
प्रविधिको प्रयोग र प्रभावकारितामा अन्तरक्रिया
दाङ, २० फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित कुटेचौरमा शुक्रबार प्रविधिको प्रयोगका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक अपराधजन्य गतिविधिहरू पनि बढ्दै जान थालेपछि समुदायस्तरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा श्री नवजागरण माविमा उक्त कार्यक्रम गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा प्रदेश टुडे राष्ट्रिय दैनिक, मिडिया एड्भोकेसी ग्रुप र वडा नं. १९ को सह–आयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरूले बढ्दो सामाजिक अपराधले समुदायस्तरमा डर, त्रासको वातावरण सिर्जना गरेको बताए ।
सहज र सुविधाको बाहनामा प्रतिदिन समाजमा असुरक्षा बढ्दै गएको बताए । फेसबुक, टिकटक, युटुवजस्ता सामाजिक सञ्जालका कारण हिंसा, बलात्कार, चोरी, लुटपात, मानव बेचबिखनजस्ता अपराधिक घटनाहरू बढ्दै गएकाले सूचना र प्रविधिमा सुरक्षाको चुनौती रहेको उल्लेख गरे ।
तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले सामाजिक र शैक्षिक रूपमा सशक्त भएर अपराधिक घटनाबाट बच्न सकिने बताइन् । आफूमाथि हुने र भए÷ गरेका दुव्र्यवहारको महसुस गर्न र त्यसको प्रतिकार गर्नका लागि आफू शिक्षित हुन आवश्यक रहेको भन्दै शैक्षिक गतिविधिहरूमा सहभागी हुन अनुरोध गरिन् ।
बालबालिकाहरूलाई सूचना प्रविधिको प्रयोग र त्यसको सुरक्षाका बारेमा विद्यालयस्तरमा सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गरिन् । उनले समुदायस्तरमा विभिन्न समूह गठन गरी प्रौढ कक्षा सञ्चालन गर्न आग्रह समेत गरेकी छन् । यसका लागि स्थानीय सरकारले आवश्यक सहयोगसमेत गर्ने प्रविद्धता व्यक्त गरिन् ।
महिला अधिकारकर्मी शुष्मा गिरीले सामाजिक मूल्य मान्यताकै कारणले पनि हिंसाजन्य गतिविधिहरू न्यूनीकरण हुन नसकेको बताइन् । पछिल्लो समय सेवा, सुविधा र सहजताका बहानामा साइबर अपराध बढ्दै गएको भन्दै यसतर्फ विशेष सतर्क हुन सबैलाई अनुरोधसमेत गरिन् । समतामूलक समाज निर्माणका लागि सामाजिक मूल्य मान्यतालाई सुधार गर्न आवश्यक रहेको उल्लेख गरिन् ।
विभिन्न व्यक्तिको नक्कली प्रोफाइल बनाएर अश्लिल फोटो भिडियो पठाउने, चरित्र हत्या गर्ने, सामाजिक सद्भावमा खलल पुग्ने खालका क्रियाकलापहरू गर्ने, प्रलोभनमा पारेर मानव बेचबिखनमा संलग्न हुने÷गराउने, लुटपात, अपहरण, चोरी डकैती गर्ने सामाजिक अपराधजन्य गतिविधिहरू बढ्दो अवस्थामा रहेको भन्दै उनले घर, परिवार र व्यक्ति स्वयंम् विशेष सतर्क हुनुपर्ने उनले बताइन् ।
प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराईले सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सुरक्षा सतर्कता अपाउन जरूरी रहेको बताए । सूचना र प्रविधिको प्रयोगले मानवीय जीवनमा जति सहजता प्रदान गर्दै आएको छ त्यति नै खतरासमेत बढाउँदै गएको भन्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
‘प्रविधिको सही सदुपयोगले खोज, अनुसन्धान, अध्ययन, नयाँ–नयाँ कुराको जानकारी प्रदान गर्नुका साथै मानवीय जीवनलाई सरल बनाएको छ, अर्कोतरी ठूलो जोखिम निम्त्याएको छ । उनले भने– ‘हामीले प्रविधिलाई सही ढंगले प्रयोग गर्न जानेनौँ भने यसले हाम्रो जीवनलाई नै ध्वस्त बनाउन सक्छ यसर्थ यसको प्रयोगका विशेष ध्यान दिन जरूरी छ । साइबर सुरक्षाका बारेमा सबै जानकार हुन आवश्यक छ ।’
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले उपलव्ध सेवा सुविधालाई सही ढंगले सदुपयोग गर्न अनुरोध । उनले बालबालिकाहरूको शैक्षिक गितिविधिसँगै उनीहरूले प्रविधिलाई कसरी प्रयोग गरिरहेका छन्, सही सदुपयोग भएको छ÷छैन त्यसबारे निगरानी बढाउन अनुरोध गरे ।
प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद न्यौपालेले प्रविधिको प्रयोगका कारण पछिल्लो समय देखिएका समस्या, विकृतिका बारेमा जानकारी गराउनुका साथै विकृतिहरू कसरी कम गर्न सकिन्छ भन्ने बारेमा सचेत गराएका थिए ।
फेसबुक, ईन्स्टाग्राम, ह्वाट्एप, भाइवरजस्ता सामाजिक सञ्जालको सही ढंगले प्रयोग गर्न नजान्दा साइबर अपराधहरू बढ्दै गएको बताउँदै उनले साइबर सुरक्षाका बारेमा जानकार हुन सबैमा अनुरोध गरे । उनले साइबार अपराध विरूद्धका कानुनी प्रावधानका बारेमा जानकारी गराएका थिए ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठको अध्यक्षता तथा उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण उमा भण्डारीले गरेकी थिइन् ।