवश्यक पर्ने अन्य दलका नेताहरूको भनाइ छ । अभिमुखीकरणलाई सम्बोधन गर्ने अन्य दलका नेताले गठबन्धनभित्र विश्वास कायम हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
अभिमुखीकरणमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीका सांसदहरूको सहभागिता थियो । लुम्बिनी प्रदेश ८७ सदस्यीय छ । जसमा ५४ सांसद कार्यक्रममा सहभागी भएका थिए ।