Thursday, October 2, 2025
Homeफिचरनेपालमा झोलुङ्गे पुलको इतिहास

नेपालमा झोलुङ्गे पुलको इतिहास

- Advertisement -spot_img

१८औं शताब्दीसम्म विश्वमा कतै पनि पुल थिएन । इतिहास अनुसार भारतको खोजीमा हिडेका क्रिष्टोफर कोलम्वसले अमेरिका पत्ता लगाएका हुन् । कोलम्वस सन् १४९२ अमेरिका महाद्विपमा पुगेका थिए । कोलम्वसभन्दा पहिले अमेरिकी महाद्विपमा कोहि पुगेको थिएन । उनको समुन्द्रको यात्रा काठको मुडाबाट भएको थियो । १८औं शताब्दीमा पश्चिमी मुलुकहरूमा भएको औद्योगिक क्रान्तिले विश्वलाई यान्त्रीक युगको विकास ल्याउन थाल्यो । त्यसपछि मात्र विश्वमा झोलङ्गे पुल निर्माणको सुरूवात हुन थालेको हो ।

इतिहास पल्टाउने हो भने बाइसे–चौबिसे राजाहरूको पालासम्म नेपालमा झोलुङ्गे पुल थिएन । मानिसहरू नदी र ठूला खोला तर्नको लागि काठका लाप्सो, बासको फडके, डुङ्गा र पश्चिम नेपालतिर लौकाको चिन्नाबाट पनि नदीहरू तर्दथिए । नदी तर्दा जोखिम थियो । कयौँ मानिसहरू दुर्घटनामा परी मृत्यु हुने गर्दथियो । हालसम्म देशभर ९ हजार २ सय झोलुङ्गे पुल निर्माण भइसकेका छन् । मागअनुसार अझै करिब पाँचदेखि छ हजार झोलुङ्गे पुल निर्माण गर्नुपर्ने स्थानीय पूर्वाधार विभागले जनाएको छ ।पहिला झोलुङ्गे पुल नदी तरितराउका लागि मात्र हुन्थ्यो, अहिले नदी तरितराउका साथै आवतजावतमा दूरी घटाउने तथा पर्यटकीय दृष्टिले पनि निर्माणको माग हुँदै आएका छ र निर्माण पनि हुँदै गएका छन् । आजभोलि पुल निर्माणका लागि सरकारले सबै प्रकारको सहयोग गरेको र अहिले लट्ठाबाहेक सबै सामग्री नेपालमै पाइने भएकाले पनि पुल निर्माण गर्न थप सहज भएको छ । १ सय २० मिटरभन्दा लामो झोलुङ्गे पुल संघीय सरकारले र सोभन्दा कम दूरीका झोलुङ्गे पुल प्रदेश र स्थानीय तहले बनाउँदै आएका छन् । तीनवटै तहले पुल निर्माण गरेकाले धेरै संख्यामा पुल निर्माण भएको छ ।

नेपालमा झोलुङ्गे पुल राख्ने अभियान राणा प्रधानमत्री चन्द्रशमसेरले वि.सं.१९६० मा नै गरेका थिए भने देवशम्शेरको शासन कालदेखि झोलुङ्गे पुलको निर्माण गर्न थालिएको थियो । उपत्यकामा मात्र नभई दुर्गम गाउँहरूमा पनि करिब एक सय वर्षअघि नै झोलुङ्गे पुलको निर्माणको थालनी भएको थियो । झोलुङ्गे पुलको लागि आवश्यक फलामे सामग्रीहरूको लागि भने स्कटल्याण्डको उत्तरी सहर एबरडीनसँग नाता गाँसिएको थियो । सुरूका दश वर्ष जति लुइस हार्पर कम्पनीले नेपालमा झोलुङ्गे पुलहरू बनाएका थिए भने पछि जोनएम हेन्डरसन कम्पनीले झोलुङ्गे पुलहरू बनाएका थिए ।

विसं १९६४ मा हेन्डरसन कम्पनीले पहिलो नमुना पुलको रूपमा सुनकोशी नदीमा पुल बनाएको थियो । पछिल्लो समय ५० वर्ष अगाडिसम्म ५० वटा फलामे पुलहरूमा जोन एम हेन्डरसन एण्ड कम्पनी लिमिटेडको नाम राखिएको छ । चोभारको पुल, मस्र्याङदीको तार्कुघाटको पुल, धाडिङको आँखुखोलाको पुल आदिमा उक्त कम्पनीको नाम लेखिएको देखिन्छ ।

