Wednesday, October 1, 2025
Homeटुडे राउन्ड टेबलकहिलेसम्म समानताको नारा ?

कहिलेसम्म समानताको नारा ?

- Advertisement -spot_img

ज्यालामा महिलाले भोग्नुपरेको विभेद अन्त्य हुन सकेको छैन् । उज्यालो नहुँदै उठेर घरको सरसफाई गरेर खानेकुराको जोहो गरेर बालबच्चालाई स्कुल पठाउनेदेखि वस्तुभाउको हेरचाह गर्ने र खेतबारीमा मजदुरी गर्नेसम्मका महिलाले गर्ने तमाम कामहरूको कुनै ज्याला निर्धारित हुँदैन । उज्यालो नहुँदैदेखि आधा रातसम्म गरेको त्यो मेहनत माहिलाले केवल बाँच्नका लागि मात्र गरिरहेको छन् र तर त्यो श्रमको मूल्यांकन कम हुने गरेको छ या ती सम्पूर्ण कामलाई महिलाको कर्तव्यअन्तर्गत परिभाषित गरिएको छ । प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालालाई ल्याएका छौं । – सम्पादक                                                           जीतसागर जी.एम.


कार्यान्वयनमा सबै तहको भूमिका महत्वपूर्ण

संविधानमा महिला र पुरूषको समान अधिकारको व्यवस्था गरेको छ । तर पनि समाजमा पुरूषको सम्मान र स्तरलाई प्राथमिकता दिने नाममा महिलाले हिंसा व्यहोर्न बाध्य छन् भने श्रममा पनि विभेद हुने गरेको छ । बिगतको अवस्थाभन्दा सुधार धेरै भएको छ । दक्षता र सीपको आधारमा पारिश्रमिक भुक्तानी हुनुुपर्छ । यदि कसैले पनि श्रमिकको विषयमा गुनासा गरेमा हामी गुनासो सम्बोधन गछौँ । कार्यान्वयनका लागि सबै तहको भूमिका महत्वपूर्ण हुन्छ ।

मानव सृष्टिको समान सिर्जना हो पुरूष र महिला । तर लैंगिकताको आधारमा अनेक तवरले महिला पछाडि पर्नुको कारण भने हाम्रो सभ्यता र समाजको प्रचलन नै हो । परम्परादेखि नै समाजको सभ्यता र संस्कृतिमा पुरूषलाई प्रधान बनाइनु र महिलालाई पुरूषसरह मान्यता, स्वतन्त्रता र अधिकार दिनु हुन्न भन्ने धारणाले गर्दा महिलालाई शिक्षा, सभ्यता, संस्कार र सहभगितामा पछाडि पारिएको छ ।

सभ्यताको सुरूवातदेखि नै समाजले महिला र पुरूषमा भिन्नता नछुट्टयाएको भए सायद अहिले आएर महिलाहरूले चर्को स्वरमा अधिकार, समानता, स्वतन्त्रता र सहभागिताको लागि आन्दोलन गर्नुपर्ने र कानुनीरूपमा आफ्ना हक खोज्नुपर्ने अवस्था आउँदैन्थ्यो । जब स्वतन्त्रतालाई लैंगिकताको आधारमा लगाम लगाइन्छ तब त्यो जायज मागको नाममा विद्रोह भएर प्रष्फुटन हुन्छ । पछिल्ला दिनहरूमा त्यस्तै भइरहेछ ।

विस्तारै घरबाट नै छोरीलाई शिक्षित बनाउनुपर्छ भन्ने उच्च सोचको कारण नै आज महिलाको क्षमता घर, समाज र राष्ट्रमा उनीहरूले पुर्याउन सक्ने योगदान र सहभागिताको पहिचान हुन थालेको हो । एउटी छोरी, आमा, दिदी, बहिनी र भाउजू शिक्षित हुँदा त्यो घरको वातावरण नै शिक्षित र सभ्य हुने अनि आर्थिक, सामाजिक हरेक तवरले सकारात्मक उन्नति हुने गरेको तथ्य छर्लंग छ ।

