Saturday, October 11, 2025
Homebreaking-newsकपुरकोटबासीको पीडा, टिप्परको कम्पनले भत्किन थाले घर

कपुरकोटबासीको पीडा, टिप्परको कम्पनले भत्किन थाले घर

- Advertisement -spot_img

सल्यान, २४ जेठ ।
कपुरकोटदेखि रोल्पा सिमेन्ट प्रालिसम्मको सडकमा सञ्चालन हुने टिप्परका कारण कपुरकोटबासीहरूको जनजीवन प्रभावित बनेको छ । उसो त कपुरकोट बजारक्षेत्रका भूभागहरू भासिने अवस्थामा छन् । ठाउँ–ठाउँमा जमिन चर्किएको छ । त्रासपूर्ण जनजीवन बिताइरहेका बेला टिप्परका कारण स्थानीयहरूको जनजीवन थप प्रभावित बनेको छ । टिप्परको कम्पनका कारण सडक छेउका घरहरू भत्किने अवस्थामा पुगिसकेका छन् ।

दैनिक सयौँको संख्यामा लोडसहितका टिप्परहरू सञ्चालन हुँदा सडकको अवस्था थप जीर्ण बनेको स्थानीयहरूको भनाइ छ । जीर्ण सडकमा टिप्परहरू सञ्चालन हुँदा धुलोधुँवा बढ्दै गएको र त्यसले बालबालिकाहरूको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको उनीहरू बताउँछन् । बालबालिकाहरू घर–विद्यालय गर्नै मुस्किल भएको स्थानीयहरूको भनाइ छ ।

टिप्परकै कारण सडक नजिक भएका घरहरू भत्किने अवस्थामा पुगिसकेको स्थानीय पवन कार्कीले बताए । उनले सडकमा हिँड्ने पैदलयात्री, दुईपाङ्ग्रे र साना सवारी साधनहरूलाई आवतजावत गर्न कठिन भएको भन्दै पीडासमेत पोखे । ‘घरहरू भत्किने अवस्थामा छन्, कपडा र भाडाकुडा धोएर सुकाउन समेत सकिदैन’ उनले भने– ‘हामीले यति धेरै सास्ती व्यहोर्नुपरेको छ की, त्यो भन्न नै नसकिने अवस्था छ ।’

कपुरकोट स्थित खाली निवासी प्रेम भण्डारीले घरभित्र सुतेको अवस्थामा पनि धुलो खानुपर्ने बाध्यता रहेको बताए । यस्तै स्थानीय कृषक तिलक शर्माले धुलोको कारण तरकारी खेतीमा समेत ठूलो असर पुगेको बताए । उनले भने, ‘अत्यधिक धुलोका कारण तरकारी हुर्कनै मुस्किल छ । उत्पादन भएको तरकारी पनि धुलोको कारण बिक्रीका लागि बजार लैजान नसक्ने अवस्थामा हुन्छ ।’

टिपर सञ्चालनका विषयमा छलफल

नागरिकको जनजीवन प्रभावित भएको भन्दै कपुरकोट गाउँपालिकाले टिपर सञ्चालनमा रोक लगाएपछि सरोकारवालाहरूबीच छलफल भएको छ । गाउँपालिकाले कपुरकोटदेखि रोल्पा सिमेन्ट प्रालिसम्मको सडक खण्डमा टिप्पर सञ्चालनमा रोक लगाएपछि सोमबार छलफल भएको हो ।

अत्यधिक भारवहन गरेका टिप्परका कारण नागरिकको स्वास्थ्य र दैनिक जीवनमा प्रतिकूल प्रभाव परेको भन्दै गाउँपालिकाले टिप्पर सञ्चालनमा रोक लगाएपछि सरोकारवालाबीच छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए । गाउँपालिकाको सभाहलमा भएको छलफलमा जनप्रतिनिधि, रोल्पा सिमेन्ट प्रालि, टिप्पर सञ्चालक, व्यवसायी तथा सास्ती भोग्दै आएका स्थानीयहरूको सहभागिता थियो ।