आजभन्दा ९३ वर्ष पहिले श्री ३ चन्द्र शमसेरको पालामा वि.स. १९८५ मा रूकुमको चौरजहारी र जाजरकोटको मटेला जोड्ने भेरी नदीमा पहिलो झोलुङे पुल निर्माण भएको हो । भेरी नदीको पुल बृटिसहरूको सहयोगमा स्कटल्याण्डको इञ्जिनियरद्वारा निर्माण भएको हो । सन् १९६० मा डा हेगनको अगुवाईमा नेपालमा झोलुङ्गे पुल निर्माणको थालनी भएपछि क्रमश नेपालमा झोलुङ्गे पुलहरू निर्माण हुँदै आएको छ ।

तर मटेलाको पुल बन्नुभन्दा पहिले वि.सं.१९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरी म्याग्दीको बेनीमा पहिलो झोलुङ्गे पुल निर्माण भएको थियो । आजभन्दा करिब १ सय ३४ वर्ष अघि स्थानीय मजदुरले फलाम पिटेर लठ्ठा बनाई स्थानीय तवरले निर्माण भएको बेनीको मंगलाघाट र हाँडेभिर जोड्ने म्याग्दी खोलाको झोलुङ्गे पुल नेपालको पहिलो पुल मानिन्छ । अहिले यो पुलमा पर्यटकहरू पुग्ने अवलोकन गर्ने, फोटो खिच्ने गर्दछन् । यो ऐतिहासिक पुल बाग्लुङ गलकोटका स्व. लालप्रसाद शेरचनले म्याग्दीको रूम गाउँका मजदुर प्रयोग गरी काँचो फलामलाई पिटेर लठ्ठा र पाता बनाई म्याग्दी नदी वारपार गर्न मिल्ने झोलुङ्ग बनाएका थिए ।

तनहुँको भिमाद र म्याग्दे गाउँपालिका जोड्ने एक सय वर्षअघि निर्मित ऐतिहासिक पुल पनि छ । झोलुङ्गे पुल शुक्लागण्डकी नगरपालिका वडा नं. १० मा रहेको ढोरको फलाम प्रयोग गरी स्थानीय कालिगढबाट बनाइएको थियो । तत्कालीन राजा सुरेन्द्र वीरविक्रम शाहको र प्रधानमन्त्री जंगबहादुर राणाका पालामा यो पुल बनाइएको थियो । तनहुँको सदरमुकाम बन्दीपुर हुँदा भिमादको शान पनि छुट्टै थियो । त्यही पुलहुँदै व्यापारीहरू बटौली पुग्थे, बन्दीपुर हानिन्थे अनि पोखरा र बाग्लुङ सामान त्यही पुल हुँदै लगिन्थ्यो ।

पुलमा राखिएको शिलापत्र अनुसार त्यो पुल बनाउने काँचो फलाम तनहुँकै ढोरफिर्दीको मिनामखानीबाट निकालिएको थियो । मिनामखानीबाट अहिले फलाम निकालिँदैन । काँचो फलामलाई काटेर बलियो साङ्ला स्थानीय कलिगढहरूबाटै भएको थियो । पुलको लठ्ठा पनि फलामकै, साङला पनि फलामै भएको यो पुलमा ठोक्ने काँटी पनि हातबाटै बनेका थिए । फलामबाटै यो साङ्लैसाङ्लाको झोलुङ्गे पुल बनेको थियो पुलको दुवै साइडका लाहरू साङ्ला आकार छन् । पुलको साङ्ला जोडेर जमिनमा गाडेर बलियो बनाइएको छ भने ती । साङ्ला पनि आकर्षक छन् । पुलमा बिच्छ्याइएको काठको फलेक भने अहिले कुहिएका छन् । त्यो पुलबाट मान्छे आवतजावत गर्न छाडेको पनि धेरै नै भयो ।

नेपालमा अहिलेसम्म सबैभन्दा लामो मानिएको कञ्चनपुरको महाकाली नदीको मल्टिस्पान झोलुङ्गे पुल हो । चाँदनी र दोधार गाउँ जाने यो पुल हेर्न पर्यटकको भीड लाग्ने गर्दछ । कञ्चनपुरको पिपरिया र दोधारा चाँदनीको बीच भएर बग्ने महाकाली नदीमा निर्माण गरिएको १ हजार ४ सय ५६ मिटर लम्बाइको झोलुङ्गे पुल एसियाकै दोस्रो लामो पुल मानिन्छ । यो पुल अवलोकन गर्न कञ्चनपुर पुग्ने पर्यटकहरू जाने गर्दछन् ।

पछिल्लो समय पर्वतको पाङ र बाग्लुङ जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माणपछि बाग्लुङ घुमफिर गर्न जाने ग्रामीण पर्यटकहरू पर्वतको पाङलगायत ग्रामीण क्षेत्रमा पुग्ने गरेका छन् । पाङमा ऐतिहासिक गाउँ मात्र होइन ज्योतिषको गाउँ पनि हो । पाङ गाउँ पाँच हजार वर्ष पुरानो भएको पुरातात्विक विभागबाट प्रमाणित भएको छ । पुरातात्विक अध्ययन गर्ने पर्यटकहरू पाङ गाउँ पुग्ने गर्दछन् ।

कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एसियामा लामो मानिए पनि पुलमा १४–१५ वटा टावर राखेर बनाइएको छ । तर खुला प्रकृतिको निर्माण भएको बाग्लुङ–पाङ जोड्ने पहिलो पुल हो । बाग्लुङ–पाङमा बनेको पुल खुला आकाशमा बनेकाले यसको महत्व भिन्न रहेको छ ।

अहिले पर्वत र बाग्लुङ जिल्लाको सीमाको कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल हेर्न र रमाउन पर्यटकहरू पुग्ने गर्दछन् ।
पर्वतमा पाङ, कुश्मा–ज्ञादी, बडागाउँ–कैँया, देविस्थान–कुर्घा र बडागाउँ–मुडीकुवा जोड्ने अग्ला र लामा पुलहरू निर्माण भएका छन् । यी मध्ये पर्वतको कुश्मा बडागाउँदेखि बाग्लुङको बलेवा कैया जोड्ने कालिगण्डकीमाथि बनेको पुल १ सय ६६ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ । कुश्मामा निर्माण भएका अग्ला र लामा पुलहरू हेर्न अहिले ग्रामीण पर्यटक, शैक्षिक भ्रमणका विद्यार्थी एवं बाह्य पर्यटकको घुईचो नै लाग्ने गर्दछ । अग्ला र लामा पुलहरूले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।

पछिल्लो समय कुश्मामा पर्यटकहरूलाई नै लक्षित गरी बन्जीजम्प पुलसमेत निर्माण भएको छ । कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीमा ५ सय ३५ मिटर लम्बाई र २ सय २५ मिटर उचाईको बन्जीजम्प पुलले पर्यटकहरूको आकर्षण बढेको छ । बन्जीजम्प पुल विश्वकै दोस्रो अग्लो पुल मानिन्छ । कुश्मामा पर्यटकहरूलाई आकर्षित गर्ने अर्को हो यान्त्रिक पुल । यो पुल बनेपछि पर्वतको कुश्माबाट पर्यटकहरू बाग्लुङ जिल्लाको भूगोलमा पर्ने बलेवा, नारायणस्थान, अमलचौर, मुलाबारीलगायतका ग्रामीण बस्तीमा पनि पुग्ने गरेका छन् ।
राणाकालमा पनि सरकारी तवरमा सबैभन्दा बढी झोलुङ्गे पुलहरू नै बनाइएको थियो ।

नेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा थापाथलीको बागमती नदीमाथि बनाइएको काठे पुललाई लिने गरिन्छ । १८६८ सालमा बनाइएको थापाथली कुपण्डोलबीचको बाग्मती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो । इट्टामा चुना सुर्कीको जोडाइबाट बाग्मती नदीको बीच–बीचमा पिलर उठाएर बनाइएको काठे पुललाई चन्द्रशमशेरले १ सय १६ वर्षपछि विस्थापित गराई काठको ठाउँमा स्टिलका बिमहरू राखेर पुल–पुल बनाएका थिए ।

स्कटल्याण्डको एबरडीनबाट स्टीलका सामग्रीहरू ल्याएर स्वदेशी इञ्जिनियर कर्णेल कुमार नरसिंह राणाको रेखदेखमा नै बनाउन लगाएका थिए । एबरडीनबाट सामग्रीहरू ल्याएर झोलुङ्गे पुलहरू निर्माण गरिँदै आएकोमा यहाँ भने खोलाको गहिराई कम भएको तथा पुल निकै लामो बनाउनुपर्ने तथा पहिले नै भीमसेन थापाको पालामा बनाइएका पिलरहरू नदीमा रहेको हुँदा झोलुङ्गे पुलको सट्टा पक्की फलामे पुल निर्माण गरिएको थियो । १९८४ सालमा निर्माण गरिएको यस पुललाई चन्द्र ब्रिज भन्ने गरियो । साथै रातो रङ लगाइएको हुँदा रातो पुल पनि भन्ने गरिन्थ्यो ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले देशैभर अति आवश्यक ठाउँमा पक्की आधुनिक झोलुङ्गे पुलहरू निर्माण गर्न थालेका थिए । राणाकालमा आफ्नो क्षेत्रमा आधुनिक पक्की झोलुङ्गे पुल निर्माणको लागि पनि अहिलेको झै माथिल्लो निकायसम्म पहुँच हुनुपर्दथियो । अन्यथा दुर्गम स्थानहरूमा पुलको आवश्यकता रहेको थाहा नै हुँदैनथ्यो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९५४ देखि नेपालमा झोलुङ्गे पुल राख्ने अभियान नै चलाएका थिए ।