एउटा भान्छामा महिलाको सहभागिता र योगदानले जसरी स्वस्थ र स्वादिष्ट खाना तयार हुन्छ अनि टेबलमा प्रेमपूर्ण वातावरण र हाँसो छाएको हुन्छ त्यसरी नै हरेक क्षेत्रमा महिलाको भूमिका रहनुपर्छ । त्यसले भविष्यको सभ्यता अवश्य नैतिक, शालीन, स्वस्थ र विभेदरहित हुनेमा दुईमत हुनै सक्दैन ।


अधिकारमा व्यवहारिक चुनौती

महिला अधिकारका कुरा नेपालको संविधान २०७२ ले धेरै कुरा समेटेको छ । राजनैतिक परिवर्तनसँगै सामाजिक रूपमा महिला चेतनामा आएको परिवर्तन, सार्वजनिक गतिविधिमा बढ्दो महिला सहभागिता र सफलता नेपाली महिला आन्दोलनले गर्व गर्न सक्ने उपलब्धि हुन् । चुनौतीका रूपमा अझै पनि संवैधानिक रूपमा नै महिलालाई समान हैसियतको नागरिकका रूपमा स्वीकार गरिएको छैन् ।

सबै नेपालीलाई समान हैसियतको नागरिकका रूपमा स्थापित गर्नु नेपाली महिला आन्दोलनको पहिलो र प्राथमिक विषय हो । अनि राजनीतिक दल, राज्य संयन्त्रलगायत राज्यका हरेक निकायमा अन्तिम निर्णय गर्ने ठाउँमा महिलाको न्यून र शून्य सहभागिताका कारण महिला निर्णयकर्ता नभएर पुरूषको एकल समुदायले गरेको निर्णयको पालकका रूपमा सीमित गरिएका छन् । आर्थिक रूपमा प्राप्त अधिकारले पनि व्यवहारिक रूप पाएको छैन ।

पैतृक सम्पत्तिमा सबै सन्तानको समानअधिकार र समान कामको समान पारिश्रमिक र सेवासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यस्तै राजनीतिक प्रणाली परिवर्तन भएर पनि आमरूपमा समाजमा विद्यमान पुरूषप्रधान सामाजिक–सांस्कृतिक पक्षमा रूपान्तरण हुन सकेको छैन । यस्तै समाजमा हिजोसम्म विविध कारणले सीमान्तकृत गरिएका महिलालगायत समुदायले आफूभित्रको आत्मविश्वास र आवश्यक सीप अनि राजनीतिक रूपमा वैचारिक स्पष्टता र गतिशीलताका पक्षलाई सुदृढ गर्न जरूरी छ ।

व्यक्ति, परिवार र समाज मिलेर मात्रै महिलाअधिकार सुरक्षित गर्न सकिन्छ । संविधानमा महिला अधिकारका कुरा प्रशस्त बनेका छन् । तर कार्यान्वयनमा फितलो देखिएको छ । महिलाले आफ्नो जीवनको निर्णय आफै गर्ने अधिकार पाउनुपर्दछ । तर नेपाली महिलाहरूको भने नेतृत्व विकास हुन सकेको छैन् । नेपाली समुदायमा महिलाहरूको संख्या पुरूषसरह नै देखिए तापनि समाजको नीति निर्माण क्रियाकलापहरूमा महिलाहरूको संख्या अति नै न्यूनतम रहेको देखिएको छ ।

