Thursday, October 2, 2025
Homeविचारइतिहास पर्यटन र सिंजा उपत्यका

इतिहास पर्यटन र सिंजा उपत्यका

- Advertisement -spot_img

यतिखेर पर्यटनका क्षेत्र विस्तार हुँदै गएको छ । आफ्नो रूचिअनुसार पर्यटकहरूले यात्राको तय गर्न थालेका छन् । कृषिमा रूचि राख्ने पर्यटकले कृषि पर्यटनको क्षेत्रमा भ्रमण गर्न सक्ने छ भने यस्तै अरू ऐतिहासिक स्थल, तीर्थाटन, प्राकृतिक ताल–तलैया, हिमाली भूभाग जस्ता क्षेत्रमा पनि आफ्नो रूचि र समयानुसार पर्यटकहरू भ्रमण निस्कने गर्दछन् ।

भ्रमण एउटा खुल्ला विश्वविद्यालय हो । किताबी ज्ञानभन्दा आफ्नै आँखाले देखेका कुराहरू भरपर्दो मानिन्छ । यात्रामा निस्कदा भरशक्य आफू पुग्ने ठाउँको बारेमा पुस्तक, पत्रपत्रिका वा अरू कुनै माध्यमबाट जानकारी लिन सके राम्रो हुन्छ । पुग्ने ठाउँको बारेमा जानकारी लिएर यात्रा गर्दा बास बस्ने ठाउँ र यात्रामा बाटोमा पर्ने अन्य ठाउँमा पनि अध्ययन अवलोकन गर्न सकिन्छ ।जुम्लाको सिजामा पुग्नु भयो भने पर्यटकहरूको हात क्यामेरामा मात्र हुन्छ । वरिपरी पहाड, बीचमा समथर जमीन हेर्दैमा रमाइलो वातावरण गुजुमुजुक्क घरहरू र गाउँको छेउबाट बगिरहेको हिमा नदी । के–के को फोटो लिने ? एकैछिन पर्यटकहरू अलमलमा पर्दछन् । नेपाली भाषाको उद्गमथलो सिजाको प्राकृतिक स्वरूप वर्णन गरेरै सकिन्न । जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैले नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र विशिष्ट महत्व रहेको छ ।

जुम्ला सिंजाको उपत्यकामा रहेको सिंजा कनकासुन्दरी मन्दिर, पाण्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्रयाङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बोतामालिका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका तीन दर्जनभन्दा बढी देवीदेवताका मन्दिरहरू छन् । प्राचीन सभ्यताका चिनारीहरू सिंजा पुग्ने पर्यटकहरूले अध्ययन अवलोकन गर्न पाउँछन् ।

तिब्बती भाषा अर्थात् भोटे भाषामा सिंजालाई ध्यात्से भनिन्छ । सिंजाका शासकहरू सरङ्चोङ गोम्पोका सन्तान हुन् । प्राचीनकालमा कर्णाली प्रदेशलाई ‘स्वर्णप्रस्थ’ भनिन्थ्यो । एघारौँ शताब्दीको मध्यदेखि खोरल्देका पुत्र नागराज सुरूमा दानवभूतल त्यसपछि कुण्डल वनयारी र सिजा लामाथाडामा आई सिंजा क्षेत्रलाई खस साम्राज्यको मुख्य केन्द्र बनाए । त्यसपछि सिजालाई ‘सपादलक्ष्य’ अर्थात् सवा एक लाख गाउँ भएको भूमि भन्न थालियो ।

जुम्लाको सिंजा अहिले कनकासुन्दरी गाउँपालिकामा पर्दछ । समग्र जुम्लालाई चारभेगमा बाँडिएको छ । बोलीचालीमा ती भेगलाई असीभेग, चौधबिस भेग, पान्सय भेग र सिंजा भेग भन्ने गरिन्छ । चार भेगअनुसार जुम्लाको संस्कृति, रितीरिवाज, बोलीचाली समेत फरक पाइन्छ । जुम्ला चार भागमा बाँडिए जस्तै भूगोल पनि यसरी छुट्टिएको छ । राकम कर्णाली, भर्ता, महावु, ढिपु, गाग्रा दक्षिण पूर्वोत्तर र नाग्म, चुली मालिका, वुडु हुँदै पश्चिम उत्तर फैलिएका दुईटा पहाडको बीचमा जुम्ला पर्दछ ।

अकोतर्फ नाग्म, रारालिही, चुलाकोट हुँदै डाँफे लेकतिर फैलिएको पहाडले सिंजा उपत्यका र चौघान उपत्यकालाई छुटयाई दिएको छ । अर्कोतिर कुँडारी, मालिका हुँदै गिरीदह पूर्व–दक्षिण फैलिएको पहाडले भेरिखोला र तिला खोलाका बस्ती बसेको छ ।