झोलुङ्गे पुलको लागि आवश्यक फलामे सामानहरूको लागि नजिकैको भारत होइन । यूरोपको एक छेउमा रहेको स्कटल्याण्डको उत्तरी सहर एबरडीनसँग नाता गाँसिएको थियो । भौगोलिक रूपले भनौ भने ७ हजार किमिभन्दा टाढा थियो । तर त्यहाँदेखि आजभन्दा १ सय १९ वर्ष अगाडि फलामे सामग्रीहरू ल्याएर नेपालमा झोलुङ्गे पुलहरू बनाइएका थिए ।
चन्द्रशम्शेरको समयमा नेपालमा पहिलो झोलुङ्गे पुल बि.सं. १९५७ मा नुवाकोटको त्रिशुली नदीमा बनाएका थिए ।

सबेला झोलुङ्गे पुलका सम्पूर्ण निर्माण सामग्रीको जिम्मा भने स्कटल्याण्डको एबरडीनमा रहेको लुइस हार्पर एण्ड कम्पनीलाई दिइएको थियो । यस कम्पनीले वि.सं. १९६७ सम्म १० वर्षको अवधीमा नेपालमा जम्मा ७ वटा आधुनिक झोलुङ्गे पुलको निर्माण भएको थियो । विभिन्न कारणवश लुइस हार्पर एण्ड कम्पनीले वि.सं. १९६७ पछि झोलुङ्गे पुलको निर्माण सामग्री बनाउन बन्द भयो ।

तर नेपालले भने लुइस एण्ड हार्पर कम्पनी बन्द हुनु केही अगाडि नै स्कटल्याण्डको एबरडीनमा रहेको अर्को कम्पनी जोन एम हेन्डरसनलाई आधुनिक झोलुङ्गे पुल निर्माणको जिम्मा दिएको थियो । यस कम्पनीले भने नेपालमा सय भन्दा बढी झोलुङ्गे पुल बनाएका थिए । जोनएम हेन्डरसन कम्पनी, एबरडीन, स्कटल्याण्डमा रहेको पुल तथा अन्य कामको लागि आवश्यक फलामका लट्ठा तथा केबलहरू तैयार बनाउने कम्पनी थियो ।

जोनएम हेन्डरसनले नेपालमा पहिलो झोलुङ्गे पुल सिन्धुली र रामेछापको बीचमा सुनकोशी नदीमाथि खुर्कोटमा वि.सं. १९६४ बनाएका थिए । यसरी झोलुङ्गे पुल बनाउने जिम्मा पाएको जोनएम हेन्डरसनले जाजरकोटको मटेलामा पनि भेरी नदीमाथि झोलुङ्गे पुल बनाउने जिम्मा पायो । डिजाइनका लागि इञ्जिनियर कुमार नरसिंह राणालाई जिम्मा दिइए पनि पुलको सर्भे गर्न भने बेलायती इञ्जिनियरहरू नै आएका थिए । झोलुङ्गे पुलका लागि आवश्यक सामग्रीहरू स्कटल्याण्डदेखि कलकत्तासम्म पानी जहाजमा ल्याइएको थियो ।

पुलको इतिहास खोज्दै जाँदा ठूला नदीमा डुंगा र साना खोलाहरूमा फड्केको विकल्प खोज्दा बाग्लुङेले तेस्र्याएका बाँसका घाराबाट सुरू भएको हो । लामा बाँसका घारा खोलाको वारपार तेस्र्याएर बीचको भाग तल झुन्डिएपछि त्यसलाई झोलुङ्गे भनियो । दूरी लामो हुँदा हल्लिने बाँस अड्याउनका लागि बाइसे–चौबिसे राजाका पालामा गलकोटे राजा भरत बम मल्लले बाबियोको डोरी बनाएर वारपार टाँग्न लगाएका थिए ।

त्यही डोरीले बाँस धान्यो र स्थानीयलाई आवतजावतमा सहज भयो । त्यही प्रविधि कालान्तरमा झोलुङ्गे पुलमा रूपान्तरित भएको मानिन्छ । भरतबम अघिका राजाले खोलामा पुल बनाएको कहीँकतै भेटिँदैन् । दरमखोलामा बाबियोको डोरी र बाँसका घाराबाट सुरू भएको झोलुङ्गे पुलले अहिले आधुनिक प्रविधिमा जोडिएको छ । अहिले सबैभन्दा बढी झोलुङ्गे पुल बाग्लुङ जिल्लामा बनेको छ । जुन कारणले बाग्लुङलाई झोलुङ्गेको जिल्ला पनि भनिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here