जसले गर्दा महिला वर्ग ओझेलमा परिरहेका छन् किन हुन सकेको छैन त नेपाली महिलाहरूको विकास ? भनिन्छ महिला र पुरूष एक रथका दुई पाङ्ग्रा हुन् भनेर जो एकअर्का बिना अगाडि बढ्न सक्दैन् । जसको अर्थ देश विकासमा दुबैको उत्तिकै भूमिका रहनुपर्ने हो तर देखिएको छैन । देशमा वर्तमान अवस्थालाई नियालेर हेर्ने हो भने पुरूषभन्दा चाहे शिक्षाको क्षेत्रमा होस् या अन्य क्षेत्रमा किन नहोस् महिला धेरै अगाडि भएको देखिएको छ । सन्तान चाहे छोरा होस् या छोरी दुवै एक हुन् तर समाजमा छोरीलाई भन्दा बढी छोरालाई महत्व दिएको पाइन्छ । समय परिवर्तन भइसकेको छ । छोराले गर्न नसक्ने काम पनि छोरीले गर्न थालेका छन् ।

यति हुँदाहुँदै पनि महिलाले छोरासरह अधिकार पाउन सकेका छैनन् । आज पनि नियालेर हेर्ने हो भने परिवारमा छोरा पाउने रहर महिलामा नै बढी देखिएको छ । सन्तान चाहे छोरा होस् या छोरी दुवै एक हुन् तर समाजमा छोरीलाई भन्दा बढी छोरालाई महत्व दिएको पाइन्छ । छोरीलाई सम्पत्ति होइन शिक्षा दिनुभयो भने भोलि छोरासरह उसले पनि आफ्नो भूमिका निभाउन सक्नेछन् ।

नेपाली समुदायमा छोरालाई अंश दिने परम्परा छ तर यसलाई हटाएर शिक्षा नै आवश्यक छ । यसले आफै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुन सक्नेछ । स्वतन्त्र रूपमा महिलाहरू पनि पुरूषसरह हरेक कुरामा अघि बढ्छन् । आफ्नो जीवनको निर्णय आफै गर्न पाउने स्वतन्त्रताका साथ प्रजातान्त्रिक मुलुकमा रहेर पनि नेपाली महिलाहरूको भने विकास हुन सकेको छैन । नेपाली समुदायमा महिलाहरूको जनसंख्या झण्डै पुरूषभन्दा अलि बढी नै देखिए तापनि समाजको नीति निर्माण क्रियाकलापहरूमा महिलाहरूको संख्या अति नै न्यूनतम रहेको अवस्थाले गर्दा महिलाहरूको विचार र मान्यता समाज र देश निर्माणका कामहरूमा आउन सकिरहेको अवस्था छैन ।

अहिलेको आधुनिक एवं वैज्ञानिक युगमा महिला कमजोर छैनन् । हाम्रो नेपाली समाजको सोच्ने शक्ति कमजोर हो । यसलाई परिवर्तन गर्न समानता र विकासमा विश्वास राख्ने सोचहरू एकजुट भएर महिला र पुरूषको हकअधिकार र अवसरमा बराबरी ल्याउनुछ । महिलाले पनि स्वाभिमान, स्वस्तित्व एवं स्वतन्त्र जीवन जीउनु छ । त्यस्तै परिवार, समाज र राष्ट्र निर्माणको हरेक क्रियाकलापमा महिलाको विचार र भूमिका समावेश हुन अति नै महत्वपूर्ण छ, किनकी एउटी महिलाको विकास भनेको एउटा परिवार, समाजको विकास हो ।


           सचेतना आवश्यक

महिलालाई पुरूष बराबर हकका लागि सुनिश्चिता भइसकेको छ । कार्यान्वयनमा मात्रै केही कमजोरी भएको छ । हामीले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सरकारले श्रमिक महिलाका लागि गाउँस्तरदेखि सीपमूलक कार्यक्रम, गरेको छ कि छैन् भन्ने प्रमुख कुरा हो ।

पुरूष र महिलाको काम बराबर भएपनि ज्याला पनि बराबर हुन् अहिले पनि सकिरहेको छैन् । महिलाको पारिश्रमिकका कुरा गाउँ–गाउँमा जनचेतना जगाउनुपर्छ । कार्यान्वयनका लागि धेरै भइरहेको छ । हामी पार्टीबाट पनि लागिरहेका छौँ । अधिकार सुनिश्चितताका लागि महिलाका पुरूषको समान व्यवस्था पनि गरेको छ । हाम्रो पार्टीले पनि कार्यान्वयनका लागि कुरा गरिरहेको छ । महिला केही मात्रामा बढेको छ ।

