राजनीति नघुसेको र नदेखिएको सायद क्षेत्र कमै होला । सामाजिक र स्वतन्त्र संस्थाहरूमा समेत पछिल्लो समय राजनीतिक गतिविधिहरू बढी नै छन् । सबै क्षेत्र व्यवस्था नीतिमा राजनीति नै हावी भएको देखिन्छ । राजनीतिमा कुनै पनि क्षेत्र अछुतो रहेको छैन । कति क्षेत्रमा राजनीति घुस्दा राम्रो पनि हुने गरेको छ भने कति त्यस्ता क्षेत्र छन् । जहाँराजनीति खुसेर तहसनहस छन् ।
राम्रा संस्थाहरूमा पनि राजनीतिक हस्तक्षेप, क्रियाकलाप र निर्देशनले कमजोर बनेका छन् । अझ भन्नुपर्दा कति त अस्तित्व नै सकिएका छन् । पछिल्लो समय राजनीतिको हस्तक्षेप र प्रवेशले दाङका केही खानेपानी संस्थाहरू संकटमा छन् । जिल्लामा अहिले खानेपानी तथा उपभोक्ता संस्थाका निर्वाचनहरू धमाधम भइरहेका छन् । तुलसीपुर खानेपानीमा राजनीतिक उम्मेदवार बनेर खानेपानीको नेतृत्व छनोट गरियो । नारायणपुर, लमही खानेपानी संस्थामा पनि उपभोक्ताभन्दा राजनीतिक उम्मेदवार नेतृत्वमा पुगे । हिजोआज अमृतपुर खानेपानीको नेतृत्वको लागि दलीय उम्मेदवारहरू खडा भएका छन् ।
सामाजिक र सेवामूलक संस्थाहरूमा राजनीतिभन्दा सेवा क्षेत्रका उपभोक्ताका व्यक्तिहरू नेतृत्वको लागि सक्रिय हुनुपर्छ । तर राजनीति विना यहाँ के पो सम्भव छ र, सबै ठाउँमा राजनीति हावी हुँदा पटक–पटक विवादसमेत हुन थालेको छ । यो नहोस् पनि कसरी ? सामाजिक संघ संस्थाहरूमा पनि नेतृत्व छान्दा सबै क्षेत्रमा राजनीतिक उम्मेदवार बनाइन्छ । खानेपानी संस्थाहरूमा पनि त्यहि अवस्था छ । जिल्लामा हुने प्राय सबै खानेपानीका निर्वाचनमा दलीय नै उम्मेदवारहरू भएका छन् ।
जित र हार उम्मेदवारभन्दा दलको भएको ब्याख्या पनि गरिन्छ । त्यो हुँदै पनि आएको छ । दलीय उम्मेदवार बनाएर चुनामा होमिएपछि यस्तो हुनु स्वभाविक पनि हो । जिल्लामा सबै खानेपानीमा नयाँ नेतृत्व आउँदा पनि दलीय आड र भरोसाले ५ वर्षदेखि बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसरफाई संस्था पुरानै पदाधिकारीमा छ । लामो समयदेखि काम चलाउ नेतृत्वमै संस्था चलेको देखिन्छ छ । त्यो कारण पनि राजनीति नै हो । २०७४ देखि नयाँ नेतृत्वको लागि निर्वाचन हुन सकेको छैन ।
नेतृत्व छनोटका प्रक्रिया प्रजातान्त्रिक भने र दलीय प्रतिस्पर्धा गराइनु भने गलत हो । सेवामूलक संस्थामा दलका उम्मेदवारभन्दा उपभोक्ताका उम्मेदवार बन्नुपर्छ, बनाइनुपर्छ । उम्मेदवारका नाममा राजनीति गर्न कसैलाई पनि छुट हुनुहुँदैन । कतिपय अवस्थामा नेतृत्वले लामो समयसम्म काम गर्दा भएका राम्रा काम र नराम्रा कामलाई पनि मूल्यांकन गरेर उपभोक्ता अघि बढ्न सक्नुपर्छ । उपभोक्ताको सम्मान हुने गरी संस्थामा नयाँ नेतृत्व ल्याइनुपर्छ ।