त्यस्तै दान साँघुबाट तिर्खु हुँदै फैलिएको पहाडले चौधबिस र गज्¥याङकोटलाई विभाजित गरिदिएको छ । यो बाहेक साना डाँडा, थुम्का र कोटले जुम्लाको बस्तीलाई भौगोलिक विभाजन गराएको छ ।

जुम्लाका अधिकांश बस्तीहरू पहाडी भिरालोको दक्षिणी मोहोडामा हिमा नदी, तिला नदी, जवा नदी, भेरी खोला र गोरूखोलाका किनारमा रहेका छन् । जुम्लामा गाउँ खेतीयोग्य जमिनमा नभई भिरालो पाखोमा केन्द्रिकृत भएका छन् । बस्ती विकास हेर्दा खेतीयोग्य जमिनमैत्री रहेको पाइन्छ ।

सिंजा जाँदा हवाइमार्ग होस् वा कर्णाली राजमार्गदेखि जताबाट गएपनि जुम्ला बजारमा एकरात बस्नसके राम्रो हुन्छ । जुम्ला बजारमा पर्यटकहरूलाई खाना बस्न आफ्नो अनुकूलअनुसारको होटलहरू पाइन्छन् । तीन सयदेखि हजारसम्म पर्ने कोठाहरू ननएट्याचदेखि एट्याच बाथरूमसम्मका होटलहरू रहेका छन् ।

जुम्ला बजारको एकदिनको बसाइँमा पर्यटकहरूले ढुंगा, माटोले बनेका घरका बजार अवलोकन र चन्दनाथ मन्दिरको तीर्थाटन गर्न सकिन्छ । च्याङ्ग्राको सुकुटी, रातो चामलको भात, जौंको रोटी र सिमीको दाल चाखेपछि पर्यटकलाई छुट्टै आनन्द लाग्छ । हिमा नदीको किनारमा रहेको सिंजाको फाँट साह्रै लोभलाग्दो छ । वैशाख महिनामा सिंजा पुग्ने पर्यटकहरूले फाँटभरि लगाएका जौ बालीले बयली खेलेको देख्न सक्दछन् ।

सिंजामा हेर्नै पर्ने केही ऐतिहासिक ठाउँहरू छन् । कनकासुन्दरी देवीको मन्दिर सत्ययुगमा सतिदेवीको अंग पतन भएको मानिन्छ । माघ महिना जनै पुर्णिमा बडादशैं र चैते दशैंमा कनकासुन्दरी देवीको मन्दिर तीर्थाटनको लागि मानिसहरूको भिड लाग्ने गर्दछ । अर्कोतर्फ ऐतिहासिक खस राज्यको सिंजा दरबार क्षेत्र ढुंगे सिउबाक ढुंगे बाघ कालो सिउबाक दूध कुवा तेलकुवा हाटिसंजा शिवजीको मन्दिर सिजा पुगेपछि हेर्नैपर्ने ठाउँ हुन् ।

त्यससँगै एल आकारको कनक गुफा र शितलधारादेखि सेरा हुँदै लामाथाडासम्म करिब पाँच किलोमिटरको क्षेत्रमा मल्लकालमा बिच्छ्याइएको माटोका पाइपहरूले ऐतिहासिक कथाहरू बोकेको पर्यटकले अध्ययन गर्न सक्दछन् । रिपुमल्लको रञ्जना लिपि बौद्ध लामाका माटाका मूर्तिहरू शिला स्तम्भहरू र ढुंगे देवलहरू र मुग्राहरू पनि पर्यटकलाई लोभ्याउने ऐतिहासिक स्थल हुन् ।

सिंजा संस्कृति र पुरातात्विक हिसावले धनी मानिन्छ । हिमा नदीको किनारको सिंजा उपत्यका र खोला किनारमा रहेको साना ठूला फाँट बेसीहरू उर्वर खेतीयोग्य जमिन मानिन्छ । कनकासुन्दरी गाउँपालिकामा पाण्डव गुफा, विराट दरबार, गरूडनुहानी, तिलिचौर माइ, भुलभुले पाटन, चुचेमारा लेक, कनका सुन्दरीलगायत विभिन्न धार्मिक पर्यटकीयस्थलहरू रहेका छन् । त्यसैगरी पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र विराट दरबारको अवषेश पनि सिंजामा पर्यटकहरूले देख्न सक्दछन् ।