देशमा विद्यमान सबै राजनीतिक दलको साझा प्रतिवद्धता अनुसार नेपालमा आधारभूत रूपमा राजनीतिक अधिकारको आन्दोलन समाप्त भएको छ । अबको दायित्व आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण हो । महिला आन्दोलनको दृष्टिकोणबाट हेर्दा पनि अबको अभियान मूलतः संविधानप्रदत्त अधिकारको व्यावहारिक प्राप्ति र पितृसत्तात्मक मूल्यमान्यताको स्थानमा मानवीय अनुभूतिका साथ महिला–पुरूषबीच सारभूत समानतामा आधारित मूल्य मान्यताको स्थापना हो ।

पितृसत्ताको अन्त्य सामाजिक–सांस्कृतिक रूपान्तरणको पाटो हो, जसको आधार हरेक नागरिकको सोचाइ, बोलाइ र गराइमा हुने रूपान्तरण हो । यी कुरामा रूपान्तरण देखिन महिलालाई मातहतको रूपमा होइन, समान नागरिकका रूपमा हेर्ने, लेखाइ–बोलाइमा समभावी भाषाको प्रयोग गर्ने, दिइने जिम्मेवारी र गरिने व्यवहारमा प्रतिबिम्बित हुन जरूरी छ ।

यसका लागि मूलतः राजनीतिक नेतृत्वदेखि समाजका हरेक क्षेत्रका अगुवाले आफूलाई रूपान्तरणको मोडेलका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । श्रम क्षेत्रका धेरै महिला अझै पनि अनौपचारिक क्षेत्रमा छन् । अझै पनि महिलाको ठूलो हिस्सा पारि श्रमिकविनाको जीविकोर्पाजनमुखी कृषि, घर आधारित सेवामूलक श्रम र स्वरोजगार क्षेत्रमा संलग्न छ । नयाँ संविधानले सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा व्यवस्था गरेको छ ।

लैंगिक समानताका कुरा गर्दा हाम्रो समाजमा पनि छोरा र छोरीका बीचमा धेरै भेद्भाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरू नै महिला महिलाअधिकार कार्यान्वयनका असरहरू हुन् । जुन हाम्रो मस्तिष्कमा जरा गाडेर बसेको छ । छोरी होस् या छोरा समाज–परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला अधिकारका कुरा सुरक्षित हुन सक्ने छैनन् ।

महिला हिंसाका कथाहरू अनि ब्यथाहरू धेरैजसो गुपचुप अनि अभिब्यक्त नै नभएर हराउँदछन् । नेपाल सरकारले महिला पुरूष कानुनतः समान र सक्षम छन् भनेको छ । तपाईंमाथि कुनैपनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ । महिलाका पक्षमा कानुन नबनेका पनि होइन् तर कार्यान्वयनमा भने सकस नै देखिएको छ । कुनै पनि व्यक्तिको सचेतना बढाउन सकेपनि महिला अधिकार सुरक्षित हुन सकिन्छ ।

महिलाको प्रेम र आत्मीयताविना पुरूष र पुरूषको साथ र सम्मानविना महिला पूर्ण हुँदैनन्, अब महिलाअधिकार रक्षाका लागि हामी आफै पनि लाग्नुपर्छ । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन् । अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार र अस्तित्वबाट विमुख हुनु परेको छ । शिक्षा र स्वास्थ्यमा छोरासरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन् । हिंसा घरैबाट उत्पन्न हुने गरेको छ । यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ ।


