मानवीय पीडाहरू हरेक अवस्था र प्रहरमा आउने गर्दछन् । घर, परिवार, समाजमा भने जस्तो नहुँदा हर कोहि पनि पीडामा हुन्छ । त्यसमा पनि आफू पीडा परेको बेलामा साथ सहयोगविहीन रहदाको पीडाको त आँकलन गर्न पनि नसकिएला । अझ महिलाको प्रश्रव पीडामा सहयोगीसमेत नहुने अवस्था आउना अझ कस्तो होला ? मानवीय सृष्टीका लागि मातृत्व अनिवार्य छ ।
महिलाहरूका लागि मातृत्वको अवसर सौभाग्यसँग जोडिन्छ । त्यो सौभाग्यलाई सबैको साथ र सहयोग रहेमा खुसीको बहार हुन्छ । त्यहि सौभाग्य सहज अवास्थामा नहुँदा तथा सहयोगका लागि आफन्तबाट नभएमा पीडा नै बडी हुने हो । अहिले ग्रामीण विपन्न महिलाहरूले यस्तो पीडा र दुःख कष्ट व्यहोरिरहेका छन् । प्रश्रव पीडामा हुँदासमेत हात समाउने सहारा नहुँदा सार्वजनिक रूपमै देखिने दृष्य दर्दनाक छन् । सामान्य त्रुटीले ज्यान नै खतरामा नपर्ला भन्न सकिदैन । यो अवस्था कहीकतैबाट आउन दिन हुँदैन ।
सरकारले गर्भवती तथा सुत्केरी महिलाहरूका लागि स्वास्थ्य सुरक्षाको अवधारणाअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । स्वास्थ्य संस्थाहरूमा बर्थिङ सेन्टर निर्माणदेखि आधारभूत तथा गुणस्तरीय स्वास्थ्य र सेवामा पहुँच बढाउने गतिविधि भएका छन् । यहि उद्देश्यले सरकारले सुनौलो हजार दिनलाई महत्व दिएर गतिविधिहरू समेत सञ्चालन गरिरहेको अवस्था छ । आमा र बच्चाको स्वास्थ्य सुधार र सुरक्षाका लागि यो कार्यक्रम गाउँ, टोल र गर्भवती तथा सुत्केरी महिलाको घर–घरसम्म पुर्याउनेले लक्ष्य देखिन्छ । तर सबै ठाउँमा यो पुग्न नसक्दा र कार्यान्वनमा प्रभावकारिता कम हुँदा बेलाबखत औचित्यमाथि प्रश्न उठेको हुन्छ ।
सहरी क्षेत्रका मात्र नभई ग्रामीण भेगका, न्यून आयस्तर भएका, पारिवारिक अवस्था कमजोर, आर्थिक रूपमा विपन्न परिवारका गर्भवती तथा सुत्ेकरी आमाहरूका लागि आमा सुरक्षा र सुनौलो हजार दिनका कार्यक्रम अनिवार्य छ । तर धेरैले त्यसको अनुभूति गर्न नपाउनु कार्यान्वयनप्रतिको चुनौती हो । कार्यक्रममा सबै गर्भवती महिला र सुत्केरी आमाको पहुँच भने सहजै पुग्न नसक्नु दुखद् छ । यसका लागि सचेतना र परामर्श बढाउनुपर्ने देखिन्छ ।
आएका कार्यक्रम र नीतिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ । दुरदराजका र पहुँचविहीन महिलाहरूको जीवन रक्षामा ध्यान दिनुपर्छ । कार्यक्रम कार्यान्वयन र सुरक्षाका लागि टोल–टोलमा रहेका महिला स्वयम्सेविकाहरूलाई बढी क्रियाशील बनाउनुपर्छ । जनचेतनासमेत बढाउन प्रेरित गर्नसकेमा गर्भवती महिलाको पहुँच स्वास्थ्य संस्थासम्म सहजै पुग्ने हुन्छ । कार्यक्रमहरूलाई नियमितता दिन सकेमात्र हरेक क्षेत्रका गर्भवती र सुत्केरी आमाहरू स्वास्थ्य सेवाको पहुँचमा पुग्न सक्छन् ।