सिंजामा खस राज्यको समयमा बनाइएका मठमन्दिर, सिंजा सिहु बाघ, ठूला–ठूला ढुंगामा कँुदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेखहरूसमेत हेर्न सकिन्छ । कर्णाली प्रदेशमा रहेका विभिन्न धार्मिक सांस्कृतिक भेषभूषा त्यस्तैगरी, गुफा, मन्दिर, पञ्चेबाजा–लगायत पुरातात्विक धरोहर हुन् ।

सिंजा नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी थलो भनेर परिचित छ । अझ भन्ने हो भने सिंजालाई देउडा संस्कृतिको उद्गम क्षेत्र पनि हो । मध्यकालमा सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लु र ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजामा थियो । जहाँबाट यहाँको राजनीतिक शासन व्यवस्था व्यस्थित रूपमा चलेको थियो ।

सिंजा उपत्यकामा पर्ने विराट दरबार र पाण्डव गुफा पौराणिक प्रमाण हुन् । पर्यटकहरूले सिंजामा कुनै पर्व विशेषमा पुगे भने देउडा, चाची ठाडीभाका, झोडा, मागल, ढोली नाच, ढाल नाच, हुर्के नाच, बालनाचजस्ता नाचसमेत देख्न सक्दछन् । ऐतिहासक यिनै संस्कृतिले जुम्लाको पहिचान गराएको छ ।

सिंजाका मानिसहरू अति मेहनती हुन्छन् । सिंजाका मानिस ब्यापारको सिलसिला नेपालका धेरै जिल्लाहरूमा घुमन्ते ब्यापारीको रूपमा ब्यापार गर्दछन् ।
हिङदेखि सिलाजित र सियोदेखि राडी पाखी, लिउ, गलैचाको ब्यापारीको रूपमा जुम्लीहरूलाई बाहिरी जिल्लाका मानिसहरूले चिन्ने गर्दछन् ।

जुम्लाका मानिसहरू पैदल हिड्ने दैलेख–सुर्खेतको मार्ग नै प्रमुख मानिन्छ । तर पनि घोडा ब्यापारको लागि दाङ आउने जुम्लीहरू जुम्ला उपत्यकाको दक्षिण पट्टीको कुशेलेखको बाटो हँुदै जाजरकोटको ढिमे, रूकुमको चौरजहारी र सल्यानको जिमाली लेखको बाटो हुँदै दाङ आउने प्रचलन थियो ।

नेपालको बाइसे र चौबिसे शासनकालमा जुम्ला सिंजाका खस राजा जितारी मल्लले तीन पटकसम्म काठमाडौँ विजय गरी कर तिर्ने सम्झौतामा फर्कने मात्र हैन त्यसबेलासम्म पूर्वमा गण्डकी पश्चिममा नैनीताल उत्तरमा मानसरोवर र दक्षिणमा गडवाल सीमाना रहेको सिंजाको कर्णाली साम्राज्य नेपाली इतिहासमा चर्चित छ ।

चार शताब्दीतिर ताक्लाकोटमा स्थापना भएको राज्य नवौं शताब्दीमा सिंजा राजधानी सारेर १३औं शताब्दीमा आएर राज्य विस्तार गर्दै विशाल साम्राज्य खडा गरेको इतिहास छ । विशाल साम्राज्यलाई ब्यवस्थित र परिचालन गर्न सिंजा लामाथाडा, खाडाचक्र र दुल्लु गरी तीन ठाउँमा घुम्ती राजधानी चलाएको नेपाली भाषाको मूलथलो सिंजा हो ।

प्राचीनकालमा हिमवत उत्तराखण्ड, वौदिक कालमा हिमाली खण्ड, पौराणिक कालमा कैलाश सभ्यता अर्थात् पर्वते र ऐतिहासिक कालमा सिंजा साम्राज्यमा पर्ने कर्णाली नेपालको सम्पन्न र जेठो राज्यको क्षेत्र हो । आफ्नै भाषा, परम्परा, संष्कृति र सभ्यता भएको जुम्लाको सिंजा कर्णालीको उच्चारण कन्नाली र करनाली भन्न रूचाउँछन् । कर्णाली नदीको उद्गमस्थलबाट जडान र खसान क्षेत्रमा कर्णाली नदी आइपुग्दा कर्नाल बाजा मुखले बजाउँदा कर्नालको ध्वनिजस्तो आवाज सुनिने भएकोले नदीकोे नाम कर्णाली भएको तथ्य सिंजाबासीसँग छ ।

जुम्लाको कालीमार्सी
सिंजामा पर्यटकहरूले काली मार्सी चामलको भात खान पाउँछन् । काली मार्सी सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको धान हो । संसारमै सबैभन्दा उचाई अर्थात् समुन्द्र सतहबाट करिब तीन हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानीमा मात्र हुने दुर्लभ प्रजातिको धान हो । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषकतत्वको कारण जुम्ली मार्सी धानको महत्व यतिखेर नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगत्सम्म पुगेको छ ।

