Saturday, October 11, 2025
Homeमुख्य खबरविश्व वातावरण दिवसमा विविध कार्यक्रम

विश्व वातावरण दिवसमा विविध कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, २३ जेठ ।
विश्व वातावरण दिवसका अवसरमा दाङमा विभिन्न कार्यक्रम गरिएको छ । प्रत्येक वर्ष जुन ५ का दिन मनाइने वातावरण दिवस यसवर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो प्रकृतिमैत्री जीवनयापनः पृथ्वीको संरक्षण’ भन्ने नारासहित देशभर नै यो दिवस मनाइएको छ ।


वृक्षारोपण र सरसफाई

विश्व वातावरण दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले वृक्षारोपण, गोडमेल र सरसफाई गरेको छ । तुलसीपुर उपमहानगरपालिका रझेनीस्थित बृद्धा सेवा समिति परिसरमा सरसफाई गरिएको हो । समाजले बिरूवालाई गोडमेलसमेत गरेको छ ।

२०७६ मंसिर २७ र २८ गते दाङको तुलसीपुरमा सम्पन्न भएको मानवअधिकार तथा शान्ति समाजको २२औं राष्ट्रिय परिषद् बैठकको समयमा साप्ताहिक कार्यक्रमअन्तर्गत उक्त स्थानमा रोपिएका थिए । दिवसको अवसर पारेर समाजले श्रीखण्ड, कपुर, निम, अमलालगायत ५० बढी बिरूवाहरू गोडमेल गरेको हो ।

दिवसकै अवसरमा यसपालि मेवा, आँपलगायतका बिरूवासमेत रोपिएका छन् । बिरूवा रोपण, गोडमेल र सरसफाई कार्यक्रम पछि वातावरण दिवसकै सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेतले स्वच्छ वातावरण आम नागरिकको मौलिक अधिकार भएको बताए । यसका लागि व्यक्ति स्वयम् सचेत भई वातावरण संरक्षणमा जुट्न आह्वानसमेत गरे ।

सरसफाई अभियान्ता बिमल रिजालले वातावरण संरक्षणका लागि हरियाली आवश्यक भएको बताए । त्यसका लागि अक्सिजन बढी उत्पादन गर्ने बिरूवा र ओखतीजन्य बिरूवा रोप्नुपर्ने बताए । कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपाली, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहन धिताल, बृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाजका उपाध्यक्ष गोपालप्रसाद उपाध्यायलगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए । शान्ति समाज दाङका सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव निर्मला डिसीले गरेकी थिइन् ।

एनप्याब्सनको सचेतनामूलक र्‍याली

जुन ५ अर्थात् विश्व वातावरण दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसर पारेर एनप्याव्सन दाङले जनचेतना–मूलक ¥याली गरेको छ । विद्यालयका विद्यार्थीहरूको सहभागितामा माटो बचाऔं, पृथ्वी बचाऔं, जीवन बचाऔं, वातावरणको संरक्षण गरौं लगायतका नारा लेखिएका प्ले कार्डसहित र्‍याली गरिएको हो ।

एन प्याब्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्ने वक्ताहरूले माटो कसरी बचाउने भन्ने विषय मुख्य चुनौतीपूर्ण रहेको बताएका थिए । अस्वस्थ माटोका कारण विभिन्न प्रकारका वनस्पतिहरू लोप हुँदै गएको र उत्पादनमा समेत ह्रास आएको हुँदा माटो बचाउने अभियानमा लाग्न सुझावसमेत दिए ।

सो अवसरमा बोल्दै एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीले वातावरण विनास न्यूनीकरणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका हुन् । उनले वातावरण विनास भएका रहेका कारण नै माटो उर्वराशक्ति, स्वच्छतासमेत विनास भइरहेको भन्दै समयमै माटो संरक्षण अभियानमा ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै सरसफाई अभियन्ता विमल रिजालले यस्तो महत्वपूर्ण दिवसमा सरकारी क्षेत्रवाट कुनै कार्यक्रम नगरिनु दुखद् कुरा भएको बताएका थिए । रिजालले सरसफाई र वातावरण संरक्षण गर्ने अभियानमा जनतासँग सहकार्य गरेर अगाडि बढ्न स्थानीय निकायलाई आग्रह गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै एनप्याब्सनका केन्द्रीय सदस्य प्रकाश कुमार शर्माले वातावरण संरक्षण अहिलेको प्रमुख चुनौती रहेको भन्दै यसको संरक्षणका लागि हामी सबै लागि पर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए ।

दिवसमा सरसफाई

विश्व वातावरण दिवसको अवसर पारेर लमहीमा सरसफाई कार्यक्रम गरिएको छ । सरसफाई अभियानलाई सम्बोधन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फोहोरमैलाले बजारमात्र कुरूप नभएर मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर पुग्ने बताए ।

त्यसैगरी नगर उप–प्रमुख लक्ष्मी योगीले सरसफाई आफ्नो घरभित्रैबाट सुरूवात गर्नुपर्ने बताइन् । उनले घर हुँदै समाज र समाज हुँदै राष्ट्र विश्व नै सफा गराउन घरबाटै सुरूवात गर्नुपर्ने बताइन् । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले पृथ्वीलाई सफा सुन्दर राख्नसके वर्तमान र भाबी सन्तति सुरक्षित हुने बताए ।