     काम एउटै, ज्याला फरक

पुरूषले पाउने जति काम गरेको पैसा हामीलाई दिइदैन् । नेपालमा नयाँ व्यवस्था आयो, अब भने आफ्नो पसिनाको मूल्य आफ्नै हातमा आयो भनेका थियौँ तर त्यसो हुन सकेको छैन् । समस्या सकिनेभन्दा पनि थपिँदै गएको पो देखिन्छ । आफूले नै आर्जन गरेको ज्याला सही ठाउँमा पु¥याउने या भोलिको लागि कसरी बचत गर्ने भन्ने बेग्लै चुनौती छ । एकजना पुरूषलाई आफूले आर्जन गरेको श्रमको मूल्य जोगाउन गाह्रो हुँदैन तर महिलाको लागि आफ्नै श्रमको मूल्य जोगाउनु पनि अर्को चुनौती नै रहेछ । तरपनि आफ्नो श्रमको मूल्य सञ्चित हुँदै जाँदा आर्थिकरूपमा आफूलाई बलियो भएको महसुस भइरहेको छ ।

जब कोही आर्थिक रूपमा मजबुत हुन्छ तब समाजमा उसको उपस्थिति प्रभावकारी हुने रहेछ भन्ने अनुभव पनि मैले गर्न पाएकी छु । आर्थिक रूपमा कमजोर हुँदा समाजले हेर्ने नजर र आर्थिक रूपमा सबल भइसक्दा त्यही समाजले हेर्ने नजरमा धेरै ठूलो अन्तर रहेको हुने रहेछ । त्यसैले हरेक मान्छेको सामाजिक हैसियत उसले गर्ने श्रमको ज्याला र त्यसको बचतसँग जोडिएको हुने रहेछ ।

आफूलाई श्रमिक महिला भनेर चिनाउन पाउँदा गर्व लाग्छ– श्रम गर्न लाज नमान्नुस् र श्रमको मूल्य बचाउन कोसिस गर्नुस् यो मलाई समयले सिकाएको कुरा हो । कुनै एउटा समय थियो । आधा रातमा उठ्यो । दैलो कुचो गर्यो । पानी पँधेरो आफ्नै भागमा छँदैछ । वस्तु भाउ र गोठ झन् महत्वपूर्ण जिम्मेवारी हुने नै भयो ।

गोठको काम सकेर लखतरान भएको ज्यान अलिकति खाना खाएपछि सुस्ताउन समेत नपाई काममा जानुपर्ने बाध्यता । काम नगरे वर्षभरि के खाने त्यो समस्या झन् विकराल त्यसमाथि सन्तानको रेखदेख, सरसफाई र समयसँगै उनीहरूको पठनपाठनको झन् ठूलो जिम्मेवारी– एउटी आमा, एउटा ज्यान तर काम भने आफूले गर्न सक्नेभन्दा कति हो कति धेरै । हाम्रो समाजको बनोट त्यस्तै त छ । हाम्रो समाजको बनोट र केही सामाजिक कुरीतिहरूको कारण महिलाहरू ज्यालाबाट वञ्चित त हुन्छन् नै । पाउँदै आएको माया र सुरक्षाबाट समेत तत्काल वञ्चित हुने अवस्था आइपुग्छ त्यो अवस्थामा काम आउँथ्यो । आफ्नो श्रमको मूल्य तर हामीकहाँ त दुःख परे माइत जाने चलन छ ।

लोग्नेले सौता ल्याए पनि माइत जाने, पिटे पनि माइत नै जाने बरू फर्केर आउने पिटाइ सहने र फेरि उसैको लागि श्रम गर्ने यही त छ हाम्रो चलन । जे कुराको आशा र जुन कुराको भरोसामा मान्छेले पसिना बगाउँछ त्यो नै नपाउने भएपछि मान्छेको मन न हो झन् निराश हुने रहेछ । पुरूषसरह ज्याला नपाए पनि केही सक्षम बन्दै गएको छु । अब समान कामको समान ज्याला हुनुपर्छ भन्ने हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here