जुम्लामा करीब ७०० वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी भित्र्याएको विश्वास गरिन्छ । किंवदन्ती अनुसार सुरूमा जुम्लामा कुनै पनि धान पाक्न सकेन । बाबा चन्दननाथले काश्मिरबाट धानको बीउ ल्याएर सुरूमा लाछु जिउरो अर्थात् तातोपानी नजिकको गाउँ भन्ने ठाउँमा रोपेका र पछि अरू किसानले पनि यसैगरी रोप्दै गएको भनाइ छ।

जुम्लाको खलंगा वरपर र सिंजा क्षेत्रमा कालीमार्सी धानको बीउ राख्ने काम हरेक वर्ष चैत १२ गते हुन्छ । बीउ राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र तामाको खड्कुलो वा हण्डीमा धान भिजाएर राखिन्छ ।

चार दिनपछि अर्थात् चैतको १६ गते भिजाएर राखिएको धानलाई निकालिन्छ । यसलाई पखालिन्छ र फेरूवा अर्थात् उनको कपडामा सुकाएर ओभानो पारिन्छ । धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुनः पानी छर्कने र साझँतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ ।

यसरी राखिएको धानको रासलाई तातोस भनेर सल्लाको झाँपो र कपडाले छोपेर राखिन्छ । बीउ नउम्रेसम्म बिहान बेलुकी चिसो पानी छम्किनुपर्छ ।

यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ । यदि २० भन्दा पर गएर २१–२२ गते उम्रेको भए त्यसलाई बासी बीउ भन्ने चलन छ । किनभने यसरी रास बनाएर राखिएको बीउलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ । यसै दिन चेलीबेटीलाई बोलाएर देउडा नाच नचाइन्छ । यो दिनलाई विसुवा पर्व भन्ने गरिन्छ ।

बीउ छर्ने दिन भएकोले कसै कसैले यसलाई विच्छेती पर्व पनि भन्ने गर्दछन् । चैत १२ गते काली मार्सीको बीउ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रूपमा विसुवा पर्व मनाउने प्रचलन जुम्लामा छ ।

चैत २० गते ब्याडमा धानको बीउ छर्नु पूर्व त्यसको पूजा गरिन्छ । चामलको पीठोको पुवा बनाइन्छ र ब्याडको कान्लोमा ढुंगा ठडाइन्छ । बाबा चन्दननाथलाई सम्झेर पूजा गरिन्छ । घरमा चेलीबेटी बोलाएर खुवाने चलन पनि रहेको छ ।

काली मार्सी धान काटन विशेष दिन पारिन्छ । बुधबार या शुक्रबार पारेर मात्रै धान का्टने परम्परा छ । जुम्लामा मार्सी धान रोप्ने बेलासम्म पनि विदेशिएको युवा घरमा नआए अब फर्केर कहिल्यै आउँदैन भन्ने किंवदन्ती पनि छ ।

जुम्लाको नाम
जुम्ला जिल्लाको नामाकरण पौराणिक घटनासँग जोडिएको छ । सदरमुकाम खलंगामा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई टोक्न दुईवटा अजिंगर नाग आएछन् । नागले मूर्ति नजिक आउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नागलाई भष्म गराइ दिनुभएछ । यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिए छन् । जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै ठाउँको नाम पनि जुम्ला भएछ । पछि जिल्लाको नाम राख्ने बेला त्यसैलाई आधार मानी जुम्ला रहन गएको हो भन्ने जनविश्वास रहेको छ ।

कसरी जाने सिजा ?
सुर्खेतबाट कर्णाली राजमार्गको बाङ्गेसिमल बडडीचौर कल्याणकाँध तल्लो डुंगिसर हुँदै दैलेख र कालिकोटको सीमाना पर्ने टुनेबगर हुँदै खिडकी जिउँला जिते दैखोला कालिकोटको सेरीघाट मान्मा बजार पिली सेराबाडा हुँदै कालिकोट र जुम्लाको सीमाना पर्ने नाग्मागाढमा पुगिन्छ ।

नाग्मागाढबाट कोइरेली, नाराकोट, गोठीज्युला हँुदै करिव ३६ किलोमिटरको मोटरमार्गबाट सिंजा पुगिन्छ । तपाईं नाग्माबाट जुम्ला बजार नपुगि सोझै सिंजा जान सक्नु हुन्छ । सिंजा पुग्न जुम्लाको खलंगा बजारबाट बसमा पुग्न सकिन्छ भने जुम्लाबाट पैदल एकदिनमा पुगिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here