सरसफाई अभियानमा लमही नगरपालिका वडा नम्बर ५ र ६, रणसिंह दल गण, सशस्त्र प्रहरी ४१ नम्बर गण, वडा प्रहरी कार्यालय लमही, देउखुरी उद्योग बाणिज्य संघ, लमही चेम्बर अफ कमर्स, होटल व्यवसायी संघ, कालिका मालिका यातायात प्रालि, ब्रह्मा कुमारी इश्वरिय विश्वविद्यालय तथा राजयोग केन्द्र, त्रिसिद्धेश्वरी यातायात सेवा प्रालि, टोल विकास संस्थाका प्रतिनिधिलगायत लमही नगरपालिकाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले गरेका थिए ।

करौतीडाँडामा वृक्षारोपण

विश्व वातावरण दिवसका अवसरमा दाङको करौतीडाँडामा वृक्षारोपण कार्यक्रम गरिएको छ । आइतबार डिभिजन वन कार्यालय दाङ, उर्जा विकास कम्पनी र घोराही उपमहानगर–पालिकाको संयुक्त आयोजना र सहकार्यमा वृक्षारोपण कार्यक्रम गरी वातावरण दिवस मनाइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

घोराही उपहानगरपालिका वडा नं. १६ करौतीडाँडामा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको सभापतित्व एवं लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री वीरबहादुर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनबहादुर श्रेष्ठले कार्यालयमार्फत जिल्लामा यो वर्ष वन तथा वातावरणका क्षेत्रमा भइरहेका प्रमुख गतिविधिबारे प्रष्ट्याएका थिए । कार्यक्रममा कपुर, कल्किफूल, पारीजात, दालचिनी र धुपीसल्लाका ५० वटा विरूवा रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

राजविद्यामा वृक्षारोपण

आइतबार विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् ।

यसैबीच दाङस्थित राजविद्या पाठशालाका विद्यार्थीहरूले विद्यालयमा परिसरमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएका छन् । विश्व वातावरण दिवसका अवसिरमा विद्यार्थीहरूले विद्यालय परिसरमा विभिन्न प्रजाति विरूवाहरू रोपेका हुन् । विभिन्न दिवसका अवसरमा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको विद्यालयले जनाएको छ ।

हरेक दिवस र पर्वमा विद्यार्थीहरूलाई सहभागी गराएर त्यसको महत्व बुझाउने प्रयास गर्दै आएको विद्यालयका प्रिन्सिपल टीकाजंग विकले जानकारी दिए । संस्कार र संस्कृतिसहितको शिक्षा हाम्रो प्राथमिकता रहेको उनको भनाइ छ । ‘नेपाली समाज तथा विश्व परिवेशका महत्वपूर्ण संस्कृतिमा हामीले जोड दिने गरेका छौँ’ उनले भने, ‘विश्व वातावरण दिवसका अवसरमा विरूवा रोप्नुका साथै वातावरणको संरक्षण गर्ने तरिका पनि हामीले सिकायौँ ।

यही सीप घरमा पनि लागु होस् भन्ने अभिप्राय हाम्रो हो । विद्यार्थीहरूलाई व्यवहारिक बनाउँदै लैजाने हो । परिवर्तनको थालनी विद्यार्थीहरूबाट बढी प्रभावकारी हुन्छ ।’ संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइने गरिन्छ ।

विद्यालयमा वृक्षारोपण

विश्व वातावरण दिवसका अवसरमा दाङ महिला जेसीजले एक विद्यालयमा वृक्षारोपण गरेको छ । नेपाल जेसीजले ‘एक विरूवा, मेरो जिम्मेवारी’ भन्ने अभियानअन्तर्गत दाङ महिला जेसीजले आइतबार घोराही उपमहानगरपालिका–१२ को हापुर माध्यमिक विद्यालय निघुवारको प्राङ्गणमा वृक्षारोपण गरेको हो ।

दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्ष तथा घोराही उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष दोर्णबहादुर बहकरीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर परियारको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयको प्राङ्गणमा पारिजात, कपुरलगायतका विभिन्न प्रजातिका विरूवाहरू रोपिएको थियो ।

वृक्षारोपण कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल जेसीजले सुरूवात गरेको ‘एक विरूवा, मेरो जिम्मेवारी’ भन्ने राष्ट्रिय अभियान सुरू गरेकोमा जेसीजको उच्च प्रशंसा गरेका थिए । साथै वक्ताहरूले राम्रो कामको सुरूवात आफैबाट गर्नुपर्ने भन्दै जेसीजले गरेको कामलाई सदैव सहयोग र साथ रहने धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष बहकरीले विश्व वातावरण दिवसको अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १२ मा रहेको विद्यालयलाई छनौट गरी वृक्षारोपण गरेकोमा महिला जेसीजलाई धन्यवाद ज्ञापन गर्दै रोपेका विरूवाहरूलाई बचाउनका लागि ध्यान दिनुपर्ने बताएका थिए । साथै उनले आगामी दिनहरूमा सामाजिक कार्यका लागि वडा कार्यालयले जेसीजसँग सहकार्य गरेर काम गर्नेसमेत प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ता, हापुर माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक थानेश्वर अधिकारीलगायतले वातावरण संरक्षणका लागि वृक्षारोपण आवश्यक रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here