छलफलमा वडा नं. ४ का वडा अध्यक्ष मित्र कठायत, वडा नं. ३ का वडा अध्यक्ष प्रदिप खड्का, स्थानीयहरू भद्रसिंह बुढा, यम कुमार बस्नेत, सन्तोष बुढाथोकी, प्रकाश घर्ती, रूपक बुढा, कुवेर खत्री, यगराज वलीलगायतले सडक मर्मत कार्य पूरा नभएसम्म टिप्पर सञ्चालनमा रोक लगाउनुको विकल्प नभएको बताएका छन् ।

रोल्पा सिमेन्ट प्रालिका जिएम घनश्याम लाल कर्णले सडक सुधारका लागि आवश्यक पहल गर्ने तर उद्योग नै कठिन अवस्थामा सञ्चालन भइरहेकाले ठूलो योगदान गर्न समस्या रहेको बताएका थिए । छलफलमा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले हिउँदमा धुलो र वर्षायाममा ठूला ठूला खाडल सहित हिलोको कारण स्थानीय र यात्रुले हैरानी व्यहोर्नुपरेको र नागरिकस्तरबाट व्यापक जनगुनासो आएकाले बाध्य भएर गाउँपालिकाले ट्रिपर सञ्चालनमा रोक लगाउनुपरेको बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले टिप्पर सञ्चालनमा रोक लगाउनुपरेको कारणबारे प्रस्ट पार्दै नागरिकहरू वातावरणीय समस्याबाट पीडित भएको हुँदा स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको पक्षमा आफूहरू दह्रोसँग उभिने बताए । उनले सिमेन्ट प्रालिका प्रतिनिधिहरूलाई भने, ‘उद्योगले चुनढुंगा उत्खनन् गरेर बाहिर लैजान पाउने, कपुरकोट गाउँपालिकाकै मार्ग प्रयोग गर्ने र आमनागरिकलाई सास्ती दिएर, वातावरणीय प्रभाव पारेर टिप्पर सञ्चालन गर्न पाउने हो की होइन ?

स्पष्ट आधिकारिक कागजात पालिकामा पेश गर्नुप¥यो ।’ समस्या समाधान नभएसम्म टिप्पर सञ्चालनमा लगाइएको रोक फिर्ता नहुने जनाउँदै उनले गाउँपालिका कानुनी लडाइमा लागिसकेको र आफू सामाजिक तथा भौतिक लडाइका लागि समेत तयार रहेको चेतावनी दिए ।

कपुरकोट गाउँपालिकाले कपुरकोटदेखि रोल्पा सिमेन्ट प्रालिसम्मको सडकखण्डमा धुलो र अत्यधिक भारवहन गरेका टिप्परको कारण यस पालिकाको वडा नं. १, २, ३ र ५ का नागरिकको स्वास्थ्य तथा दैनिक जीवनमा पारेको प्रतिकूल असरप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै टिप्पर सञ्चालन कार्य बन्द गराउनका लागि सिमेन्ट प्रालिलाई पत्राचार गरेको थियो ।

गाउँ कार्यपालिकाको २०७९ जेठ १८ गते बसेको ७१औं बैठकले जबसम्म सिमेन्ट प्रालिबाट सडक मर्मत र धुलो नियन्त्रणमा प्रभावकारी काम हँुदैन र सिमेन्ट उद्योगबाट चुनढुंगाको निर्यात गर्न पाउने अनुमतिको प्रमाणसहित जानकारी गाउँपालिकालाई प्राप्त हँुदैन त्यतिबेलासम्मको लागि उक्त सडकखण्डमा टिप्पर सञ्चालन कार्य बन्द गराउने निर्णय गरेको थियो । टिप्पर सञ्चालनबाट उत्पन्न भएको नकारात्मक प्रभाव न्यूनीकरण र जीर्ण सडक मर्मत सम्भारका लागि आवश्यक कार्य तत्काल सुरू गर्न गाउँपालिकाको अनुरोध छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here